ऐतिहासिक र पुरातात्विक सम्पदाको आँगन:  शिखर नगरपालिका 

Breaknlinks
Breaknlinks

माथि तेलेको लेक तल बेसी। लेकमा बाँसुरी र भैंसी घाडोको रौनक। बेसीमा सेतीका उर्लिरहेका छालसँगैको सुसाहट। सेती किनारका लोभलाग्दा फाँटहरू। लेकको मनमोहक प्रकृतिक सौन्दर्य। 

पुर्खाका पालादेखि गाउँ समाजमा चल्दै आएको संस्कृति, संस्कारलाई आत्मसाथ गरिरहेको गाउँले जनजीवन। यिनै विविध पक्षले सुन्दर र मनमोहक मानिएको नगरपालिका हो– शिखर। जुन नेपालको सुदूरपश्चिम प्रदेशस्थित डोटी जिल्ला अन्तर्गत पर्दछ। 

चुर र नीरको कथा बोकेको नगरपालिका हो– शिखर। नीर भनेको पानीको भाग अर्थात् सेती नदी। चुर भनेको शिखर अर्थात् तेलेको लेक। चुरका अधिपति मानिन्छन् काफली देवता र नीरका अधिपति हुन् भागेश्वर। यस कथनबाट सजिलै भन्न सकिन्छ शिखर नगरपालिका अध्यात्मिक भूमि हो।

मन्दिरै मन्दिरको क्षेत्र पनि हो शिखर नगरपालिका। हरेक वडामा ठुल्ठूला शक्ति पिठहरु हुनु शिखर नगरपालिकाको फरक विशेषता हो। यस नगरपालिकाको पूर्वमा दिपायल सिलगढी नगरपालिका, पश्चिममा डडेल्धुरा जिल्ला, उत्तरमा आदर्श गाउँपालिका र दक्षिणमा के.आई.सिंह गाउँपालिका रहेकाे छ।

यो नगरपालिकाको क्षेत्रफल २८५.३९ वर्ग किलोमिटर छ। राष्ट्रिय जनगणना–२०६८ अनुसार यस नगरपालिकाको जनसंख्या ३१८०१ रहेको छ। यहाँ क्षेत्री, बाहुन, ठकुरी, सन्यासी, जनजाती र दलित समुदायको बसोबास छ। सेती किनारको समतल भूभागसँगै सेतीका सुन्दर छाल र वरिपरिका डाँडाकाँडा वनजङ्गल, खोलानाला आदि मनोरमयुक्त भू–बनोट भएको यो गाउँपालिकाभित्र पर्यटकीय सम्भावना भएका क्षेत्रहरुमा पर्दछन्– गुफा, देवल, लेकका ताल, नापानी क्षेत्रदेखि, काफली शिखर, केदारधाम, भागेश्वर सालमुनी क्षेत्र, पशुपति क्षेत्र, गहनानलगायत विभिन्न तीर्थहरु छन् यहाँ। पर्यटकीय संभावना भएका थुप्रै सम्पदाहरुको सुन्दर रमणीय आँगन हो शिखर नगरपालिका। 

सांस्कृतिक हिसाबले पनि शिखर नगरपालिका समृद्ध छ जहाँ डेउडा, पुतला, होरी, भूवा, चाँचरीलगायत परम्परागत नाचगानको सुवास पाइन्छ। 
सर–सहयोग, भाइचारा र आत्मीयपन भएका वासिन्दाहरु पहाडको सरल जीवन यापन गरिरहेका छन्। विशुद्ध ग्रामीण जीवनशैली पाइन्छ। गाउँलेको मुख्य पेसा भन्नु नै कृषि, पशुपालन र वैदेशिक रोजगार हो। 

गाउँघरतिर खेतीपाती गरेको, हस्तकला बुनेको, गरगहना, भाँडाकुडा बनाएको, पशुपालन गरेका दृश्य देख्न सकिन्छ। विभिन्न चाडपर्वदेखि सोमबारे औँसी, संक्रान्ति, पूर्णिमामा आस्तिक पाइलाहरु मन्दिरतिर बढिरहेका देखिन्छन्। 

हिजोको र अहिलेको पुस्ताबीच जीवनशैली र सामाजिक संरचनामा देखापरेको भिन्नताका साथै बिकास निर्माणका कामहरु, गाउँलेको दैनिकी र जैविक विविधता आदिको समेत अध्ययन गर्न सकिन्छ। 

आम्दानीको आधार नै वैदेशिक रोजगारी भएकोमा पछिल्लो समय यहाँका बासिन्दा व्यवसायिक तरकारी खेती बाख्रा तथा कुखुरापालनतिर लागिपरेका देखिन्छन्। सेवा नै धर्म हो भन्ने भावका साथ पाहुनाको सत्कार गर्छन्। 

डोट्याली संस्कृतिको इतिहास निकै पुरानो छ। पुर्खाका पालादेखि चल्दै आएको त्यही स्मृद्ध संस्कृतिको आँगनमा रमाइरहेका छन् यहाँका वासिन्दा। डोट्याली भाषाका आरोह अवरोहहरू मिलाएकै हुन्छन् कुराकानीका क्रममा। 

आफ्नै भेषभुषा र चालचलन भएको छुट्टै जीवनशैली छ। जतिसुकै अभावमा दिन बिताउनु पर्दा पनि चाडपर्वहरूमा निकोनौलो खाने कुराको जोहो गरेकै हुन्छन्। मनका पीडा लुकाएर धुमधामका साथ मनाउँछन् चाडपर्व। विसूँ, गङ्गा दसहरा, रोपाई, ओल्के, बूढीपोलाई, गौरा, कृष्ण जन्माष्टमी, दसैं, तिहार, भूवा, माघे संक्रान्ति, होली आदि यहाँका प्रमुख चाडपर्व हुन्। 

शिखर नगरपालिका अन्तर्गतका वडाहरुमा थुप्रै छन् ऐतिहासिक र पुरातात्विक सम्पदाहरु। अध्ययन अनुसन्धानकर्ताका लागि यो भर्जिन क्षेत्र हो। नेपालको शैक्षिक इतिहासमा दर्ज हुनुपर्ने शिक्षा क्षेत्रको एउटा सुन्दर गोरेटो हो दानकोट रामाश्रम क्षेत्र। जहाँ डा. लक्ष्मीकान्त पन्तको अगुवाइमा २०१४ सालदेखि नै शैक्षिक आँगनको निर्माण भएको देखिन्छ। 

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी, पूर्वमन्त्री सिद्धराज ओझा, पूर्व एम.पी नवराज जोशी, पूर्वराज्यमन्त्री भक्तबहादुर बलायर (जो २०२८ सालमा विद्यालय सञ्चालक समितिको सचिवसमेत बनेका थिए) पूर्वमन्त्री लेखराज भट्ट, पूर्वमन्त्री बीर बहादुर बलायरलगायत नेपाल सरकारको उच्च ओहदामा पुग्न सफल अन्य कतिपय व्यक्तिहरुको शैक्षिक गोरेटो पनि हो त्यो क्षेत्र।   शिखर नगरपालिका ९ अन्तर्गतको यो क्षेत्र अध्ययन अनुसन्धानमा चासो राख्नेहरूका लागि खोजिको विषय बन्न सक्छ।

समुदायमा हिजोका दिनमा कतै डर त कतै संकोचले धेरै कुराहरु लुकाएरै राखिए। त्यस्ता ती गोप्य राखिएका चिजहरुमा ढोली विद्या, लुहार विद्या गन्धर्व विद्या आदि पनि पर्दछन्। शिखर नगरपालिकास्थित तिल्ताली बस्ने ७७ वर्षीया बट्टो कामीको घरमा उनका पितापुर्खाका पालाको लुहार विद्याको कपि अझैं देख्न सकिन्छ।

वि.स. १४२० मा डोटीका तत्कालिन राजा निरयपालकी रानी निखिला देवीले वनाउन लगाएका भनिएका देवलहरु प्रदेशकै कलात्मक देवल मानिन्छन्। जुन यस नगरपालिका वडा नं.७ अन्तर्गत पर्ने उजेलीगाउँमा रहेका छन्। आजभन्दा ५० वर्ष अगाडी अध्ययनको सिलसिलामा त्यहाँ पुगेका संस्कृतिविद् देवकान्त पन्तले देवलको बारेमा लेखिएको ताम्रपत्रका अक्षर कागजमा उतारेको प्रमाण समेत भेटिएको छ।

त्यस्तै वडा नं. ७ सेटीगाउँमा झण्डै दुईसय वर्ष पुरानो दानव गुफा छ। जहाँ प्राचीन ओखल, घरको जग घोडा बाँधने तवलाका अवशेष देख्न सकिन्छ अहिले पनि। उक्त गुफका बारेमा सांसकृतिक अध्येता एवम् पूर्व शिक्षक छत्रराज न्यौन्यालले इतिहासकार डा. राजाराम सुवेदीलाई बताएपछि हाल जनकशिक्षा सामग्री केन्द्रबाट प्रकाशित कक्षा ४ को सामजिक शिक्षा पुस्तकभित्र समावेश गरिएको छ। 

तेलेको टुप्पोमा एकान्त घनघोर लेकमा निकै नै शत्तिशाली मानिएको काफली देवताको मन्दिर छ। सोही लेकमा सुन्दर पाटनहरुदेखि तालहरु छन्। पेट्रोलियम पदार्थको खानी भएको अनुमान गरिएको उक्त लेकमा बहुमूल्य जडिबुटीहरु पाइन्छन्।

नगरपालिकाभित्र लाटाकाफली, बन्थडी, कपल्लेकी केदार, सलमुनी, भागेश्वर, बालुकादेवी, साल्टापु, लाटा, मष्ठा, मल्सिमी, पनेरे, पितार्नी बज्यै, भुमदेउली, शिद्ध, कनैचे थैले लाटा, पशुपति, मालिका, देउलकण्ठे, जस्ता थूप्रै देवीदेवताका मन्दिरहरु छन्।

यहाँ अरु बेला दालभात, तरकारी र रोटी खाने चलन भएपनि प्रायजसो चाडपर्व र शुभकार्यमा परम्परागत परिकार पाक्दछन्। यस्ता परिकारमा माडा, बाबर, पूरी, बटुक, भक्के रोटी, खीर आदि प्रमुख  हुन्। अर्डर गरेमा होटलमा पनि यी परिकारका साथै सेती नदीका लोकल माछा र लोकल कुखुरा खान पाइन्छ। 

कसरी पुग्ने ?

काठमाडौंदेखि धनगढीसम्मको दूरी ६८० कि.मी. बस यात्रा १६ घन्टा अथवा हवाई यात्रा एक घण्टा १५ मिनेट। धनगढीदेखि नगरपालिका कार्यालय रहेको क्षेत्र तल्कोटसम्मको दूरी १७० कि.मि., बसमा ५ घन्टा ३० मिनेट। 

हाम्रो नगरपालिका ऐतिहासिक, धार्मिक, सास्कृतिक एवम् पुरातात्विक क्षेत्रको अध्ययन अनुसन्धान गर्न चाहनेका लागि उत्तम र भर्जिन क्षेत्र हो। विगतमा काफली शिखर, कपल्लेकी केदार, भागेश्वर लगायतका शक्तिपिठहरूसँग जोडिएका डोट्याली राजा नाग मल्ललगायत केही शासकहरूका इतिहास बोकेका चैत धमारी जीवन्त छन्। तेलेको लेक अर्थात शिखर क्षेत्र पुर्खाका दिनदेखिकै हाम्रो पहिचान हो। यही शिखर क्षेत्रलाई केन्द्र बनाएर नगरपालिकाको नामाकरण गरिएको हो। 

यहाँ मल्सिमी देवताको जाँतमा आगोका कोइलाको थुप्रोमा धामीले देखाउने नृत्यदेखि वडा न. ७ मा पर्ने उजेली गाउँका देवल सेटीगाउँमा रहेको दानव गुफाजस्ता अन्य थुप्रै पर्यटकीय गन्तव्य बोकेका क्षेत्र छन्।

भागेश्वर, सालमुनी, गहनानलगायतका थुप्रै तीर्थ छन्। विभिन्न चाडपर्वदेखि देवीदेवताका जाँतहरू हाम्रा मौलिक पहिचान हुन्।  यिनै पक्षलाई पर्यटनसँग जोड्न हामी लागिपरेका छौं। नगरपालिकाभित्रका घुम्नै पर्ने कैयौं क्षेत्रको ब्राण्डिङ गरी हामी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सक्छौं। यिनै पर्यटकीय क्षेत्रहरूको संरक्षण र संवर्धन गर्नु नगरपालिकाको प्रमुख उद्देश्य रहेको छ। शिखर नगरपालिकामा भ्रमणका लागि म सबैलाई आमन्त्रण गर्दछु। 

सीताराम जोशी 
नगर प्रमुख, शिखर नगरपालिका, डोटी


हाम्रो नगरपालिका विभिन्न किसिमले भरिपूर्ण छ। काफली शिखरमा धामी काँपेर चुर (डरलाग्दो भीरमा ) जाने, देकुराली लाटाको मन्दिरमा सानो प्वालबाट धामी बाहिर निस्कने, वडा नं. ७ को बैरकोटमा अवस्थित लाटाको मन्दिरमा १२ वर्षमा हुने लक्षहोमका बेला होमकुण्ड नजिकै सर्प देखापर्ने जस्ता घटना घटेकै छन्। गहनान, सल्टापु, भागेश्वर जस्ता नदी किनारका तीर्थहरुको आफ्नै खालको महत्व छ। 

नेपालको राजनीतिमा पहिलो महिलामन्त्री बनेकी द्वारिकादेवी ठकुरानीको जन्मथलो पनि हो शिखर नगरपालिका। नेपाली राजनीतिका अब्बल खम्बा शेरबहादुर देउवादेखि थुप्रै राजनीतिकर्मी र समाजसेवीहरूले शिक्षा आर्जन गरेको उच्चाकोट क्षेत्र यसै नगरपालिका भित्र पर्दछ। 

शिखर नगरपालिका धर्म, संस्कृति, इतिहासका दृष्टिले भरिपूर्ण छ। प्रचारप्रसारका माध्यमबाट पर्यटक भित्र्याई पर्यटन क्षेत्रमा रोजगारी सिर्जना गराउने योजनामा हामी लागिपरेका छौं। लेक र औल दुबै भएको प्राकृतिक, धार्मिक, सास्कृतिक, ऐतिहासिक सबै किसिमले महत्वपूर्ण मानिने नगरपालिका हो यो। सबै जनालाई हाम्रो नगरपालिका भ्रमणका लागि आमन्त्रण गर्दछु। 

धौलीदेवी रावल 
नगर उप–प्रमुख, शिखर नगरपालिका, डोटी


प्रकाशित मिति: : 2021-07-20 20:20:00

प्रतिकृया दिनुहोस्