करिब दुई दशक अघिसम्म सानाठूला सबै किसानले गर्ने सनपाट खेती अब हराएकोे छ।
घरायसी प्रयोजनका नाम्ला÷दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती महोत्तरीमा अब देखिन छाडेको हो।
जिल्लाको भङ्गाहा नगरपालिका–४ का ८० वर्षीय हस्तबहादुर श्रेष्ठका हातमा अन्य कामबाट फुर्सद मिल्नासाथ अहिले पनि सुत्री कात्ने ढेडुवा (काठको तीन मुख भएको फिरफिरे ) हुन्छ। यो काम सनपाटको खेती हुन छाडेपछि केही दशक पहिलेभन्दा केही फरक भएको छ। पहिले आफैँले उत्पादन गरेको सनपाटको सुत्री कात्ने श्रेष्ठ अब भने पाटका बोरा उधिन्दै त्यसको धागो छुट्याएर सुत्री कात्ने गरेका छन्।
“पहिले उमेर छँदा टन्न सनपाट खेती गरिन्थ्यो, आफूलाई वर्षभरि चाहिने नाम्ला, दाम्ला, डोरी र रस्सा बनाएर बाँकी बेचिन्थ्यो”, श्रेष्ठले भने, “अब सनपाट लगाउने आफ्नो हुति (तागत) छैन, गरिआएको काम के गरौँ ? बोरा उधिनेर सुत्री कातिन्छ।”
श्रेष्ठमात्र नभएर मधेशमा पाका उमेरका आम किसान अन्य कामबाट फुर्सत भएको समय डोरी, दाम्लो र मोटो रस्सा बनाउन फुर्सतको समयमा ढेडुवा नचाउँदै सुत्री कात्छन्।
सुत्री कात्नु उखरमाउलो गर्मीबीच समवयस्कसँग कुराकानी गर्दै आरामका बेलामा गरिने पाका किसानहरुको आम कुरा हो। पहिले सनपाटबाट बनाइने सुत्री अब पुराना बोरा उधिनेर कात्नुपरेको अहिले पनि फिरफिरे नचाइरहेका श्रेष्ठ बताउछन्।
करिब दुई दशक अघिसम्म जिल्लाका सबैजसो भेगमा धेरथोर सनपाट खेती गरिन्थ्यो। कुत्रुङ्, कश्मिरा र पटुवा जातका सनपाटको खेतीबाट आफूलाई आवश्यक पर्ने सुत्री कातेर अरु बेचेर घरखर्चका लागि नगदको जोहो गरिएको श्रेष्ठकै समवयस्क रामनन्दन महतो बताउछन्।
“आफ्ना नाडी गले, गर्न सकिँदैन, छोराहरुले यो खेतीमा ध्यान दिँदैनन्”, महतो भन्छन्, “तैपनि घरका पशुवस्तुलाई चाहिने दाम्ला आफैँ पु¥याउँ भनेर थोत्रा बोरा उधिन्दै सुत्री कातेको हूँ।”
पछिल्ला केही दशकयता हाटबजारमा प्लाष्टिकका दाम्ला, नाम्ला र डोरी प्रचुर आउन थालेपछि पछिल्लो पुस्ताका किसानले सनपाट सम्झन नै छाडेका महतोको भनाइ छ। रासस