'लाहुरेको रेलिमाई फेशनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको'

Breaknlinks
Breaknlinks

''लाहुरेको रेलिमाई फेशनै राम्रो –रातो रुमाल रेलिमाई खुकुरी भिरेको''

यी पंक्तिहरू हुन् कालजयी मास्टर मित्रसेन थापाले गाएका गीतका।

सन् १८९५ मा भाक्शुमा जन्मेका अनि सन् १९४६ मा भाक्शुमै अन्तिम श्वास लिएका भारतीय गोर्खाहरूको मात्र नभएर नेपाललगायत विश्वभरी छरिएर बसेका नेपालीहरूकाे अमूल्य सम्पत्ति हुन्– मास्टर मित्रसेन थापा।

उनले आफ्नो समयमा त्यतिबेलाका सुषुप्त हाम्रो समुदाय–जातिलाई आफ्नो लेखनकला, चित्रकला, संगीतकला एवम् गायनकलाले जगाउने र उठाउने कर्म गरे। बहुआयामिक प्रतिभाका धनी भएका कारण उनलाई भारत सरकार अनि नेपाल सरकारले सम्मान दिन भनेर उनको नाममा हुलाक टिकट पनि निकाले।

मैले लेखिसकेको छु– 'योग्यताको कुनै जात/धर्म हुँदैन।' यसैकारण मास्टर मित्रसेन थापाको कुनै जात/धर्म छैन। उनी हामी सबैका हुन्।

नेपाली भाषामा धेरै गीत गाएका छन्। भारतीय गोर्खाहरूमा सबैभन्दा पहिला आधुनिक नेपाली गीतको रेकर्ड निकाल्ने प्रथम गायक हुन्।

थापा भारतीय नेपाली आधुनिक गीतका जनक पनि हुन्। जनक भएका कारण आज भारतमा गोर्खेहरूबीच पांगदुरे गायक हुने, गीतकार हुने तथा पांगदुरे संगीतकारहरू हुनेले यिनको नाम जानेको हुनुपर्छ, नत्र त्यस्ताहरू जरा बिनाका रुख हुन्,जहाँ केही फल लाग्दैन।

यिनका गीतका शब्दहरू शुद्ध, ठेट नेपाली बोलीमा छ। उदाहरण 'पिँडालु' शब्द आएको छ, तर अब भाक्सुका गोर्खाहरू धेरैलाई थाहा छैन 'पिँडालु' के हो भनेर।

अहिलेका भाक्शुका गोर्खालीहरूले बोल्ने गोर्खे बोली सुन्दा यस्तो लाग्छ– अर्को दुनियाँको बोली हो। देहरादूका गोर्खालीहरूको बोली पनि यस्तै छ। उदाहरण कुनै अभद्र गोर्खा युवकलाई कुनै गोर्खे चेलीले भनेकी शब्द– 'शिरमा चप्पल पडी लिन्छ त तब पता चल्छ।'

नेपालले भोलि देख्ने तर दार्जीलिङले आजै देख्ने दार्जीलिङका आजका गोर्खेहरूको बोली, लेखाइ पनि विरक्तलाग्दो छ– 'आज घुम्न जौँ भनेको कमानमा काम गर्ने औरतलाई आउन दिएन।'

शिलोङको आजका गोर्खेहरू अर्थात् विद्यार्थीको बोली– 'रुक..! रुक..! म आउँदैछु।'

अर्को विद्यार्थीको बोली– 'लेकिन मलाई रुकने टाएम छैन। म गएँ।'

असमका गोर्खेहरूको बोली– 'उ त्यो बस स्टापमा नामेर घुम्तीमा घुघुनी खाको मीठो लागेन।'

हाम्रो भाषामा अहिले यसरी विकृति आउँदैछ। जातिमा पनि विकृति आउँदैछ। विकृति कस्तो भने, 'आर्य र मंगोल' भन्ने। यो विकृति नेपालबाट पहिला आएको हो, बाहुन–छेत्री आर्य। मगर, गुरुंगादि मंगोल। फेसबुकमा हेर्न र पढ्न पाइन्छ– मंगोल हुनेले आर्यलाई गाली गरेको, आर्य मंगोललाई गाली गरेको पाइन्छ। गाली गर्ने रोग यतातिर पनि विशेष असममा आएको मैले व्यक्तिगत रूपमा पाएको अनुभव गरेको छु।

अब मास्टर मित्रसेनको पालामा आउँछु 'मंगोल' भन्ने प्रसंग लिएर। उनी गोर्खा पल्टनमा भर्ती भएका थिए। प्रथम विश्व युद्ध पनि लडेका थिए। उक्त युद्धमा मानव संहार भएको देखेर उनले गोर्खा पल्टनबाट नाम काटे अनि कलाको संसारमा लागे।

त्यसबेला गोर्खा पल्टनमा बाहुनलाई सिपाहीको रूपमा भर्ती गरिँदैनथ्यो। मगर, गुरुङ, राई, लिम्बू आदिलाई भर्ती गरिन्थ्यो, जसलाई 'लाहुरे' भन्ने चलन हाम्रो समाजमा त्यसबेला थियो। यी जातिलाई 'मगोल' भन्ने चलन थिएन। भएको भए मास्टर मित्रसेन थापाले यसरी गीत गाउने थिए– ''मंगोलको रेलिमाई फेशन नै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको।'

यही गीतको अन्तिम लहरमा मातेर मूतमा जांगे भिज्यो भन्ने प्रसंग छ। यसबाट स्पष्ट हुन्छ– त्यसबेलाको लाहुरे अर्थात् अहिलेको मंगोल भनिनेका बाबा–बाजे रक्सीमै डुब्दा रहेछन्। जो आजका मंगोलहरू पनि डुब्ने गर्छन्।

मंगोल भनिनु नराम्रो होइन तर रक्सीमा डुब्ने मंगोले बानी बनाउनु राम्रो होइन। यही भएर मास्टर मित्रसेनले त्यसै गाएका थिएनन्–'गोर्खाली भयो खाली तीन–पानीले होकि हजूर!'

हिजोआज त बाहुनहरू पनि मंगोले बानी लिएर 'तीनपानीमा'' डुबेर बाटोमा हल्लिएको मैले प्रत्यक्ष देखेको छु। यसैकारण हिजोआज मलाई छुट्याउन गाह्रो भएको छ– को आर्य हो, को मंगोल। अहिले त मलाई लाग्छ– हामी एउटै आमाबाबुका सन्तान हौँ।

मास्टर मित्रसेन थापाले एउटा गीत यो पनि गाएका थिए– 'मलाई खुत्रुक्कै पाऱ्यो जेठान तिम्रो बहिनीले'

(यो गीतमा मणिसिंह गुरुङ र मास्टर मित्रसेन थापाबीच भनाभन भएको थियो। यसबारे बिएल नेपाली सेवामै लेख्नेछु।)

प्रकाशित मिति: : 2023-05-09 20:36:00

प्रतिकृया दिनुहोस्