बेदुराम भुसालले छाडे एमाले, स्वतन्त्र सांसद्को हैसियतमा राखिदिन संसद्का महासचिवलाई पत्र

फाइल तस्वीर
फाइल तस्वीर

एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य वेदुराम भुसालले संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेखी आफूलाई स्वतन्त्र सांसद्को हैसियतमा राखिदिन माग गरेका छन्। 

माधव नेपाल नेतृत्वको समूहमा लागेका उनले आफू अब एमाले नरहेको बताउँदै सो पार्टीलाई मासिक रुपमा तिर्दै आएको लेबी पनि नकाटी सबै पैसा आफ्नो खातामा हालिदिन पनि आग्रह गरेका छन्। उनीसहित एमालेका सबै सांसद्ले आफ्नो पारिश्रमिकबाट मासिक १२ हजार रुपैयाँ बुझाउँदै आएका थिए। 

पत्रमा भुसालले आफू नेकपाबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको र सर्वोच्च अदालतको ०७७ साल फागुन १३ को फैसलाले सो पार्टीको अस्तित्व समाप्त भएकोले आफू दलबिहीन हुन पुगेकोले स्वतन्त्र हैसियतमा राखिदिन पनि निवेदनमा माग गरेका छन्। उनले भनेका छन्, 'त्यसपश्चात् आफू एमाले र माके कसैको पनि सदस्य नबनी सभाको स्वतन्त्र सदस्यको रुपमा रहेको छु र आगामी दिनमा पनि म स्वतन्त्र सदस्यकै हैसियतमा रहन चाहन्छु। त्यसैले स्वतन्त्र सांसद्कै रुपमा व्यवहार गर्न अनुरोध गर्दछु।'

एमालेबाट ०७६ माघमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका भुसाल एमाले र माओवादी एकतापछि नेकपा स्थायी कमिटी सदस्य भएका थिए। उनी एमाले र माओवादी अलग भएपछि माधव नेपाल समूहमा क्रियाशील छन्। 

एमालेलाई लेबी नतिर्न उनले संसद् सचिवालयलाई पत्र लेखेको भएपनि अब उनको सांसद् पद समाप्त हुने संभावना बढेको छ। आफू एमाले संसदीय दलको सदस्य नरहेको जानकारी स्वयम्ले गराएकाले राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले उनको सांसद् पद खारेज गरिदिन सक्ने छन्।

प्रकाशित मिति: : 2021-06-27 20:54:00

प्रतिकृया दिनुहोस्