हरिभक्त कटुवालकाे विषयमा नेपाल, असम, दार्जीलिङ, सिक्किम धेरै ठाउँका लेखकहरूले लेख लेखेका छन्। तर, नेपालका लेखकहरूका कुरा त परै छाडौँ, असमका युवा लेखक खिलानाथ अधिकारी छाडेर अझसम्म कुनै लेखकले आफ्नो लेखमा हरिभक्तको कटुवालको रातो डायरीबारे किञ्चित स्पर्श गरेका छैनन्।
यदि कसैले गरेका छन् भने मलाई थाहा नभएको हुनसक्छ। कसैले लेखेका छन् भने प्रमाणका लागि मुहार-पुस्तिकामा आफ्नो लेख साझा गर्न उनीसँग सविनय अनुरोध गरेँ।
नेपालका भवानी अधिकारीलाई नेपाली साहित्य संसारले नचिन्ने कुरै छैन। उनी अहिले यस संसारमा छैनन्। उनी नेपालका महान् साहित्यकार, पत्रकार तथा प्रतिष्ठित पत्रिका 'भानु'का सम्पादक थिए।
निकै वर्षअघि उनी हरिभक्त कटुवाललाई लिएर पत्रिका 'भानु'को माध्यमबाट 'कटुवाल विशोषांक' निकाल्न भनेर लेखहरू बटुल्न, कटुवालबारे जानकारी लिन असम आएका थिए। डिगबोईमा कटुवालकी जेठी छोरी कवितालाई पनि भेटेका थिए। भेट हुँदा कविताले उनीसँग चोरिएको (हराएको) आफ्नो बुवाको डायरीलाई लिएर कुरा गरेकी थिइन्।
यो कुरा कविताले मलाई व्यक्तिगत रूपमा थाहा दिएकी थिइन्। मैले सोचेँ- भवानी घिमिरेले 'कटुवाल विशेषां'कमा कवितासँग डायरीसम्बन्धी भएको कुरामाथि केही लेख्नेछन्। 'कटुवाल विशोषांक' निस्क्यो तर दु:खको कुरा डायरीबारे एकाक्षर पनि विशेषांकमा पसेन।
मैले दार्जीलिङका एकजना प्रतिष्ठित लेखक/समालाेचकलाई डायरीमा परेका भूलसम्बन्धी कुराको अवगत चिट्ठीमा गराउँदै 'हत्या: रातो डायरीको' को एक प्रति पठाएको थिएँ, उनले उक्त पुस्तक पठाइदिनु भनेकोले।
उनले तपाईंको चिट्ठी भविष्यमा काम आउनेछ भनेर मलाई पत्रोत्तर दिएका पनि छन्। उनले सन् १९९९ देखि आजसम्म धेरै लेख र पुस्तक लेखे, सम्पादन गरे। तर, उनले जहाँसम्म मलाई लाग्छ रातो डायरीलाई लिएर आफ्नो लेखमा कतै स्पर्श गरे होलान् शायद।
जुन २। हरिभक्त कटुवालको जन्मदिन। उनको जन्मदिन असमका धेरै ठाउँमा मनाइयो तर जहाँसम्म मलाई लाग्छ हरिभक्त कटुवालको 'रातो डायरी'बारे कतै चर्चा भएन। सायद यसलाई भनिन्छ- विसंगति।
लेखकका अन्य लेखः