नवराज पराजुली
जनम् जनम् जिउँला सँगै
भाकेर वर पीपलु
यो तन दिएँ, यो मन दिएँ, तिमीलाई ए मायालु
छोएर वर पीपलु … ।
त्यतिखेर हाम्रो गाउँमा जादुको बट्टा थियो । बट्टा यति जादुमय थियो कि त्यसभित्र अग्लोअग्लो वरपीपलको रुख पनि सजिलै अटाउँथ्यो । अनि त्यै वरपीपलको रुखमुनि श्रीकृष्ण श्रेष्ठ र पूजा चन्द टाइटानिक पोजमा लपक्क सुत्थे । उनीहरूले लगाएको लुगा श्यामश्वेत देखिन्थे । तर, उनीहरू प्रेमको रङ गाउँथे:
तिमी वर म पीपलु, सधैँ दायाँबायाँ
छाहारी भै बस पीपल शीतल तिम्रै छाया
हो र ?
साक्षी छ है पीपलु र वर…।
सानो हुँदा जुन गीतमा हिरो–हिरोनी नाँच्थे, त्यो गीत त्यै हिरो–हिरोनीले गाउँछन्जस्तो लाग्थ्यो । सानोमा गाउने, लेख्ने सबै ठूला काम हिरो–हिरोनीले नै गर्छन्जस्तो लाग्थ्यो ।