अग्लो डाँडो उदरीजाउ (भत्किजाओस्) मेरो साइ देखिजाऊ
कोल (काखमा) बसी दिन बिताउनु कर्ममा लेखिजाऊ
दुई वर्षका छोरा शितल नेपालीलाई लिएर आधारभूत स्वास्थ्य सेवा केन्द्र, साउनकाँडा (डोटी) को प्राङ्गणमा पालो कुरिरहेकी थिइन्– २७ वर्षीया पद्मा नेपाली। तीन दिनसम्म खोकी निको नभएपछि घरमा तीन बच्चालाई सासूको जिम्मा छोडेर उनी छोरालाई जचाउन आएकी थिइन्।
‘तपाईंका श्रीमान् कहाँ छन् ?’, मेरो प्रश्न सुन्ने बित्तिकै उनले उत्तर दिइन्, ‘देश गयाका छन्।’ उनले भनेको ‘देश’ भन्नुको अर्थ भारत हुन्थ्यो।
करिब एक घण्टा जति उक्त स्वास्थ्य केन्द्रमा बस्दा पाँच जना बिमारीसँग भेट भयो। ती सबै जना महिला थिए। सबैका श्रीमान देश गएका थिए।
सुदूरपश्चिमका अधकांश पुरुषहरू भारतमा दरवानी (चौकीदारी) गर्न जाने चलन पुरानै हो तर कतिपय ठाउँमा यो संख्या बढ्दै गइरहेको छ। यसरी ‘देश जाने’ को संख्या बढिरहेको गाउँपालिकामध्ये पर्दछन्– डोटीको आदर्श र साइल गाउँपालिका। यहाँका अघिकांश गाउँवस्तीका पुरुषहरूको भारत जाने दर बढिरहेको छ।
गणतन्त्र आएको मुलुक, संघीयता लागू भएको मुलुकको दुर्दशा देख्न सकिन्छ– विकटका गाउँतिर पुगेपछि। गाउँका महिलाका दुःखका डाँडा भत्किन सकेका छैनन्। अभावका पल्डाहरू उस्तै छन्। महङ्गीको सम्राज्य अग्लिएकै छ। गाउँघरतिर यो आलेखको सुरुवातमा राखिएका पंक्तिको जस्तै भाव व्यक्त गर्ने विरहपूर्ण गीत गुन्गुनाइरहेका छन्– यहाँका नारीहरु।
सत्तामा आसीन सम्राटहरू आफ्नै धुनमा मस्त छन्। कुन तन्त्रले छुन सक्थ्यो र– गरीब जनताको मन। के हो लोकतन्त्र ? केहो गणतन्त्र ? थाहा छैन निमुखा गरीबहरूलाई।
एक साताअघि आदर्श गाउँपालिकाका केही ठाउँ भ्रमण गर्ने क्रममा बिमारीलाई घोडामा चढाएर अस्पताल लग्दैगरेका दृश्य देखेर कटक्क मन खान्थ्यो।
बाटोमा औँला चुस्दै टोलाइरहेका बालबालिकाले सम्झाइदिन्थे– आफ्नै बाल्यकाल। सिर्सिरे बतासले हल्लिरहेका कोदाका कपनी, झुल्ने तर्खरमा रहेका धानका बाला, काँक्रा, फर्सी, घिरौँलाका झालहरू र हरियाली छाएका खेतपाखाहरू सपनीमा समेत आइपुग्छन् मनको आँगनमा।
केही वृद्धहरू– जो ‘एकदामले’ हुन्, भेटिन्थे एकातिर। डोटेली भाषामा ‘एकदामले’ को अर्थ हुन्छ– एउटै समयका अर्थात् सँगसँगैका, एउटै छिमलका दौँतरी। एकातिर विगत सम्झेर ‘नोस्टाल्जिक’ बनिदिन्थे तिनका मन।
अर्कोतिर विगतमा आफूले भोगेको दुःख र अहिलेको मोटरगाडीको सुविधाका कुरा गर्दा भनिदिन्थे– ‘मन त अझै धेरै दिन बाँच्ने छ। बूढो भइयो। खै, अब कति दिन बाँचिएला र !’
एक पिँढी बाँच्ने आश गरिरहन्छ। भोलिका दिनमा अझै के–के देख्न पाइने होला भन्ने प्रश्न मनमा खेलाइरहन्छ। अर्को पिँढी भारतमा दरवानी गर्न हिँडेकै छ। गाउँघरतिर पढ्न छोडेर बीचमै भागेर बिहे गर्ने छोरीबेटीहरूको संख्या बढेकै छ।
एनजिओ/आईएनजीओहरूले वालविवाह गर्नुहुँदैन भनेर ‘प्लेकार्ड’ बोकेकै छन्। गोष्ठी चलाएकै छन्। उसो त सबै कुरा यहाँ चलेकै छ तर पनि बेजोग छ गाउँघरतिर। हुनेखानेहरू थातथलो छोडेर तराई, विदेश र नैपालतिर गइसके।
हुँदा खानेहरूको पहुँच पुग्दैन कुनै निकायसँग। तुलसी ओझाका १४ वर्षीय छोराको उपचारकै क्रममा मृत्यु भएको वर्ष दिन भयो। पाँच जना दाजुभाइ भएको घरमा पुरुषको नाममा साना बालक मात्रै छन्, सबै जना भारततिर। ओझाको घरमा दुई छाक खानलाई छैन।
उनले भने– कोरोनाका कारण उता पनि कमाइ केही छैन। छोराको उपचारका क्रममा १५ लाख ऋण लागेको छ। भीरबाट खसिरहेका ढुङ्गाझैं उनका गालामा खसिरहेका आँसुका थोपा हेरिदिने कोही छैन। उनको घरबाट पैदल पाँच मिनेटको दूरीमा छ– गाउँपालिकाको कार्यालय।
सबैका घरमा बिजुली बत्तीको प्रकाश छाउँछ। उनकै घरमा छैन बिजुली पनि। ‘धेरै पटक भनिसकेँ गाउँपालिकामा पनि। एउटा पोल भए पुग्थ्यो। हामी आइमाई मान्छेले भनेको सुनिदिने को छन् रे ! पहुँचवालाले सेवासुविधा पाएकै छन्’, आँशु पुछ्दै दुखेसो पोखिन् उनले।
साउनकाँडाका ७० वर्षीय गगन साउदले डोट्याली स्वरमा भने,‘आफ्नै पेट भर्न थाले नेताहरू। बाटो बनाएनन्। विकास गरेनन्। समय–समयमा आए नयाँ–नयाँ अनुहार। भोट माग्ने बेला सबै गर्छु भन्दा छन्। तैपछि फर्केर कोइ आउनाइनन्।’
गाउँमा एकजना भारत नगएको घरै छैन। २० वर्ष नाघेका केटीहरू प्रायः भेटिँदैनन् गाउँघरतिर। हिँडिसकेका हुन्छन् आफैँ केटा खोजेर। अचेल गाउँ गाउँजस्ता छैनन्।
‘सीड नेपाल’ मा कार्यरत वसन्ती भट्ट डोटी क्याम्पसमा स्नातक तहमा पढ्दै छिन्। उनलाई जागिरले सजिलो तुल्लाएको छ। त्यसैले अहिलेसम्म विवाहलाई प्राथमिकतामा राखेकी छैनन्। नातागोता इष्टमित्र लगायत छरछिमेक घरपरिवारबाट बिहे गर्न दबाब आइरहेकै छ। भाइ स्नातक तह पढिरहेको छ। उनले घरको समस्या सुनाइन्, ‘आमाले भाइलाई यता जागिर पाइने हैन, भारत गएर कमाउन थालिहाल्, अब भारत जाने उमेर पनि त भैसक्यो भनेर सुनाइरहन्छिन्।’
वसन्तीकी आमा त एउटा प्रतिनिधि पात्र मात्रै हुन्। गाउँघरतिर हरेक आमाहरू छोरो १४–१५ वर्षको हुनासाथ भारत गएर दुई–चार पैसा कमाउन थाले हुन्थ्यो भन्ठान्छन्। आधारभूत स्वास्थ्य सेवा केन्द्र साउनकाँडाका प्रमुख वीरबहादुर साउदका अनुसार, आदर्श र सायल गाउँपालिकाका झण्डै ९६ प्रतिशत पुरुष भारतमा दरवानी गर्न जान्छन्।
थुप्रै गाउँबस्ती पुरुषबिहीन बनेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘अब कसैले भारतमा चौकीदारी गर्न जानुपर्दैन’ भनेर घोषणै गरे। मात्र भाषणमै सीमित भए सबै कुरा। स्थानीय सरकारले बेरोजगारी कम गर्ने सामान्य योजनासमेत बनाउन सकेको छैन।
उता जिल्ला सदरमुकाममा काँग्रेसको १४ औं अधिवेशनको रौनक छाएको छ। नेताज्यूहरूको भीडभाडले सदरमुकाममा चहलपहल बढेको छ। बाहिर बाहिर बीपी र किसुनजीको नाम उच्चारण गर्नेहरूको कमी छैन। आफू धुरन्धर राजनीतिज्ञ हुँ भन्ने भ्रम सिर्जना गरिरहेका केही टपरटुय्याहरूको फूर्तिफार्ति हेरिनसक्नु छ।
लाग्छ भित्रभित्रै कमाउधन्दामा लागेका, त्याग र निष्ठाको राजनीति नजान्ने, सधैँ खुराफात मात्रै गरिरहने, व्यक्तिगत स्वार्थमा रुमल्लिएका जन्तुहरूले बीपी र किसुनजीजस्ता महान आत्माको नामोच्चारण गर्नुसमेत एक प्रकारको अपराध हो।
गाउँका सोझासाझा जनतालाई सपना बाँडेर, प्रलोभन देखाएर चुनाव जित्नु र दोश्रो चुनाव नआउञ्जेल नाकमुख नदेखाउनु एक प्रकारको डकैती हो। पछिल्लो समय हाम्रा केही ‘नेता’ हरू राजनीति कम डकैती बढी गरिरहेका छन्।
चाहे ती काँग्रेस हुन् या कम्युनिष्ट, शक्ति र पैसाको आडमा एकाएक उदाउन खोज्नेहरू समाजका लागि अपराधी नै हुन्। चुनाव सिद्धिनेबित्तिकै तल्लिन हुन्छन् ती आफ्नो लगानी असुल्नतिर। त्यसपछि चिन्दैनन् तिनले जनतालाई।
यतिखेर हरेक जिल्लामा जात्रा चलिरहेको छ। कतै महाधिवेशनको जात्रा। कतै पार्टीमा सनाखत गर्नेको होड्बाजी त कतै यही मौका छोपेर सदस्यता वितरण गर्ने उद्योग चलिरहेकै छ। दुई पैसाको आडमा धरातल बिर्सिनेहरूको जात्रा त सधैँ चलेकै हुन्छ यहाँ।
दुर्भाग्य ! गाउँघरतिरका सोझासाझा कार्यकर्ताहरू गुटगत, पार्टीगत विवादमा तानिन्छन् र कुटाकुट गरिरहन्छन्। एकातिर चाकरीबाजको दुनियाँ छ। अर्कोतिर पर्तिवाजहरू छन्। कार्तिक मंसिरतिर उवेलका (बाली भित्र्याएर बाँझो रहेको जमीन) गोरु जुँधाएर रमिता हेर्नेको पनि कमी छैन यो देशमा।
गाउँघरतिर उहिले–उहिले सेतोछाला भएको कुनै विदेशी आउँदा कुइरे आयो भनेर हेर्न आउँथे। निकै जिज्ञासाका साथ हेर्थे। उसलाई पढेलेखेको ठूलो मान्छे ठान्थे। के–के न विकास गर्न आयो ठान्थे। अचेल गाउँलेहरू कुइरे देख्दा कुइरे आउदा सामान्य ढंगले हेरेजस्तो गर्छन्। त्यति वास्ता राख्दैनन्। छैन तिनीहरूसँग कुनै जिज्ञाशा। कुनै आश।
प्रजातन्त्रपछाडि त्यसैगरी केन्द्रबाट गाउँमा पुग्ने हरेक पार्टीका नेतालाई जिज्ञाशापूर्वक ठूलै आश गरेर हेरेका हुन् तिनले। अचेल नेता आउँदा त्यसै गरी टाढैबाट एक दृष्टि पु-याउँछन् र भन्छन् फलानो आएको रैछ। छैन जनतामा नेताप्रतिको आशा र विश्वास। यस्तै हुने हो भने कुनै दिन भरियाको साथमा उकालो उक्लिरहेको कुइरेझैँ दुई–चार जना आसेपासे चाकडीबाज कार्यकर्ता लिएर जात्रा हेर्न हिँडिरहेको लाहुरेझैँ हाम्रा नेताज्यूहरू पनि नदेखिएलान् भन्न सकिँदैन।