समाजमा सुवास छर्दै दृष्टिबिहीन उमेश (भिडियाेसहित)

सिन्धुपाल्चोकको चौतारामा ४३ वर्षअघि जन्मिएका उमेश थापा २२ वर्षको उमेरमा दृष्टिबिहीन भए। काम गर्ने घरको छतबाट खसेर आँखाको ज्योति गुमाउनु परेको उमेशले सुनाए।

त्यो जीवनलाई अँध्यारो सुरुङभित्र प्रवेश गराउने उक्त दुःखद् दुर्घटनाकाे उमेशले स्मरण गरे, ‘गर्मीको मौसम थियो, छतमा हावा खान भनेर बसिरहेको थिएँ, त्यहीँबाट खसेर भुइँमा पछारिँदा दुवै आँखा फुटे र दृष्टिबिहीन भएँ।’

आँखा देख्दासम्म उमेश सबैको प्याराे थिए। आँखाको ज्योति गुमेपछि उमेश कामबिहीन भए। उनी आफन्तका लागि पनि पराइ हुन थाले।

‘मैले आँखा गुमाएपछि आफन्तले पनि मलाई हेप्न थाले। म उनीहरूका लागि बढी भएँ’, बिगत सम्झिँदै उमेशले भने, ‘मैले कसैको साथ सहयोग पाइनँ।’

आफन्तको हेलामा परेका उनी अपाङ्गका क्षेत्रमा काम गर्ने संघ–संस्था धाउन थाले। संस्थामा जाने  क्रममा उनको भेट आफूजस्तै धेरै ‘फरक क्षमता’ का मानिससँग भयो। त्यसबाट उनमा केही हौसला बढ्दै गयो। ‘मजस्ता धेरै रहेछन् भनेर मन बुझाएँ’, उनले बिएल नेपाली सेवासँग भने।

मात्र एक कक्षा पढेका उनले संस्थामार्फत् पढ्ने मौका पाएको सुनाउँछन्। ‘आँखाको ज्योति हुँदा पढ्न सकेको थिइनँ तर ज्योति गुमेपछि पढ्ने मौका पाएँ’, उनले भने।



टेम्पो चालिका भन्छिन्–‘पहिले हिरोइन बन्ने सपना थियो, अब ठूला सवारी चलाउने मन छ’



अनेक संघ–संस्थामा जान थालेपछि काममा सक्षम हुँदै गएको बताउँदै उमेश भन्छन्, ‘संस्थामा सिकाएको काम सिक्न सफल भएँ।’

आफूसँगै अरू पनि बेरोजगार भएका कारण उनले केही गरेर सबैलाई रोजगारी सिर्जना गर्ने सोच बनाए। अपाङ भएकालाई काम दिने उद्देश्यले उनले मैनबत्ती बनाउन थाले, जहाँ आफूजस्ता धेरैलाई रोजगारी दिए।

‘मैले गुणस्तरीय सामान बनाएँ तर लगानी पनि उठेन, आम्दानी भएन त्यसैले ६ महिनापछि मैनबत्ती बनाउने काम छोडेँ’, उनले भने।

त्यसपछि पनि उमेश त्यसै बसेनन्। उनले पुनः अगरबत्तीको उद्योग खोल्ने योजना बनाए। उनले आफूसरहका व्यक्तिसँगै धूपमा वास्ना दिने काम सुरू गरे। उनले धूपलाई बास्ना दिने काम पनि संस्थामा नै सिकेका थिए।

‘मैले बनाएको योजनामा केही साथीले सहयोग गर्नुभएको थियो’, उनले भने, ‘त्यसैबाट थप हौसला मिल्यो। एक्लैले मात्र त कहाँ गर्न सकिन्थ्यो र!’

उनी सुरू–सुरूका दिनहरूमा आफैँ धूप बेच्न जाने गर्थे। तीन वर्ष काम गरेपछि उनी निकै व्यस्त भए। अनि धूप बेच्न अरूलाई पठाउन थाले। ‘मैले गरेको कामको चर्चा तीन वर्षपछि मात्र पाएँ’, उनले भने।

कामबाट प्रशंसा पाएका उनमा बिस्तारै थप साहस बढ्दै गयो। ‘मैले गरेको काम सबैले मन पराइदिनुभयो, त्यसैले काम गर्ने जाँगर बढ्दै गयो’, उनले भने।

अहिले उनको उद्योगमा काम गर्ने महिला पाँच जना छन्, जसले अगरबत्तीलाई बास्ना छर्किने काम गर्छन्। अनि एक सय दृष्टिबिहीनले बेच्ने गरेका छन्।



परिवारको असहयोगका बीच आफूलाई अब्बल महिला रेफ्री बनाउने अभियानमा जमुना



उनको कम्पनीमा बनाएको धूप अपाङ्गता भएकाले मात्र होइन, सबलाङ्गले समेत बेच्ने गरेका छन्। उनले दृष्टिबिहीन भएकालाई छुट्टै ‘दर’ राखिदिएका छन्।

‘मान्छेले आखाँ देख्दैनन् भनेर हेप्ने गर्छन्, मूल्य बढी लियो भन्छन्, त्यसैले हामी आफैँले नै उनीहरूले बेच्ने धूपमा मूल्य लेखिदिएका हुन्छौँ’, उनले भने।

समाजले अपाङ्गता भएकालाई हेप्दा नराम्रो लागेको उनी बताउँछन्। ‘हामी जस्ताले केहीँ गर्न सक्दैन भनेर सोच्छन् तर हामीले गर्न सक्छौँ। कत्ति गरेका पनि त छौँ नि !’ उमेश दुःखेसो पोख्छन्।

आफू दृष्टिबिहीन भएपछि समाजको हेपाइ झेल्न बाध्य भएको उनी बताउँछन्। ‘मैले धूप बनाउँदा बास्ना आउँछ तर यहाँका मानिसलाई गन्हाउँछ रे ! घर वरपर फोहोर हुँदा उहाँहरूलाई केही नहुने अनि अगरबत्तीको बास्ना चाहीँ गन्हाउने ?’, उनले प्रश्न गरे।

आफूले गरिरहेको कामबाट सन्तुष्ट रहेको उमेशले बताए। ‘मैले गरेको काममा म धेरै खुशी छु, अरूलाई पनि काम दिएर खुशी बनाउन सकेकै छु, त्यो बाहेक के नै चाहिन्छ र !’ उनले सुनाए।

आखाँको ज्योति गुमाएपछि सबैको हेलामा परेका उनी आजकाल कामकै कारण सबैकाे प्रिय बन्न सफल भएका छन्।

‘काम गरेपछि सबैको वाह–वाहीमा पर्न थालेँ’, समाजले अपाङ्गलाई नकारात्मक व्यवहार गर्ने गरेको बताउदैँ भने, ‘तर अझै पनि हामीलाई मान्छे गन्दैनन्, त्यसमा दुःख लाग्छ।’

समाजले अपाङ्गता भएकाहरूलाई समेत सकारात्मक र सम्मान रूपमा हेर्नु जरूरी रहेको उनको भनाइ छ।



'महिला स्वास्थ्य स्वयंसेविका' उप-मेयर (भिडियो)

महिलाको साहारा बन्दै 'एकल महिला समूह' (भिडियो)

प्रकाशित मिति: : 2021-04-26 13:47:00

प्रतिकृया दिनुहोस्