बल्लतल्ल यसरी मन्त्री भएका २१ मन्त्रीको १९ र १३ दिने सत्तासुख 

पार्टी फुटाएर सरकारमा सहभागी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोसहित जनता समाजवादी पार्टीका १० मन्त्रीहरु १८ दिन सत्ताभोग गरी जिम्मेवारी मुक्त भएका छन्।

तीन उपप्रधानमन्त्री रहेको सरकारमा उपप्रधानमन्त्री विष्णु पौडेल कायमै रहेका छन् भने उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री रघुवीर महासेठ १९ दिनमा मुक्त भएका छन्। एमालेभित्र ठूलो रस्साकस्सीपछि गृहमन्त्री भएका खगराज अधिकारी पनि जिम्मेवारीबिहीन भएका छन्।

एमालेकै माधव नेपाल समूह त्यागेर मन्त्री हुन आएका सामान्य प्रशासन मन्त्री गणेश पहाडीको पनि पद गुमेको छ। रातोपासपोर्ट दुरुपयोगमा विवादित वन तथा वातावरणमन्त्री नारदमुनि राना थारु र बिनाविभागीय मन्त्री मोहन बानियाँ पनि १३ दिनमै पदमुक्त भए।

माओवादी त्यागेर एमालेमा लागेका पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी सञ्चारमन्त्री नैनकला थापा र कृषिमन्त्री ज्वालाकुमारी साह पनि मुक्त भए। राजपाको भागमा परेको भन्दा अतिरिक्त 'बार्गेनिङ' गरी मन्त्री खाएका उद्योगमन्त्री राजकिशोर यादव पनि मुक्त भए।

शरतसिंह भण्डारी (ऊर्जा), अनिलकुमार झा (खानेपानी), लक्ष्मणलाल कर्ण (भूमि व्यवस्था), विमलप्रसाद श्रीवास्तव (श्रम), उमाशंकर अरगरिया (पर्यटन) चन्दा चौधरी (महिला) र एकवाल मिया (युवा तथा खेलकुद)  मन्त्री पनि १९ दिनको सत्तासुखपछि मुक्त भए।

माधव नेपाल समूह त्यागेर आएका एमालेका शेरबहादुर तामाङ (स्वास्थ्य तथा जनसंख्या) पनि मन्त्री नियुक्त भएको १९ दिनमै पदमुक्त भए। जसपाका राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी र रेनुका गुरुङ पनि १९ दिनमा जिम्मेवारीमुक्त बने।

प्रकाशित मिति: : 2021-06-22 20:34:00

प्रतिकृया दिनुहोस्