जीवन क्षेत्री
प्रिय झापावासीज्यूहरू,
आजभन्दा छ वर्षअगाडि मैले ‘फेरि यस्तो कहिल्यै नहोस्’ शीर्षकमा एउटा लामो लेख लेखेको थिएँ । त्यसमा एउटा निजी मेडिकल कलेजमा क्यान्सरको उपचार गराएर अनाहकमा घरखेत गुमाएको एउटा परिवारको कथा थियो । त्यो परिवार झापाको थियो ।
पीडित युवतीका बाबु थिए असाध्यै सिधा प्रकृतिका भद्र व्यक्ति । क्यान्सरले हुत्त निस्केको पेट र पहेँला आँखा भएकी छोरीको सेवामा २४ घण्टा एक्लै खट्ने ।
केही दिनमा मलेसियाबाट ज्वाइँ आए र साथी भए । रोजगारीमा गएको केही महिनामै फर्कन विवश ज्वाइँको आँखामा श्रीमतीको ज्यान नबच्ने भयो भन्ने वेदनामाथि पीडाको अर्को पत्र थियो– छोराछोरीको पेट कसरी भर्ने भन्ने ।
क्यान्सर अस्पतालले अब उपचार सम्भव छैन भनेर घर पठाइसकेकी ती युवतीको उपचार गलत दिशामा जान लागेको भेउ पाएपछि मैले उनीहरूलाई सम्झाएँ । तर, उनीहरूले समयमै निर्णय लिन सकेनन् । न उपचार गर्ने चिकित्सकहरूसित समयमै विस्तृत जानकारी माग्ने आँट नै गरे ।
उनीहरूलाई हेर्दै मैले सोचेको थिएँ– झापालीहरू बाठा भनेर बनेको ‘स्टेरियोटाइप’को आखिर खासै तुक रहेनछ । नेपालका अन्य जिल्लामा झैँ झापामा पनि सबै खालका मानिस छन् । तिनका भावना र संवेदना पनि अनेक छन् । तिनका दु:खसुख र जीविकाका लागि तिनको संघर्ष अन्यत्रका मानिसकै जस्ता छन् ।