राष्ट्रियसभाको उम्मेद्वारबारे केपी ओली र माधव नेपालले आजै छलफल गरी निष्कर्ष निकाल्नुपर्छ: अरुण नेपाल  

एमालेको पोलिटव्युरो सदस्य एवम् वागमती प्रदेशसभा सदस्य अरुण नेपालले राष्ट्रियसभाको भोलि हुने निर्वाचनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले छलफल गरी छिटो टुङ्गो लगाउनुपर्ने बताएका छन्। उनले पार्टीका दुई नेताले यो विषय टुंगो नलगाएका कारण आफूजस्ता प्रदेशसभा सदस्यहरु अप्ठेरोमा परेको बताए। 

‘एमालेभित्रको अहिलेको समस्या हामीले हाम्रो तहबाट सिर्जना गरिएको होइन, त्यसैले हाम्रो तहबाट समाधान पनि निस्कँदैन। त्यसैले एमालेका मतदात हेटौँडा गएर मत हाल्नुअघि नै तत्कालै अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बसेर टुङ्गो लगाउनुपर्छ’, एमाले पोलिटब्युरो सदस्य नेपालले भने।

नेपालले आफू एकताबद्ध एमालेको पक्षमा रहेको बताउँदै पार्टी एकतालाई कमजोर पार्ने गतिविधि अब गर्न नहुने पनि बताए। ‘पार्टीलाई एकताबद्ध बनाउन कार्यदल गठन भएर काम अघि बढेको छ, यस्तो बेलामा एकतालाई कमजोर बनाउने गतिविधि गर्न हुँदैन’, उनले भने। 

‘खिमलालजी पनि हाम्रै पार्टीको मान्छे हो। उहाँले फरक परिस्थितिमा उम्मेद्वारी दर्ता गर्नुभयो’, बिएल नेपाली सेवासँग कुरा गर्दै नेपालले भने, ‘अहिले परिस्थिति बदलिएको छ। त्यसैले यो विषय दुई जना नेता बसेर आजै टुंगो लगाउनुपर्छ।’

प्रदेशसभाको बिहीबार हुने निर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापाविरुद्ध कांग्रेस प्रस्तावक र माओवादी समर्थक रहेर स्वतन्त्र उम्मेद्वारको रुपमा खिमलाल देवकोटा मैदानमा उत्रिएका छन्, जसलाई एमालेकै ‘समानान्तर समूह’ का नेता माधव नेपालले समर्थन जनाएका छन्। 

नेपालको सचिवालयले बुधबार वक्तव्य जारी गर्दै आफ्नो समर्थन बादललाई नरहेको प्रष्ट पारेका थिए। नेपालले आफैँले पहल गरेर कांग्रेस र माओवादीकेन्द्रको समर्थन जुटाएर देवकोटाका उम्मेद्वारी दर्ता गरेकाले अहिले बादललाई समर्थन गर्न नसक्ने बताएका थिए।

एमाले अध्यक्ष ओलीले बुधवार एक अपील जारी गर्दै पार्टीका सबै मतदातालाई एमालेका उम्मेद्वार बादललाई मत दिन अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो। यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्।’ 

एमाले महासचिव ईश्वर पोखरेलले मंगलवार नै सूर्य चिन्हबाट जितेका सबै जनप्रतिनिधिलाई ‘सूर्य’ चिन्ह लिएर उठेका बादललाई मत हाल्न ‘ह्विप’ जारी गरिसकेका छन्।

एमाले एकताबद्ध हुने दिशामा अघि बढिरहेका बेला राष्ट्रियसभा सदस्यको उम्मेद्वारको विषयले पुनः विग्रह बढाउन नहुने नेपालको भनाइ छ। 

एक अर्को प्रश्नमा नेपालले भने, ‘एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओली नै हो। अरु कोही पनि अध्यक्ष वा अध्यक्ष सरह होइन।’

उनले माओवादी छाडेर एमाले प्रवेश गरिसकेका रामबहादुर थापा ‘बादल’ सहितका नेताहरुलाई स्वीकार्नुपर्ने पनि बताए। ‘के अब एमालेले राष्ट्रियसभा निर्वाचनमा २५ वर्षपछि पुनः बोगटी प्रकरण दोहो¥याउन खोजेको हो ?’ भन्ने प्रश्नमा नेपालले भने, ‘त्यसो गरिनु हुँदैन। त्यही कारण अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल बसेर यो विषय आजै समाधान गरिनुपर्छ।’

प्रकाशित मिति: : 2021-05-19 16:14:00

प्रतिकृया दिनुहोस्