सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन्।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीको उक्त कदम यसअघि पुस ५ को प्रतिनिधि सभा विघटनविरूद्ध ६७ दिनसम्म गरिएको संवैधानिक कानुनी र राजनीतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको फागुन ११ गतेको फैसलाविपरित भएको उनले बताए।
‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मूलतः हिजो मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, सभामुख सापकोटाले विज्ञप्ति सार्वजनिक गर्दै भने, ‘यो कदम २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनीतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ।’