हे ठाेरीका राम, दुर्गा प्रसाईंकाे डनगिरीका संरक्षकलाई कहिलेसम्म संरक्षण दिइरहने ?

शिलापत्र

काठमाडौँ

 खगेन्द्र संग्राैला

यो कुकालमा हाम्रोमा असुरक्षा सिरियलको आतङ्क व्याप्त छ । फौजी कीराबाट मकै असुरक्षित छ । पर्यावरणद्वेषी तत्त्वबाट चुरे असुरक्षित छ । जातवादी हिन्दुबाट दलित असुरक्षित छ । बलात्कारी व्याधाबाट नारी असुरक्षित छन् । बुल्डोजरे विकासबाट प्रकृति असुरक्षित छ । बाढी–पैरोबाट बस्ती असुरक्षित छ । कीटनाशक बिखादीबाट माटो असुरक्षित छ । घोकन्ते विद्याबाट विद्यार्थीको भविष्य असुरक्षित छ । सरकारप्रदत्त निषेधाज्ञाकालीन भोकबाट भुइँमान्छे असुरक्षित छ । र, माफियाको मितज्यूतुल्य ‘कम्निस्ट’बाट समाजवाद असुरक्षित छ ।

माथि बयान गरिएका यावत् असुरक्षामा केवल एक थोकबाट एक थोक असुरक्षित छ । तर एक थोक छ, जसबाट थुप्रै थोक असुरक्षित छन् । त्यो एक थोक ओली थोक हो । ओली थोकबाट संविधान असुरक्षित छ, संसद् असुरक्षित छ, विधि असुरक्षित छ, मर्यादा असुरक्षित छ, लज्जाशीलता असुरक्षित छ । र, सारमा, ओली थोकबाट त्यत्रो बलिदानी क्रान्तिको वृक्षमा फलेको अनमोल फलै असुरक्षित छ । ओली थोकबाट उत्पन्न यी सब असुरक्षामाझ अहिले एउटा असुरक्षा यत्रतत्र चर्चामा छ । त्यो हो– ओली स्वयम् अध्यक्ष भएका आयोगका उपाध्यक्षको ओली स्वयम्‌बाट भएको असुरक्षा । यो असुरक्षा सुन्दैमा जिब्रो टोक्नुपर्ने खालको छ ।

पदीय अख्तियार र दायित्वका दृष्टिले खड्गप्रसाद शर्मा ओली गणतान्त्रिक नेपालका कार्यकारी प्रधानमन्त्री हुन् । सकल नेपालीका जिउज्यान, खाइजीविका र गरिमाका कार्यकारी संरक्षक । तर, यी अनेक थोकका ‘संरक्षक’ ओली मति र कर्मले अनेक विकृतिका संरक्षक हुन पुगेका छन् । यथा गुण्डाराजका संरक्षक । विधिविध्वंसका संरक्षक । सज्जनता–विनाशका संरक्षक । मर्यादा मटियामेटका संरक्षक । भ्रष्टाचार प्रवर्द्धनका संरक्षक । कमिसन भक्षणका संरक्षक । अहङ्कार, अराजकता, असहिष्णुता र द्वेषका संरक्षक । हुँदाहुँदा यी यावत्‌विपरीतका यी संरक्षक आफ्नै उपाध्यक्षको असुरक्षाका धरी संरक्षक बन्न पुगेका छन् ।

प्रकाशित मिति: : 2021-06-19 11:36:00

प्रतिकृया दिनुहोस्