बितिसकेको समयको यादले सताउछ मान्छेलाई।
वर्तमानभन्दा बढी नै प्रिय बनिदिन्छ हरेक मान्छेको विगत। त्यही विगत सपना बनेर आउछ। बेलाबखत सुटुक्क छिरिदिन्छ यादको धर्मशालाभित्र र लगाइरहन्छ झल्को।
विद्यालय-विश्वविद्यालयमा जब जान्छ मान्छे, के पढ्ने कहिलेसम्म पढ्ने सबै प्रकारको तालिका पाइन्छ। औपचारिक शिक्षा आफैमा एउटा रटान हो। मान्छे जब निस्कन्छ यात्रामा, उसले धेरै कुरा सिकेर फर्किन्छ। धेरै कुराको देखाइ-सुनाइ र भोगाइले उसलाई अर्कै बनाइदिन्छ। यात्रा पनि एक प्रकारको शिक्षा हो। तर यसको कुनै पाठ्यक्रम छैन। विद्यालय-विश्वविद्यालयको जस्तो हुँदैन, कुनै तालिका। तर पनि पाइन्छ धेरै कुराको ज्ञान।
यात्राले पैदा गरिरहन्छ-जिज्ञासा। जानुपर्ने ठाउँमा नपुगुन्जेल उसको जिज्ञासा नै अर्कै हुन्छ। त्यस्तै हरेक प्रहरको यात्राको दौरानमा यात्रीको मनमा सुन्दर कल्पनाहरूको जमघट भइ नै रहन्छ। गन्तब्यमा पुगेर फर्किदासमेत सम्झना, अनुभव र अनुभूतिको भारी बोकेकै हुन्छ।
फाेक्सुन्डो काव्य यात्राका यात्रुहरूले पनि मनमा पालेका थिए, अनुकुल र प्रतिकुल मौसमप्रतिको जिज्ञासा। प्राकृतिक रमणीयताको तादातम्य, त्यहाँका रितिथिति, मान्छेको लवाइ-खवाइ र व्यवहारप्रतिको जिज्ञासा।
यस्तै केही सम्झना, केही अनुभव र केही अनुभूतिका पत्रहरू मस्तिष्कमा थुपारेर फोक्सुन्डोबाट फर्किएको पनि दुई वर्ष नाघिसकेछ। लेखक तथा पत्रकार अमृत भादगाँउलेको अवधारणा र संयोजनमा कन्सेप्ट नेपालले आयोजना गरेको यात्रा थियो- फोक्सुन्डो काव्य यात्रा। १४ जना कवि र लेखकहरूको समूह। निकै अविष्मरणीय थियो, त्यो यात्रा।
फोक्सुन्डो खोला किनारको यात्रा गर्दा सम्झनामा आइदिन्थ्यो, मेघदूत। कालिदासरचित मेघदूतमा उल्लेख गरिएको रामगिरि पहाडजस्ता देखिन्थे पहाडहरू। पहाडको टुप्पोमा उस्तै घुमिरहेको देखिन्थ्यो बादल।
काव्यमा बादललाई अधिकांश कविहरूले अवरोधका रुपमा उल्लेख गरे तर कालिदासले त्यही बादललाई संन्देशवाहकका रुपमा चुने। त्यही सन्देशवाहक बादल घुमिरहन्थ्यो डोल्पाका डाँडाहरूमा। लाग्थ्यो शायद खवर पुर्याउँदैछ त्यसले फोक्सुन्डो ताललाई, कुनै यक्षजस्ता रसिक मनहरू भावुक पाइलाहरू आउँदैछन् तिम्रो सौन्दर्यको वर्णन गर्न, रसपान गर्न भनेर। रिग्मो गाउँलाई भनिरहेछ होला लामो यात्रा पार गरेर थकित भएका केही थान प्रेमी आँखाहरू आउँदैछन् बास माग्नलाई।
प्राकृतिक हिसाबले विशिष्ट छ डोल्पाको सौन्दर्यता। ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक हरेक किसिमले विराट छ कर्णाली प्रदेश। शायद प्रकृतिको यस्तै विराटता देखेर, त्यस्तै सौन्दर्य अनुभूत गरेर लेखे होलान् कालिदाशले मेघदूत जस्तो अद्भूत काव्य।
वर्षा ऋतु आगमनको समय, गाउँको याद, कसैको पर्खाइमा बसेजस्ता पहाडहरू, खोला नाला र वनजङ्गलको त्यतिखेरको अवस्था कल्पिदा पनि अश्रुपूर्ण हुन्छन् टाढा रहेका रसिकहरू।
नेपालका प्राय सबै जिल्ला घुमिसकेका भादगाउँलेले तय गरेका यस्ता यात्राहरूमा उनी कति पटक अश्रुपूर्ण बने। कुन-कुन ठाउँमा यात्रारत रहँदा सम्झे पुराना दिनहरू र आफ्नी बाल्यसखालाई, सोध्न बाँकी नै छ। मैले सोध्नेबित्तिकै सही कुरा बताउनेछन् भन्ने ठोकुवा नै गर्ने आधार पनि त मसँग केही छैन्।
उनीसँग केही ठाउँकोे भ्रमण गर्ने मौका पाउदा मलाई भने कैयौंपटक अश्रुपूर्ण बनाएको छ विगतको सम्झनाले। गाउँको यादले। आषाढमा हलगोरु जोतिएका खेत र रोपाइँका दृश्यले।
डोल्पाको जुफाल छेउछाउ पाखोतिर हलगोरु जोतेको दृश्य देख्न पाए पनि देखिएन कतै रोपाई गरेको। फापर, आलु, सिमि, स्याउ, ओखरको लागि प्रसिद्ध मानिन्छ डोल्पा। उसो त यी कुराहरू कर्णाली प्रदेशकै पहिचान हुन्। यहाँका डाँडाकाडातिर हिउँदमा हिउँ फल्छ। हिउँ फुल्छ। यार्सा टिप्न जादा बाटामा र एक महिनासम्म हिमालको फेदीमा बस्दा फल्छन्-फुल्छन् कैयौं वैशालु मनहरू।
काठमाडौंबाट नेपालगन्ज पुगेका काव्य यात्रीहरू 'प्लेन' नपाएर घुम्छन् दुई दिन नेपालगन्जमै। अन्तिममा बसको यात्रा तय हुन्छ। सुर्खेत, सल्यान, जाजरकोट, पश्चिम रुकुमका केही ठाउँ छुदै डोल्पाको रुपगाड पुगेर टुङ्गिन्छ बसको यात्रा।
रुपगाड पुगुन्जेलसम्मको यात्रा अहिलेसम्मकै यादगार यात्रा बनिदिन्छ मेरालागि। जिपमा सबैजना नअटाउदा पत्रकार चन्द्र काफ्ले र मेरा पैतला बिस्तारै उक्लेका हुन् जिपको छतमा। सबैका झोलाले भरिभराउ थियो छत। तिनै झोलामाथि बसेर झोला बाँधेको नाइलनको रसी अठ्याउँदै घरि कुनातिर-घरि छेउतिर झुकिरहन्थ्यो जीउ।
निस्पट्ट आँध्यारो रातमा भेरीको किनार हुँदै हुइकिरहेको जिप। झ्यालबाट टाउको बाहिर निकाल्दै ड्राइभरले बेलाबखत दिइरहन्थे आदेश- ‘तपाईहरू राम्ररी बस्नु होला है, लड्नु होला नि !’
छतमाथि अँध्यारोमा चलिरहेकै थियो हामीबीच गफगाफ। कतै खाल्डोमा चक्का पर्दा झस्किरहन्थ्यो मन। आकाशमा टल्केका देखिन्थे दुईचार वटा तारा। अँधेरी रातमा कसैले अपहरण गरेर कतै अपरिचित स्थानतिर लगिरहेजस्तो। दुस्मनमाथि आक्रमण गर्न कतै अज्ञातस्थलतिर हिँडेको फौज जस्तो। अभिव्यक्तिविहीन भएर एक्लै-एक्लै मसानघाटतिर भौतारिएको ज्यानजस्तो, कस्तो-कस्तो लाग्थ्यो त्यो यात्रा।
जिप दुई घन्दाजति गुडेपछि तल्लु बगरस्थित कमल थापाको होटलको प्राङ्गणमा बिस्तारै ओर्लिन्छन् पैतला। छेवैमा सुसाइरहेकी भेरी नदी। थकित ज्यान खाना खाने बित्तिकै नशा लागेजस्तो लठ्ठिन पुग्छ बिस्तारामा।
भोलिपल्ट विप्लव समूहको बन्दको हल्ला थियो। बिहान चार बजे नै उठेर तयारी भयो पुनः यात्राको। जसोतसो कटियो बन्द प्रभावित क्षेत्र। पाँच ठाउँमा झोलुङ्गे पुल पार गर्दै पारिपट्टी जिप समात्दै गर्नुपर्ने यात्रा। भेरीको किनारमा चट्टान खोस्रेर बनाइएको बाटो। ठाउँ-ठाउँमा स-साना बजार। बजारमा देखिन्थे पेट्रोल र डिजेल भरिएका ठुल्ठूला ग्यालेन।
त्रिपुरासुन्दरी माताको मन्दिरबाट चारैतिर हेर्दाको रमणीय दृश्यले लोभ्याइरहेकै हुन्थ्यो। सुलिगाढ पुगिसकेपछि जब सुरु हुन्छ फोक्सुन्डो किनाराको यात्रा, तब देखिन्छ प्रभातकालीन भ्रमणमा निस्केको यात्री जस्तो बादल। सुसाइरहन्थ्यो फोक्सुन्डो खोलो। खोला किनारमा आइपुग्छन् छालका तरङ्गहरू।
जसै सिमसिम पानी बर्सिन थाल्छ, लाग्छ कतैबाट सुनिए पनि हुन्थ्यो बाँसुरीको कुनै लामाे धुन। ठाडीभाकाको आलाप।
डोटीमा गाइबाख्रा चराएको याद आइरहेको थियो मलाई त्यतिबेला। सिमसिम पानीमा भिज्दाको आनन्द, मुना(स्यापु), बर्सादी ओढेर जङ्गलमा हिँड्दाका ती पलहरू छाइरहेकै थिए मनमा नोस्टाल्जिक बनेर। लाग्थ्यो, यतैकतै खर्क बनाएर गाई बाख्रा पालेर हराइ दिन पाए नि हुन्थ्यो। यी त सब भावनाका कुरा न हुन्। कहाँ हुन्छ र सोचेजस्तो जिन्दगी।
क्यामेराको लेन्स घुमाइरहन्थे साथीहरू। बाटोमा घन्टी बजाउँदै लस्करै आइरहेका हुन्थे खच्चडहरू। स-साना काठे पुल पार गर्दासमेत घोडाबाट उत्रिदैन थिए घोडचढीहरू। त्यो दृश्य देख्दा हामी हेर्नेलाई डर लागिरहेको हुन्थ्यो।
उनीहरूकाे भन्दा कम थिएन मित्र गनेश पौडेलको साहस। खुट्टाको लिगामेन्टको समस्यालाई वास्तै नगरी दुबै हातमा लौरा टेकेर सजिलै फोक्सुण्डो तालको पानी स्पर्श गर्न सक्षम भए उनी।
दुई दिन एक बिहान हिँडेपछि देखिएको थियो फोक्सुन्डो झरना। केहीमाथि उक्लेपछि टाढैबाट लोभ्याउन थाल्छ मनमोहक ताल फोक्सुन्डोले। ताल किनारमा औपचारिक कार्यक्रम गरेर चार जना भुइँमान्छेहरूलाई जनही दश हजार रुपयाँसहित सम्मान पत्र प्रदान गर्दा स्वागतका लागि झुल्केका हुन् कि जस्तो लाग्थ्यो सूर्यका किरण। सम्मानित होइसेर डोल्मा बैजी, नाम्दाक लामा, निमा लातार बैजी र सेन्दुक आइक्याल रोकायाका मुहार काञ्जिरोवा जस्तै चम्किला देखिन्थे। जस्तो कि केही समयका लागि काञ्रिरिवासँग मुस्कान सापटी मागे हुन् उनीहरूले।
कन्सेप्ट नेपालले पछिल्ला दिनमा प्रतिभावान भुइँमान्छेहरूलाई सम्मान दिन थालेको छ। कन्सेप्ट नेपालमा यस्ताखाले कन्सेप्ट निकाल्छन् उनै भाद्गाउँलेले, जो डोल्पाका डाँडामा घुमिरहने बादलभित्र एकप्रकारको आकृति खोजिरहेका थिए। लाग्थ्यो कतै आफ्ना बाल्यसखाहरूका कुनै प्रेमिकाहरूका अनुहारका आकृति त खोजिरहेका छैनन्।
उनी बादलका, हिमालका अनि तालका तिनै दृश्यहरूलाई कैद गरिरहेका हुन्थे आफ्नो क्यामेरामा। यात्रामा आफ्नै मस्तिमा मौनता साचिराख्छन् भाद्गाउँले। साँझपख बासबस्ने ठाउँमा बल्ल मुस्कुराउछन् ठट्यौलो पारामा।
कवि र लेखकहरू तालकाे छेउतिर देखिन्थे आफ्नै मस्तिमा। हात-हातमा क्यामेरा र मोबाइल सोझ्याएर कैद गरिरहेका थिए विभिन्न दृश्यहरू। समय-समयमा रंग बद्लिरहने फोक्सुन्डो तालले झल्को लगाइरहन्थ्यो।
फोक्सुन्डोसँग आँखा जुधाएर फर्केको पनि दुई वर्ष बितिसक्यो। छोडेको छैन अझै पनि त्यसले सम्झना र सपनीमा झल्को लगाउन।
लेखकका अन्य लेखहरु :