निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ गएका शहरी विकास मन्त्रालयका आयोजना प्रमुख रोशन श्रेष्ठलाई गृह मन्त्रालयले कारवाही गर्न निर्देशन दिएको छ।
गृह मन्त्रालयले शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै अनुसन्धान गरी श्रेष्ठकाे कारवाहीको विवरण समेत पठाउन निर्देशन दिएको छ।
गृह मन्त्रालयबाट आफूलाई शुक्रबार पत्र आएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिएल नेपाली सेवालाई जानकारी दिए।
गृह मन्त्रालयको निर्देशनपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले अनुसन्धान सुरु गरेको जानकारी दिएका छन्। उनले गृह मन्त्रालयको पत्र प्राप्त भएपछि सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा अनुसन्धान समिति बनाएको समेत बताएका छन्।
श्रेष्ठ गत आईतबार ‘प्रदेश न ३–०१–००२ – ४९२२’ नम्बरको सरकारी गाडीमा युवतीसँग काठमाडौंको स्वयम्भूनाथमा ‘डेटिङ’ गएका थिए। डेटिङकाे भिडयाे सञ्चार माध्यमा सार्वजनिक भएपछि भाइरल बनेकाे थियाे।
निषेधाज्ञामा सरकारी गाडी लिएर आयोजना प्रमुख ‘डेटिङ’मा ! (भिडियोसहित)
‘हामीले सुरूमा उहाँआबद्ध विभागको राय लिन्छौं। निषेधाज्ञाको समयमा सरकारी सवारी साधनको दुरूपयोग गरेको बारे एक किसिमले कारवाही हुन्छ। अर्को सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी गाडीमा युवती लगेर अनुचित कार्य गरेको विषयमा विभागीय कारवाही हुन्छ।’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।