देशकाे सबैभन्दा ठूलाे पार्टी मानिएकाे नेकपा (एमाले) दुई भागमा विभाजित भएपछि केन्द्रीय राजनीतिकाे वृत्तमा नयाँ बहस सुरू भएकाे छ।
यहाँ सम्म कि, केपी शर्मा ओली नेतृत्वकाे एमाले र एमालेबाटै छुट्टिएर माधव नेपालले निर्माण गरेकाे नयाँ दल नेकपा (एस)काे भविष्यबारे समेत आंकलन सुरु भएकाे हाे।
त्यसाे त, नेता नेपाल आजै (आइतबार) नेकपा (एस) संसदीय दलकाे नेतामा पनि सर्वसम्मत चयन भएका छन्। उनले गत विहिबार पत्रकार सम्मेलन नै गरेर आफूहरु कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकाे सरकामा सहभागी हुने पनि घाेषणा गरिसकेका छन्।
विहिबारकाे पत्रकार सम्मेलनमा देखिएकाे 'इन्ट्रेष्टिङ' संयाेग
नेता नेपालले गत विहिबार पत्रकार सम्मेलन गरेर आफूहरु सरकारमा सहभागी हुने घोषणा गरे।
सम्मेलन कार्यक्रमा नेता नेपालसहित पछिल्लाे समय उनकाे दाहिने हात मानिने नेताहरू मेटमणि चौधरी, प्रेमबहादुर आले, रामकुमारी झाँक्रीलगायत पनि उपस्थित थिए।
बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजना गरिएकाे सम्मेलनमा नव गठित नेकपा (एस)का थुप्रै कार्यकर्ताहरू पनि सहभागी थिए। नेता नेपाल बसेकाे कुर्सीकाे सामुन्नेमा एउटा टेवल राखिएका थियाे। टेवलमा विभिन्न मिडियाका बुमहरू (माइक) राखिएकाे थियाे भने अलि अगाडिकाे कुर्सीमा पत्रकारहरू आसिन थिए।
उनी निकट केही नेताहरु दायाँबायाँकाे कुर्सी र केही नेताहरु पछाडीका कुर्सीहरु बसेका थिए। उनका दुई दर्जन कार्यकर्ताहरु पनि बाहिर निस्कने गेटअघि उभिएर नेता नेपालका अभिव्यक्तिहरु निकै चासाेका साथ सुनिरहेका थिए।
तर जब पत्रकार सम्मेलन सकिएपछि सबै नेताहरु आ-आफ्नो गाडीमा फर्कदै थिए, तब प्रेम आलेको हकमा भने 'इन्ट्रेष्टिङ' संयोग देखियाे। कार्यक्रमपश्चात आले आफ्नाे गाडीमा फर्कदै गर्दा उनी अचानक कार्यकर्ताहरुले घेरिए।
जब उनी आफ्ना कार्यकर्ताहरुकाे बीचमा घेरिए, तब ती कार्यकर्ताहरूले आ-आफ्नाे गाेजीबाट माेबाइल निकालेर भटाभट् 'सेल्फी' खिच्न थाले।
नेता आले पनि के कम, उनले पनि मुखमा लगाइरहेकाे मास्क खोले र मख्ख-मन्द मुस्कानसहित विभिन्न पोजहरु दिन थाले। उनीसँग फोटो खिच्न कार्यकर्ताहरुले तछाड-मछाडसमेत गरे। यहाँ सम्म कि, आलेसँग फाेटाे खिच्नकै लागि कार्यकर्ताहरुबीच धकेला-धकेल पनि भयाे।
यससँगै वातावरण एकछिनमै 'इन्ट्रेष्टिङ' बन्याे। आलेसँग फाेटाे खिच्नेहरुकाे भीड लागेपछि वरपरका अन्य दर्शकहरुले पनि रमाइलाे मान्दै त्याे दृश्यकाे आनान्द उठाए।