नेपाल पक्षको नयाँ प्रस्ताव- सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएर वाम-गठबन्धनलाई निरन्तरता दिऊँ 

एमालेभित्रको माधवकुमार नेपाल समूह प्रधानमन्त्री केपी शर्मा ओलीको साटो एमालेकै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई प्रधानमन्त्री बनाएर वामपन्थी सरकारलाई नै निरन्तरता दिनसकिने धारणा अघि सारेको छ।

त्यसो भएमा नेपाल समूह पनि एमालेमै फर्केर काम गर्न तयार हुने र माओवादीकेन्द्र समेत सरकारमा आउने अनि वाम–गठबन्धन सरकारले निरन्तरता पाउने तर्क उक्त समूहको छ।

एमालेको ‘समानान्तर समूह’ का एक नेताले दिएको जानकारीअनुसार, ओलीको विकल्पमा विनम्र स्वभावका नेता नेम्वाङलाई प्रधानमन्त्री बनाउने हो भने सो समूह पनि समर्थन गर्न तयार हुनेछ। अनि ओलीलाई हटाउन सफल भएको भनेर माओवादी केन्द्र र नेपाल समूहले पनि ‘विजयी’ महसुस गर्ने हुनाले ‘विन–विन’ को अवस्थामा फेरि ‘वाम गठबन्धन’ लाई निरन्तरता दिनसकिने उक्त समूहको तर्क छ।

उक्त प्रस्ताव ०७५ फागुन ११ को अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि पनि तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई गरिसकेको प्रस्ताव हो तर दिलोज्यानले लाग्दा समेत ओलीलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नसकेपछि ओलीलाई हटाउन सकिन्छ कि भनेर चालिएको अर्को कदमका रुपमा एमालेको संस्थापन पक्षले बुझेको छ।

‘सके प्रचण्डलाई नै प्रधानमन्त्री बनाए भइगो नि ! किन सुवास नेम्वाङ भनेर खेल खेल्न खोज्नु ? उहाँहरुले त ओली ढालियो भनेर प्रचण्डलाई नै प्रधानमन्त्री बनाइयो भनेर लड्डु नै खाइसक्नुभएको होइन ?’, एमाले संस्थापन पक्षका ती नेताले भने, ‘राजीनामा गरेर पनि देउवालाई बनाउन नसक्ने भएपछि आएका यस्ता कुतर्कले कुनै अर्थ राख्दैन।’

प्रधानमन्त्री ओलीले भने नेपाल पक्षबाट आउने प्रस्तावहरु प्रचण्ड–नेपालको साझा रणनीतिका रुपमा बुझ्ने गरेका छन्। त्यसैले अहिले निकासका लागि भनेर अघि सारिएको यो रणनीति ओलीलाई सत्ताबाट हटाउन कुनै उपाय नलागेपछि आएको सो समूहको बुझाइ छ।



फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन्: घनश्याम भुषाल

कांग्रेस-माओवादी गठबन्धनमा जसपा सामेल हुँदैन, उपेन्द्र यादवमाथि कारवाही हुन्छ: राजेन्द्र महतो (अन्तर्वार्ता)

केपी शर्मा ओलीको दोस्रो र तेस्रो विकल्प पनि उहाँ नै प्रधानमन्त्री हो : लक्ष्मणलाल कर्ण (भिडियो अन्तर्वार्ता)

प्रकाशित मिति: : 2021-05-12 13:36:00

प्रतिकृया दिनुहोस्