वीरेन्द्रकुमार शाह, २५। सानैदेखि कोमल हृदयका थिए। उनी कसैको दुख देख्न सक्दैन थिए। सानोमा पत्रकार नभए वकिल बन्ने ठूलो रहर थियो उनको।
सामाजिक काम गर्ने र अन्यायमा परेका गरिब दुःखीको सेवा गर्ने सपना बुनेका थिए, उनले। नभन्दै वीरेन्द्रको सपनाले आकार लिन थाल्यो, जव उनी कक्षा–४ मा सुगाहाट माविमा अध्ययनरत थिए, हसन्दह बाल क्लबमा आबद्द भएर विभिन्न कार्यक्रममा सरिक हुन थाले।
वीरेन्द्रको काम देखेर सबैले उनलाई सहयोग गर्थे। बाल क्लब सन्जालका अन्य साथीको पनि उनलाई साथ र सहयोग प्राप्त हुन्थ्यो। नयाँ कार्यसमितिमा उनलाई अध्यक्ष पनि बनाइयो। वीरेन्द्र अध्यक्ष हुँदा बालबालिकाको क्षेत्रमा निकै काम गरेको उनका साथी प्रकाश भण्डारी बताउँछन्, ‘वीरेन्द्रले दिनरात नभनि बालबालिकाको हकहित र बाल अधिकारको क्षेत्रमा सधै आवाज उठायो।’
वीरेन्द्र कक्षा–६ मा अध्ययनरत रहँदा ईटहरामा भर्खरै नयाँ रेडियो स्टेसन रेडियो सुनाखरी खुलेको थियो। वीरेन्द्रलाई पनि उक्त रेडियोमा काम गर्ने इच्छा जाग्यो तर तालिम लिने पैसा नहुँदा उनको इच्छा त्यही तुहियो। भनिन्छ नि, जब एउटा सपना देखिन्छ। त्यसलाई पुरा गर्न लागि पर्यो भने असम्भव केही हुदैन।
यो उदाहरणलाई सत्य सावित गरे, वीरेन्द्रले। उनी गाउँघरमा सन्जालन हुने सानोतिनो कार्यक्रममा उद्घोषकको रुपमा प्रस्तुत हुन थाले। आखिर एक दिन आयो, जब उनले रेडियोमा कार्यक्रम सन्जालन गर्ने आफ्नो सपना पुरा गरे।
उनको सपना पुरा गर्न तात्कालिन रेडियोका प्राबिधिक रेवन जिमी लागि परे। उनले प्रबन्ध निर्देशक युवराज पौडेललाई वीरेन्द्रको सिफारिस गरेका थिए।
वीरेन्द्र रेडियोमा कार्यरत रहदा समाजमा रहेका धेरै असहायको सहयोगमा जुटे। उनले बालबालिकाको प्रतिभा उजागर गर्न विभिन्न कार्यक्रमको आयोजना समेत गरेका थिए। वीरेन्द्रको काम, मिहिनेत र मिजासिलो स्वभावको चर्चा सबैतिर हुन थाल्यो।
उनै वीरेन्द्रले आफ्नो पहिलो एकल गीति एल्वम ‘मन’ बजारमा ल्याए। एल्वमको चर्चा देश–विदेशमा बस्ने नेपाली माझ हुन् थालेको छ। वीरेन्द्रले अन्जु पन्तको आवाजमा रहेको गीतको म्युजिक भिडियोमा अभिनय गरेको कुरा पनि कमैलाई मात्र थाहा छ। किनकी त्यो भिडियो त्यति चलेन।
वीरेन्द्रले क्रमश दोस्रो एकल गीति एल्वम साया पनि वजारमा ल्याए र अन्य धेरै फुटकर गीत ल्याए। उनी एक कुसल निर्देशक पनि हुन्। उनले १४ म्युजिक भिडियो र छोटो चलचित्रमा निर्देशन र मोडलिङ गरेका छन्। वीरेन्द्र देशका विभिन्न ठाउँमा हुने महोत्सव,मेला, कार्यक्रममा कार्यक्रम प्रस्तोताको रुपमा आफ्नो छुट्टै परिचय बनाउन सफल भइसकेका छन्। उनलाई प्राय कार्यक्रममा उद्घोषण गरेको देख्न सकिन्छ।
उनले हालै मात्र सबैको सहयोगमा रंगेलीकी स्तन क्यान्सर पिडित मन्दिरा गुरुङ र सुनबर्शी नगरपालिका कि क्यान्सर पिडित शुशिला मुर्मुको सफल उपचार गराइसकेका छन्। सामाजिक कार्यमा आफ्नो जीवन सुम्पिसकेका वीरेन्द्र भन्छन्, ‘हामीले सकेको सहयोग सदैव गरिब असहायलाई गर्नुपर्छ।’
उनी अहिले एउटा फाउन्डेशन बनाएर असहाय गरिबको सेवामा लाग्ने योजनामा छन्। बहुप्रतिभाका धनी युवा वीरेन्द्र गीतकार, निर्देशक, सन्चारकर्मी, मोडल, कार्यक्रम प्रस्तोता र सामाजिक अभियन्ता हुन्।