भान्साभित्र लुकेका कथा बाेल्ने सिनेमा

शिलापत्र

काठमाडौँ

भान्सा केवल खाना पकाउने र खाने एउटा कोठा हैन । यसभित्र अनेकौँ कथाहरू लुकेका छन् । अनेकौँ पात्रहरू लुकेका छन् । ती पात्रका आकाङ्क्षा लुकेका छन् । बाध्यता लुकेका छन् ।

त्यहाँ काम गर्ने पात्रका अनुहार र हातहरू सदियौँदेखि लगभग एकै छन् । केही स्वरूप फेरिए पनि त्यसको अवस्था आज पनि लगभग उस्तै छ । त्यो कामको जिम्मा उनीहरूलाई मात्र कसले लगायो ? यो प्रश्न नसोधी नयाँ पुस्ताले त्यसलाई मान्दै गएका छन् । मान्दै गएपछि धेरै कुरा सामान्य हुन थाल्छन् ।

बेलाबेला प्रश्न सोध्नेहरू नभएका हैनन् । तर, तिनलाई दबाउन समाजसँग अरू तरिकाहरू छन् । विवाहजस्ता संस्थाहरू र त्यसैको आडमा बनाइएका संरचनाहरू छन् । 'पुरुष घरभन्दा बाहिर अनि महिला घरको काम गर्ने' नियमहरू छन् । महिला घरबाहिर गएर काम गरे पुरुषको इज्जत गइहाल्ने विधानहरू छन् । त्यतिले नपुगेर रजस्वला हुँदा गरिने छुवाछुत पनि छन् ।

भान्सामा भएका पात्रलाई भान्सामा मात्र सीमित गरिराख्ने यस्ता धेरै संरचनाहरूको अनुहार मायावी छ । ती झट्ट हेर्दा देखिँदैनन् तर छन् । भान्सामा खाना पाक्दाको आवाजमा छन्, भान्सामा पाक्ने स्वादमा छन् । जुठा भाडाका चाङमा छन् । तिनले पुरुषलाई पहिला खाना खुवाउँछन् र महिलालाई पछाडि खाना खुवाउँछन् ।

कतिपय बेला त पुरुषको प्रत्यक्ष हात पनि देखिँदैन । महिला नै महिलालाई दबाउने पात्र भइरहेको पनि देखिन्छ । सासूले बुहारीलाई दबाउने, फुपूले बुहारीलाई दबाउने, नन्दले भाउजूलाई दबाउने । तर, त्यो सबै बाहिर सतहमा देखिएका दृश्यहरू मात्र हुन् । त्यसलाई अलिकति उक्काएर हेर्ने हो भने ती सबै दृश्यभित्र पितृसत्ताको नाङ्गो अनुहार लुकिरहेको देखिन्छ ।

प्रकाशित मिति: : 2021-06-22 10:01:00

प्रतिकृया दिनुहोस्