केपी ओलीलाई  प्रधानमन्त्री नबन्नुस् भनेर हामीले भनेकै छैनौँ : सुरेन्द्र पाण्डे, एमाले नेता

एमाले नेता सुरेन्द्र पाण्डेले आफूहरु केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्नका लागि बाधक नरहेको बताएका छन्। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पाण्डेसहित एमालेको ‘समानान्तर समूह’ का चार जना नेतामाथिको कारवाही फुकुवा गरेका बारे कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘यो कारवाहीे फुकुवाले उहाँलाई फेरि प्रधानमन्त्री बनाउन सहज होला त ?’ भन्ने बिएल नेपाली सेवाको प्रश्नमा उनले भने, ‘केपी ओलीलाई  प्रधानमन्त्री नबन्नुस् भनेर हामीले भनेकै थिएनौँ ।’

‘तपाईंहरुले नै विश्वासको मत दिन अनुपस्थित भएर प्रधानमन्त्री ओलीलाई अहिलेको अवस्थामा पुर्याउनुभएको होइन ?’ भन्ने अर्को जिज्ञासामा उनले भने, ‘त्यो त प्रधानमन्त्रीको केसभन्दा पनि पार्टी अध्यक्षको हिसाबले जुन किसिमको कारवाही या अरु प्रक्रिया, पार्टीलाई एकताबद्ध बनाउन नखोजेको पक्ष, जेठ २ मा फर्किन नखोजेको पक्ष– यी सब कुराको विषयमा यो अन्तर्विरोध बढ्दै गएर त्यहाँ आइपुगेको हो।’

‘पहिला कारवाही भन्नुभो, त्यो उचित थिएन’, उनले भने, ‘त्यसबाहेक २७ जना मान्छेलाई स्पष्टीकरण सोधिएको थियो, थिएन र ? त्यो हामीले केही गरेर भएको थिएन । आखिर त्यसको अर्थ रहेनछ ।’


माधव नेपाल समूहले राजीनामा गरे पनि ओली सङ्कटमा नपर्ने, राजपा एकजुट भएर समर्थन नगरेसम्म देउवा प्रधानमन्त्री बन्न सङ्ख्या नपुग्ने

उनले अगाडि भने, ‘अस्ति कारवाही गरेर हामीलाई हटाइदिएको भए त सरकार जाने रहेछ नि त ! सरकार हटाउने बाटोमा त त्यो कारवाहीले नै काम गरेको रहेछ । उहाँ त्यो गलत बाटोमा लाग्नु भएको रहेछ । त्यो कारवाही गलत थियो भन्ने त आजको निर्णयले प्रमाणित गरेको छ।’ ‘राजनीतिक मुद्दालाई कारवाहीले हल गर्दैन, राजनीतिक ढंगले मात्र समाधान गर्छ, प्राविधिक हिसाबले हुँदैन’, उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाउन पछाडि हट्ने जुन कुरा छ, यो अन्तिम गन्तव्यसम्म पुग्यो भने यसले नेपालको कम्युनिष्ट आन्दोलन, एमाले र यसका सम्पूर्ण कार्यकर्ता र जनता भन्ने जो यो नफुटोस् भन्ने चाहन्छन्, त्यसलाई हौसला प्रदान गर्छ। यो त्यसतर्फको एउटा सानो कदम हो ।’ 

‘अब तपााईंहरु सांसद्बाट राजीनामा दिनुहुन्छ कि दिनुहुन्न त ?’ भन्ने प्रश्नको भने उनले जवाफ दिन चाहेनन्। भने, ‘अहिले सुरुको अध्यायमा छौँ, एकैपटक अन्तिम अध्यायमा नजाऊँ ।’


नेपाल, रावल, पाण्डे र भुसालमाथिको कारवाही फिर्ता लिने एमालेको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि गरेको कारवाही फुकुवा जुन गर्नुभएको छ, यसले एमालेभित्रको सङ्कटलाई कत्तिको हल गर्छ ?
हामीले कारवाही लगत हो भन्दै आएका थियौँ । कारवाही गर्नेले कारवाही फिर्ता लिएको भनेपछि त्यसलाई सकारात्मक नै मान्नुपर्यो नि ! त्यस मानेमा म सकारात्मक नै छु । कारवाही गलत थियो भन्ने प्रमाणित भएको छ । 

प्रकाशित मिति: : 2021-05-13 14:18:00

प्रतिकृया दिनुहोस्