सोच्छु ! गीतामा भनिएको छ– कर्म गर फलको आश नगर। शायद् त्यही भनाइलाई मनन् गरी भन्न थाले होलान् गाउँघरतिर– भोलि कसको हो थाह छैन, आजका लागि बाँच्नू।
गाउँघरतिर धेरैका मुखारबिन्दुबाट सुनिने भनाइ हो यो। बूढापाकाहरू सुनाउँछन्– ‘भोलिको आश र कल्पनाले अल्छि बनाउँछ। यो मनलाई अनावश्यक कुराको जालो बुन्न लगाउँछ। अनि चाहिनेभन्दा बढी महत्वाकांक्षा बढाउँछ। त्यसैले वर्तमानमा आनन्दले बाँच्न सिक।’
बाले धर्ती छोड्नुअघि भनेर जानुभो– स्वाभिमान नगुमाउनू अनि बेइमानी नगर्नू।
बा प्रकृति प्रेमी हुनुहुन्थ्यो। त्यही प्रकृतिले सिकाएको हुनुपर्छ– बालाई स्वाभिमानको पाठ। अचेल प्रकृतिप्रेमी, स्वाभिमानी घुमक्कडहरू देख्दा कतै गाउँका बूढापाकाहरूको भनाइ याद आउँछ भने कतै बाको।
मेरा बासँगै टनकपुरको नूनगुड बोक्ने कैयाैँ बाहरूका पाइला बिलाइसके– धर्तीबाट तर मेरो मनमस्तिष्कमा बेलाबखत आइदिन्छ यादको झल्को। उसो त जिन्दगी भन्नु नै यादको झल्को न हो। जो कतै यादहरू समेट्छ। कसैलाई याद सुम्पिदिन्छ।
त्यही यादभित्र चलिरहेको छ– मानव जीवनको अभिनय। हामी बाँचुञ्जेलसम्म जे–जति गर्छौ्र, सबै अभिनय मात्रै त हो। फरक यति हो– कसले यादगर र अरुको हितकर अभिनय गरेर गए। कसले मात्र दुर्गन्ध फैलाएर गए। घुस्याहाहरूको र चुनावका बेला झूटको खेती गरेर विजयी बन्ने नेताहरूको अभिनय निकृष्ट अभिनय हो।
अमर शाही, भरतविक्रम शाह, कृष्ण ज्ञवाली लगायत केही मित्रहरूले सुन्दर कर्म गरिरहेका छन्। तिनको अभिनय उत्कृष्ट अभिनय हो। समाजको हितप्रद अभिनय हो। थुप्रै छन्– उत्कृष्ट अभिनय गर्ने मित्रहरू पनि।
टनकपुर, ब्रह्मदेव, मालाखेतीबाट नूनगुड बोक्ने ती पाइलाहरू असली पर्यटक थिए। भलै पर्यटन क्षेत्रको ज्ञान थिएन तिनमा। त्यो बेलाको त्यो समाजमा पर्यटन भन्ने शब्द नै नसुनिएको परिवेशमा ज्ञान पो कसरी होस्।
मालऽ (मधेश) जाने बेला तिनले बास बस्ने गरेका धर्मशाला जीर्ण भइसके। जुन आजको पर्यटकका लागि महत्वका विषय हुन्। थुप्रै छन् त्यस्ता महत्व बोकेका पुरातात्विक र ऐतिहासिक सम्पदाहरू। जसप्रति सम्बन्धित निकायले ध्यान दिनसकेको छैन्।
यो विषयमा आगामी दिनमा छुट्टै चर्चा गरिने छ। यतिखेर क्षणभरको झल्को लगाएर बडिमालिका र खप्तड भ्रमणमा हिँडेका यात्रुहरू आइरहेका छन् स्मृतिपटलमा।
भाद्र मसान्तको दिन। दुई जना यात्रुसहित बडीमालिका दर्शका निम्ति कैलालीबाट हिँडेका थिए– सुदूरपश्चिमका चर्चित साइक्लिस्ट भरतविक्रम शाह। डोटी कालागाड बजारमा स्वागतका लागि सडकमा आँखा बिछ्याइरहेका थिए– पर्यटनकर्मी अमरबहादुर शाही।
जब पुग्यो भरतको टीम कालागाडस्थित दाजुभाइ होटलको प्राङ्गणमा, निकै प्रफुल्ल मुद्रामा खादा पहिराएर स्वागत गरे उनले। उक्त टीमलाई स्वागतकै निमित्त दिपायलदेखि कालागाडसम्म पुगेका थिए– पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाही पनि।
कालागाड बजारदेखि एक किलोमिटरको दूरीमा छ– अमर शाहीको आँप–बगैँचा । बुढेशकाल गाउँमै बिताउने योजना बनाएका शाही यतिखेर मुडेगाउँस्थित आँपको बगैंचाभित्र रिसोर्ट बनाउँदै छन्।
सुदूरपश्चिमलाई माया गर्ने र उक्त ठाउँको पर्यटन प्रवद्र्धनमा खटिरहेको एउटा महत्वपूर्ण नाम हो– अमरबहादुर शाही। उनीसँग दुख्ने मन छ। टाढासम्म हेर्ने सोच छ। जो आफ्नै तालमा आफ्नै सुरमा मस्त मौलाना जस्ता देखिन्छन्। न उनलाई बर्खाको मौसमजस्तै परिवर्तन भइरहने कुनै सरकारप्रति आश छ न त धनाढ्य बन्ने मोह नै छ।
सादा जीवन यापन गर्न चाहने शाहीलाई एउटै कुराको चिन्ता छ सुदूरपश्चिमका पर्यटकीय गन्तवय बोकेका ठाउँलाई कसरी चिनाउन सकिन्छ र त्यहाँका मान्छेलाई कसरी पर्यटन व्यावसायमा तान्न सकिन्छ भन्ने।
पछिल्लो समय उनकै बाटो पछ्याइरहेका छन् फकिरजस्ता देखिने चर्चित साइकिलस्ट भरतविक्रम शाह पनि। महिना दिन पुगेको छैन उनले काठमाडौंका साइकिलेलाई लिएर बडीमालिका पुगेको।
जनैपूर्णिमामा ठूलो मेला लाग्छ बडिमालिकामा। त्यही मेला हेरेर फर्केका उनी यतिबेला अमेरिकामा बसोबास गरिरहेका आईटी क्षेत्रका विशेषज्ञ कृष्ण ज्ञवाली र पत्रकारितामा मास्टर्स गरिरहेका अनिल सापकोटालाई साथमा लिएर पुनः निस्केका छन्– बडीमालिका दर्शनका लागि।
भरतको जीवनका अहिलेसम्मका मोडहरू कतै लोभ लाग्दा, कतै अनुकरण गर्न योग्य, कतै ईष्र्या गर्न लायक त कतै आफन्त र शुभचिन्तकलाई चिन्तामा डुबाउने किसिमले देखापरे। संघर्षमय बन्यो उनको जीवन। प्यारालाइसिसले आधि ज्यान नचल्ने हुँदा समेत गुमाएनन् उनले साहस। त्यति बेलैदेखि सकिनसकी पाइडल घुमाउन थाले साइकलको।
नियमित साइकल चलाउने अभ्यास उनका लागि एक प्रकारको थेरापी नै सावित भइदियो। जसले गर्दा उनले प्यारालाइसिसमाथि विजय प्राप्त गरे। परिवारका सदस्यको मुहारमा हर्षका धर्साहरू चल्मलाए।
तिनै भरतविक्रम यतिखेर सुदूरपश्चिमका चर्चित साइकिले र सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका अभियन्ता बनेका छन्। सुन्न, पढ्न र लेख्न बाँकी नै छन्– उनका जिन्दगीका पाटाहरू।
सदा मुस्कुराइरहने ठट्यौलो स्वभावका धनी सहयोगी मनुवा हुन् उनी। जो चाहन्छन् प्रकृतिसँग रमाउन। पछिल्लो समयमा उनी बढीभन्दा बढी भारतीय पर्यटकलाई नेपाल भित्र्याउने योजनामा छन्।
भेटका क्रममा उनले सुनाएका थिए– ‘हिन्दी भाषामा स्क्रिप्ट तयार पारी बडिमालिका, खप्तड, रामारोसनलगायत सुदूरपश्चिमका पौराणिक कथाको घुम्टो ओढेका सुन्दर, मनमोहक तर त्यति चर्चामा आउन नसकेका स्थलहरूको भिडियो बनाई सामाजिक सञ्जालमार्फत ती ठाउँको पवद्र्धन गर्ने सोच छ। मेरा कतिपय भारतीय मित्रहरूको माग पनि हो यो कार्य। उनीहरू यस्ता धार्मिक र पौराणिक महत्व बोकेका तीर्थहरूको बारेमा जान्न चाहिरहेका छन्।’
बडिमालिका दर्शनपछि स्मृतिपटलमा त्यहाँका पाटन र खप्तडका पाटनको दृश्य कैद गर्न निकै उत्सुक बनेका छन् ज्ञवाली पनि। पाँच छ दिनको पैदल यात्रामा रमाउने योजनाले हौस्याएको छ सबैलाई। ज्ञवाली पनि भरतजस्तै मस्तराम घुमक्कड हुन्। उनले अहिलेसम्म २१ वटा देश घुमिसकेको कुरा बताए। ‘मेरो जिन्दगीको ठूलो रहर घुम्नु नै हो। प्रकृतिसँग रमाउनुको मजा बेग्लै छ। वर्षमा एक महिना भ्याकेसन हुन्छ। त्यति बेला झोलाझिम्टी तयार पारेर निस्किहाल्छु यात्रामा,’ उनले मुस्कुराउँदै सुनाएका थिए।
संसारका धेरैभन्दा धेरै देशमा घुम्ने चाहना भएका ज्ञवाली यसपल्ट बडिमालिका र खप्तडका सुन्दर दृश्यलाई आफ्नो क्यामेरामा कैद गरी अँग्रेजी भाषा प्रयोग गरी भिडियो बनाउने योजनामा छन्। उनका अनुसार, अहिलेसम्म बडिमालिका र खप्तडका भिडियोमा नेपाली भाषा नै प्रयोग भएको पाइएको छ। उनले भने, ‘यसपल्ट अँग्रेजीमा स्क्रिप्ट तयार पारी यहाँका सुन्दर मनमोहक दृश्य देखाउने छौँ। जसले गर्दा विदेशी पर्यटकहरूले पनि यो ठाउँको बारेमा जानकारी लिन सकुन्।’
जिन्दगीको असली लय खोज्नु छ भने हेर्न सक्नुपर्छ हिमालका टाकुरा, पहाडका चुचुरा र पाटन अनि तराईका फाँटहरू। त्यतै कतै भेटिन्छन्– सुन्दर ताल तलैया, खोलानाला, झरना आदि।
प्रदेशको राजधानी सारेर महारथी बनेका सम्राटहरू, सधैँभरि मात्र राजनैतिक भाँडभैलो मचाइरहने गोसाईहरूलाई चासो छैन– कुनै खप्तड, बडिमालिका रामारोसन आदिको।
बरु चासो हुन्छ अमर शाही, नरेन्द्र खड्का, हेम जोशी, भरतशाह, दीपक खड्कालगायतका कतिपय मनहरूलाई। पछिल्लो समयमा यो देशका कतिपय गोसाईहरू नग्न देखिएका छन्। विचारमा नग्न, सोचमा नग्न, आचरण र व्यवहारमा नग्न। जो कहिल्यै मर्ने छैन भन्ने सोच पालेर लुटिरहेका छन् देशको ढुकुटी। ठटाइरहेका छन् अहंकारको ढ्याङ्ग्रो। तल्लिन छन् केही चाकडीबाजहरू तिनको चाकडीमा।
उता भरतहरूलाई आइरहन्छ– बडिमालिका, खप्तड आदिको झल्को। माटोको सुवास र सौन्दर्यले नतमस्तक बनाइदिन्छ र त जतिखेर मन लाग्यो निस्किदिन्छन् यात्रामा।
ती मनमौजीहरूलाई न कसैको आश छ न त डर नै। बडीमालिकाको यात्रामा निस्केका ती मनुवाहरूले बाटोमा गाडी रोकेर भेट मात्र गरेनन्। मोहनी लगाएर गए। सम्झना छोडेर गए। मस्तिष्कमा यादको बीउ रोपेर गए।
कालागाडको सडक किनारमा अवस्थित सालमुनिको मन्दिर दर्शन पश्चात गाडीमा चढ्नेताका भरतहरू हार्दिकता पूर्वक विदा माग्दै भनिरहेका थिए– ‘फर्किदा अछामबाट प्लेनमा यात्रा गर्ने सोच छ। भेट नहुन पनि सक्छ।’ पर्यटनकर्मी अमर शाही सफल यात्राको कामना गर्दै हात हल्लाइरहेका थिए। मेरो स्मृतिपटलमा छाइरहेका थिए यी पंक्ति:
मालिका वर्षन लाग्यो बादल पुग्यो घेरा
फिरि भिट हुन्छ कि हुन्न झल्का लैजा मेरा
यो अहिलेको जस्तो यातायातको सुविधा नभएको र दोश्रो पटक भेट हुन वर्षौ कुर्नु पर्ने वा साइत जुराउनु पर्ने समयमा रचिएको गीत हो। यस्ता कतिपय गीतहरूले विगतको सुदूरपश्चिमको अवस्थाको चित्रण गरेका छन्। इतिहास बोकेका छन्। जुन कहिलेकाहीँ यादका पल्लाभित्र टुपुलुक्क देखा पर्छन् र विगतको झल्को लगाएर जान्छन्।