बर्दिबासको ब्यवस्त सडकमा तिहारको किनमेलले मानिसहरुको ठूलो भिड छ। कोही कपडा किन्न ब्यस्त छन भने कोही फलफूल, मिठाई किन्न व्यस्त देखिन्छन्।
तर, सडकको एउटा कुनामा बसेर ढुङगा कुदै दिनमा ८ सय रुपैयाँ कमाउने गौशाला निगौलका १६ बर्षीय सुरजकुमार थवइलाई भने न चाडपर्वको महत्व छ नत कुनै रमाइलो नै। थवइलाई एउटै चाहना रहन्छ कि त्यही किनमेल गरेर फर्किएका बटुवाहरुले आफूले बनाएको जातो र सिलौटा किनिदिउन।
ढुङगा कुदेर सिलौटा, जातो बनाउने सुरज मात्र हैनन उन्की ५० बर्षीया आमा राधादेवी थवइ, दिदी कवितादेवी र मामा सुनिल कुमारको पनि उस्तै चाहना छ। कहिले काहीँ उनिहरुले बनाएको सुन्दर जातो र सिलौटा महिनौसम्म बिक्री हुँदैन। जातो, सिलौटा बेचेर नै जिविकोपार्जनको माध्यम बनाएका थवइ परिवारले कयौँ छाक खाना समेत नखाएको नमिठो सम्झना छ।
बर्दिबासको पूर्व जाने पिपलको आडमा बसेर ढुङगा कुद्दै बिहान, बेलुका छाक टार्दै आएका उनिहरुको बस्ने कोठा पनि छैन। घुमन्ते, फिरन्ते जस्तै उनीहरु जहाँ बढी व्यापार हुन्छ त्यही जान्छन। कहिले सर्लाही, कहिले महोत्तरी जस्ता ठाउँमा घुमेर दिनभरी ढुङगा कुदेर बनाएको सिलौटा बेच्नु पर्ने थवइ परिवारको बाध्यता छ।
बिरगञ्जबाट गौशाला नगरपालिकाको निगौलमा आएर यो परिवारले झण्डै १८ बर्ष व्यापार गर्यो। सरकार भूमिहिन, सुकुम्बासीहरुलाई जग्गा तथा लालपूर्जा वितरण गरेर भूमिपती बनाउने भाषण लगाएर थाकेको छैन।
तर, यो मजदुरी गर्ने परिवारको न जग्गा छ न कुनै बस्ने ठेगाना नै। नेपाली नागरिक भएता पनि पहिचान बिहिन नागरिकताको प्रमाणपत्र बोकेर उनीहरु अहिले सर्लाहीको बागमती किनारबाट ढुङगा ल्याउछन अनि सुन्दर सिलौटा र जातो कुदेर बेच्ने पर्खाइमा बस्छन।
हुन त थवइ परिवारको यो परम्परागत पेशा नै हो। सुरजका बुवा र हजुरबुवाले समाहाल्दै आएको सिलौटा र जातो बनाउने कला अहिले परिवारका हरेक सदस्यले निरन्तरता दिएका मात्र हुन। तर, समाज यान्त्रिकरण हुँदा अहिले जातोको सट्टा आधुनिक पिस्ने हाते मेसिन आएका छन, सिलौटाको सट्टा मसला पिस्ने भान्से औजार निर्माण भएका छन। जस्को फलस्वरूप थवइ परिवारलाई जीविकोपार्जन गाह्राे परेकाे छ।
सुरज कि ५० बर्षीया आमा राधादेवीले २० बर्षअगाडि यही जातो र सिलौटा बनाएर जिविकोपार्जन मात्र हाेइन केही पैसाको जोहो गरेको सम्झना छ।
उनका छोरा सुरजको पनि अन्य कुनै सीप छैन। कमाउन बाहिर पठाउन पैसा छैन। १६ बर्षीय सुरजलाई पनि यस्तै लाग्छ कि अब यो पेशाबाट बाँच्न गार्हो छ।
२०५६ सालदेखी नै सरकारले भूमी आयोग बनाएर भूमिहिन, सुकुम्बासीहरुको लागि जग्गा तथा लालपूर्जा वितरण गर्ने गृहकार्य गर्यो तर लालपूर्जा हुनेखाने, सम्भ्रान्त बर्गले पाए थवइ जस्ता गरीवले न जग्गा पाए न लालपूर्जा नै। यतिसम्म कि सरकारबाट उनीहरुले सहानुभूति समेत पाउन सकेनन।
कोरोना माहामारीको पीडा सबैभन्दा बढी यही बर्गले भोग्नुपर्यो। महामारी कै कारण कयौँ मजदुरले काम गुमाए, थवइ जस्ता परिवारले कला थन्क्याए र राहतको पर्खाइमा कयौ दिन भोकै बसे तर थवइ परिवार सधै ओझेलमा नै परे।
कोरोना महामारीमा कयौँ रात पानी मात्र पिएर सुतेको राधादेवीको अनुभव छ। हातमा ठेला उठाएर बनाइएका सिलौटा, जाताहरु त्यतिकै थन्क्याउन बाध्य बन्दा रोगभन्दा भोकले मर्ने अवस्था आएको उनी बताउँछिन्।