उपनिर्वाचनमा भाग लिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एउटा सन्देश दिन चाहन्थ्यो– हामी जहाँ टेक्छौँ, त्यहाँबाट जनताले अनुमोदन गरेर पठाइदिन्छन्। हो पनि। ४ मंसिर २०७९ मा अनपेक्षित संसदमा बलियो शक्तिका रुपमा रास्वपा उदायो।
त्यसपछि भएको उपनिर्वाचनमा रास्वपाले धक्काको महसुस गर्नुपरेन। गैरनागरिक सांसद बनेको भन्दै सर्वोच्चले १३ माग २०७९ मा पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदियो।
उनी निर्वाचित चितवन–२ मा १० वैशाख २०८० मा उपनिर्वाचन भयो। जहाँबाट फेरि रवि लामिछानेले पहिलेभन्दा धेरै मत प्राप्त गर्दै विजयी भए। १० वैशाखमा उनी मात्र विजयी भएनन् कि थप एक जनालाई सांसद बनाउँदै संसद छिराउन रवि सफल भए। जसबेला तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट डा. स्वर्णिम वाग्ले विजयी भए।
उनी यस्तो निर्वाचन क्षेत्रबाट विजयी भए, जहाँ काँग्रेसको गढ नै मानिन्थ्यो। तत्कालीन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल (हालका राष्ट्रपति)को निर्वाचन क्षेत्रबाट वाग्लेले रास्वपाको झण्डा फरफराए। जसले रास्वपालाई २० सिटबाट २१ मात्र बनाएन कि थप उत्साहित बनायो। किनकी रास्वपा पहाडमा अनुमोदित भएको थियो। आमनिर्वाचनमा रास्वपाले सहरमा बढी प्रभाव पारेको थियो।
र फेरि १५ वैशाख २०८१ मा भएको उपनिर्वाचनमा पूर्वी नेपाल इलामबाट रास्वपा अनुमोदित हुन चाहन्थ्यो। एक तहका नेताहरु इलाममा रास्वपा उदाउनेमा शंका गर्दैनथे। त्यसैअनुसार नेताहरु परिचालन भए।
उनीहरु भन्ने गर्थे– २० बाट २१ भयौँ। अब २१ बाट २२ हुन्छौँ र आउन २०८४ को आम चुनावमा बहुमतको सरकार बनाउँछौँ। तर इमाल-२ ले रास्वपालाई २१ बाट २२ हुन मात्र दिएन कि पूर्वी नेपालमा उदाउने रास्वपाको आकांक्षामाथि तुसारापात पारिदियो।
अहिले नेताहरु खुलेरसमेत बोल्न सकेका छैनन्। रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले जमानत बचाउन नसकेपछि नेताहरु उपनिर्वाचनको समीक्षा गर्नसमेत सकिरहेका छैनन्।
‘अहिले बोल्ने अवस्था छैन,’ सांसद तथा पार्टीका एक केन्द्रीय सदस्यले भने। ती केन्द्रीय सदस्य मात्र होइन, इलाममा पुगेर भोट मागेका अन्य नेताहरुसमेत उपनिर्वाचनको समीक्षा गर्ने अवस्थामा छैनन्। बिएल नेपाली सेवाको सम्पर्कमा उनीहरु बोल्न चाहेनन्। जसले रास्वपाले इमाल-२ ले निकै धक्का दिएको महसुस गरेको बुझ्न कठिन छैन।
उपनिर्वाचनको अन्तिम मतपरिणाम आएपछि पार्टी सभापति लामिछानेले भने सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘जित्न सकिएन, सिक्न सकियो।’
तर के शिक्षा मिल्यो भन्ने उनले प्रष्ट भनेका छैनन्। उनले आफ्नो नेताहरुलाई पराजय स्वीकार गर्न भने आग्रह गरेका छन्। ‘निर्वाचनमा जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै इफ र बट (यदि र तर)को सहारा नलिइ सहर्ष पराजय स्वीकार गरौँ’, लामिछानेले भनेका छन्।
किन हार बेहोर्यो रास्वपा?
उपनिर्वाचनमा होमिदै गर्दा रास्वपालाई पूर्वी इलाममा कडा प्रतिस्पर्धीको रुपमा हेरिएको थियो। प्रचारप्रसारमा त्यो देखिन्थ्यो पनि। तर मत परिणाम भने जमानत जोगाउन नसक्ने आयो।
रास्वपाका उम्मेदवार मिलन लिम्बु ५ हजार ५० मत ल्याउँदै चौथो भए। जुन जमानत जोगाउने मत होइन। कूल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसके निर्वाचन आयोगले जमानत खोसिदिन्छ।
जमानत जोगाउन नसकेपछि रास्वपाको हारलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ। कतिपय रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएपछि मत अपेक्षित रुपमा नआएको व्याख्या गर्छन्।
कतिपय लिम्बु माओवादी छाडेर रास्वपाबाट उम्मेदवार बनेकाे हुँदा उनले भनेअनुसार मत प्राप्त गर्न नसकेको बताउँछन्। लिम्बुले जमानत जोगाउन नसक्ने गरी मत ल्याउनुलाई राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने पहाडमा अझै नयाँ शक्तिमाथि विश्वास बढ्न नसकेको बताउँछन्।
‘सहकारी प्रकरणमा होस् वा अन्य कुनै घटनाले कम मत ल्याएको भनियो। यो कहीँ हुन सक्छ। तर पूर्ण यो होइन’, उनले भने, ‘जसरी सहरी क्षेत्रमा नयाँ पार्टीलाई जनताले अनुमोदन गर्छन्, त्योअनुसार पहाडि वा ग्रामीण बस्तीमा नयाँलाई विश्वास नगरेको देखिन्छ।’
नयाँलाई किन विश्वास नगरेको भन्नेमा उनी नागरिकको चेतनाको कमी भन्छन्। ‘शिक्षित वर्गले अब पुरानाबाट हुँदैन, नयाँलाई अनुमोदन गर्नुपर्छ भन्ने देखिन्छ’, उनी भन्छन्, ‘तर पहाडि वा ग्रामीण बस्तीमा पुराना पार्टीको संगठन बलियो हुँदा र चेतना स्तरको कमीले पनि यस्तो भएको देखिन्छ।’
रास्वपाभन्दा पहिचान पक्षधर बलियो
इमाल-२ मा रास्वपाभन्दा पहिचान पक्षधर बलियो देखिएको छ। पहिचानको मुद्दा लिएर उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमले रास्वपाबाट उम्मेदवार बनेका लिम्बुले भन्दा बढी मत प्राप्त गरे। जसले पहिचान पक्षधरको मुद्दा बलियो बनेको देखिन्छ।
थेगिम ११ हजार ४ सय ५७ मत प्राप्त गरेर तेस्रो भएका थिए। जुन मत लिम्बुको भन्दा दोब्बर हो। लिम्बुले मात्र ५ हजार ५० मत प्राप्त गरे।
इलाम-२ मा नेकपा एमालेबाट उम्मेदवार बनेर विजयी भएका सुहाङ नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरे भने दोस्रो भएका काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे।