'कारगिल युद्ध-१९९९' काे एउटा 'सत्य'

Breaknlinks
Breaknlinks

म नामधारी ईश्वर/भगवान् मान्दिनँ तर सबै धर्मलाई सम्मान गर्छु भनेर मैले आफ्नो आत्मजीवनी 'कारगिल युद्ध-१९९९'मा आत्मस्वीकृति दिएको छु। किन मान्दिनँ भन्ने कुरा उक्त पुस्तक पढेपछि तपाईंहरूलाई थाहा हुनेछ।

नामधारी भगवान नमान्नु मेरो आफ्नो विश्वास हो। यो मेरो विश्वास मेरो वैयक्तिक हो। मैले उक्त पुस्तकलगायत मुहार-पुस्तिकामा धेरैपल्ट लेखिसकेको छु- 'विश्वास' वैयक्तिक हो। 'सत्य' सामूहिक। सत्यलाई सबैले मान्छन्। वैयक्तिकलाई होइन।

मेरो विश्वास, मेरो आफ्नो हो। यसैकारण मेरो विश्वासमा कुनै पनि व्यक्ति चल्नुपर्छ भन्ने छैन, कारण कुनै पनि व्यक्ति आफ्नै विश्वासमा चल्छ।

सबै एउटै विश्वासमा चल्दा हुन् त नामधारी एउटै ईश्वरलाई सत्य मानेर मानवले पुज्ने थिए। विभिन्न ईश्वर, विभिन्न धर्मगुरूलाई मान्ने थिएनन्। धर्ममा पनि विभिन्नता छ, र नै यहाँ विभिन्न धर्मालम्बीहरूको मत परस्परमा ठोक्किएर यो धरामा मानव-मानवबीच युद्ध, नरसंहार भइरहेको छ।

यो क्रम सृष्टिको आरम्भबाट थालिएको हो, यसैकारण विश्वमा अद्यपर्यन्त चलिरहेको मूल चारवटा धर्म हिन्दू, इस्लाम, क्रिश्चियन,बुद्ध धर्मका अनुयायी परस्परमा कहिल्यै मिल्दैनन्। समागम पनि हुँदैनन्। आफ्नै धर्मप्रति मात्र विश्वास, आस्था राख्छन्। आस्था राख्ने हुँदा 'होली वार' जन्मियो। आइएसआइ  जन्मियो।

भारतमा त ईश्वर हुने (स्वाघाेषित) धेरै जन्मिएका छन्। संस्था पनि जन्मिएका छन्। त्यस संस्थाका सदस्य-सदस्याहरू हुने गर्छन्। ईश्वरले पनि खोज्छन्, 'मेरो सदस्य-सदस्या' हौ भनेर!

ईश्वर (सृष्टिकर्ता) त सर्वव्यापी छन्, यसकारण उनलाई तोकिएको (के-के धर्म) सदस्य-सदस्या चाहिन्छ र ? तर, चाहिदोरहेछ  र नै आफ्नै नामधारी भगवानप्रति ती सदस्य-सदस्याको विश्वास हुँदोरहेछ।

यही विश्वासको कुरा गर्दा कतिले ईश्वरलाई नमानेको हुनसक्छ। नमान्नु पनि त उसको विश्वास हो। स्टेफन हकिनले ईश्वर नै छैन भनेर आफ्नो विश्वासमा अडिग भएर मरे। उनलाई 'ईश्वर किन मानिनस्' भनेर हामीले भनेर हुन्छ र? उनले मानेनन्। यो उनको आफ्नै विश्वास हो।

विश्वास वैयक्तिक हो। सत्य सामूहिक हो। परस्परमा एकअर्कालाई धर्म नमान्ने सबै धर्मका धर्मावलम्बीहरू सत्यलाई मान्नैपर्छ, मान्छन्- 'आगोले पोल्छ।'

यही नै हो सत्य। अनि यो सत्यलाई जसले स्थापना गरे, उनी नै ईश्वर हुन्, जसको कुनै नाम छैन। दृष्टिगोचर पनि छैनन्।

विज्ञानको भाषामा भन्ने हो भने ईश्वर नै 'शक्ति' हो। शक्तिबिना यो विश्व-ब्रह्माण्ड कहिल्यै गतिशील हुँदैन। हुनै सक्दैन।



लेखकका अन्य लेखहरु‍‍...

हरिभक्त कटुवाल र रातो डायरी

हिटलर, स्टालिन र मोदी– जाे चर्चाबाटै ओरालाे लागे

नग्न 'तैलचित्र'लाई स्वीकार गर्न किन हिचकिचाउने ?

गान्धी 'स्पेनिश फ्लू'ले मरेका भए आजादी कथा लेखिने थिएन

प्रकाशित मिति: : 2021-07-17 20:14:00

प्रतिकृया दिनुहोस्