जसपा औपचारिक रूपमै फुट्यो, उपेन्द्रले महन्थ–राजेन्द्र हटाएलगत्त्तै महन्थले पनि उपेन्द्रलाई निकालिदिए

जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजित भएको छ। करिब एक महिनाअघिदेखि दुई दलको अभ्यास गरिरहेको सो दल एकीकृत भएको घोषणा गरेको एक वर्ष एक महिनापछि पार्टी एकता पूरा नगरी पुन: विभाजित भएको हो।

जसपाका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवले प्रथम अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई मंगलबारै निस्कासित गरेको घोषणा गरेका थिए। उनलाई निष्कासन गरिएको पत्र यादव पक्षले निर्वाचन आयोगमा पठाएलगत्तै अध्यक्ष ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्यबाट हटाइदिएका छन्। 

उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपाको सो पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाट निस्कासन गरेको घोषणा गरेको थियो।

पार्टीको नेतृत्व परिवर्तन भएको वा एकीकृत भएको वा फुटेको आधिकारिक जानकारी दिने ठाउँ निर्वाचन आयोग हो। त्यसैले उपेन्द्रले आयोगमा पत्र पठाएलगत्तै राजपाको औपचारिक विभाजन भएको हो।

यादवले कार्यकारिणी समितिको उक्त निर्णय निर्वाचन आयोगलाई गराई दलको दर्ता किताबबाट महन्थ ठाकुरको नाम हटाउन अनुरोधसहितको सूचना दर्ता गराएका छन्। 

आयोगमा पहिलो वरियताको अध्यक्षमा महन्थ ठाकुर र दोस्रो वरियताको अध्यक्षका रुपमा उपेन्द्र यादवको नाम दर्ता गरिएको छ।

२०७७ साल बैशाख १० गते रातारात  महन्थ ठाकुर अध्यक्ष रहेकाे राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादव नेतृत्वकाे समाजवादी पार्टीबीच एकीकरण भएको घोषणा गरिएको थियो। समाजवादी पार्टी विभाजनबाट बचाउन गरिएको उक्त पार्टीबीच एकीकरण पूरा नै नभई पुन: अलग भएका छन् । 


महन्थ पक्षले उपेन्द्रलाई साधारण सदस्यबाटै निकाल्यो 


महन्थ र राजेन्द्रसहित चार नेतालाई जसपाबाट हटाएकाे उपेन्द्र पक्षको घोषणा

प्रकाशित मिति: : 2021-06-01 16:18:00

प्रतिकृया दिनुहोस्