काठमाडौं जिल्ला अदालतले सामाजिक सञ्जालमार्फत राजनीतिज्ञहरूलाई गालीगलौज गरेको र मानहानी गरेको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेतलाई धरौटीमा छाड्न आदेश दिएको छ।
बिहीबार न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेको हो। बुधबार सरकारी वकिलको कार्यालयले बस्नेतविरुद्ध अनुसन्धान सकेर एक लाख जरिवाना वा ५ वर्षसम्मको कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको थियो।
बस्नेतले टिकटकमार्फत प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकदेखि कांग्रेस महामन्त्री गगन थापासम्मलाई गालीगलौज गर्ने गरेकी थिइन्। उनले सरकारका गतिविधिहरूमा विरोध जनाउँदै अश्लिल भाषासमेत प्रयोग गर्दै भिडियो बनाउने गरेकी थिइन्।
प्रहरीले ‘सामाजिक सञ्जाल टिकटकमा नियमित तथा नियोजितरूपमा जातिय एवम् साम्प्रदायिक भावनामा खलल पुर्याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी तथ्य र आधारहीन विषयलाई उठान गरी, भ्रामक विषयवस्तु प्रसारण गरी व्यक्ति, संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या गरेकाे’ आरोपमा बस्नेतलाई गत असार १ गते उनकै कोठाबाट पक्राउ गरेको थियो।
बस्नेतले रास्वपा सभापति रवि लामिछाने लगायत स्वतन्त्र पार्टी र बालेन साहलगायत नयाँ दल र नेताहरूको समर्थन र पुराना राजनीतिक दल र नेताहरूको विरोधमा भिडियो बनाउँदै पोस्ट गर्ने गरेकी थिइन्।