बिएल संवाददाता
गत वर्ष उनले फुटबल खेलबाट विश्राम लिइन्।
खेल्न छोडेर खेलाउन थालिन्। देशभित्र हुने फुटबल प्रतियोगितामा ७ वर्ष आफ्नो खुट्टा झोसेपछि उनले एक्कासी विश्राम लिएकी हुन्। तर, खेल क्षेत्रबाट टाँढिन सकिनन्।
उनी चाहन्थिन्-खेलकुदमा आफ्नो छुट्टै स्थान बनाउने।
त्यसैले खेल्न छोडे पनि कोरोना महामारीका बीच उनले रेफ्रीको ट्रेनिङ लिइन्। हाल उनको परिचय फेरिएको छ- महिला फुटबल खेलाडीबाट रेफ्रीको भूमिकामा।
उनी अर्थात जमुना आले मगर। जो एक दशकदेखि फुटबलमा आवद्ध छिन्। उनको सानैदेखि इच्छा थियो- राष्ट्रियस्तरको खेलाडी बन्ने।
फुटबल खेलेर नाम कमाउने। बढ्दो उमेरका कारण उनको त्यो चाहना त पुरा हुनसकेन तर रेफ्री बनेर मैदानमा राष्ट्रिय खेलाडीको गल्ती औल्याउँदै छिन्।
फुटबल खेल्न उमेरले धेरै अर्थ राख्छ। तर, फुटबल खेलाउन उमेरभन्दा पनि फिटनेश आवश्यक पर्छ। जमुनासँग प्रचुर फिटनेश छ। त्यसैले उनी गोजीमा रातो र पहेँलो गरी दुईवटा कार्ड बोकेर खेलाडीसँगै मज्जाले मैदानभित्र नाचिरहेकी देखिन्छिन्।
उनको तर्क छ- फुटबल खेल्नुभन्दा खेलाउन सहज हुनेगर्छ। खेल्दा प्रायः खेलाडीलाई नियम कानुन याद हुँदैन। तर, फुटबल खेलाउन कायदा कानुन याद हुनुपर्ने अनिवार्य सर्त हो।
‘मैदानभित्र हुँदा मलाई छुट्टै आनन्द लाग्छ। त्यसैले खेलाडीबाट विश्राम लिए पनि मैदान त्याग्न नसकेकी हुँ,’ बिएल नेपाली सेवाको जिज्ञासामा उनी भन्छिन्।
मोरङको शनिश्चरे स्कुल पढ्दै गर्दा उनलाई पहिलो पल्ट फुटबलप्रति चासो बढेको हो। ‘बुद्ध हाइयर सेकेन्डरी स्कुल’ मा अध्ययनरत रहँदा उनी खेलकुदको सबै गतिविधि नियाल्न मैदानमा जान्थिन्। कलिलो उमेरमा अरूले खेलेको देख्दा उनलाई पनि खुट्टाले बल हुँइक्याउन मन लाग्थ्यो। तर घरपरिवारको डरले आफ्नो इच्छा मनमा दबाएर राखिन्।
उमेर बढ्दै गएपछि उनले फुटबलप्रतिको आफ्नो मोह मार्न सकिनन्। कक्षा ९ मा पढ्दा ‘जे सुकै परोस् फुटबल खेल्छु’ भनेर अठोट गरिन्। यतिबेला उनको उमेर १५ वर्ष थियो। परिवारले उनको निर्णय सहर्ष स्विकार्ने कुरै भएन। गाली गर्न थाले।
‘उहाँहरू त छोरी भएर फुटबल खेल्ने भन्न थाल्नुभयो। गाउँ छिमेक पनि उस्तै,’ २३ वर्षीय जमुनाले पुरानो कुरा सम्झिन्। चार दाजु र ६ दिदीकी कान्छी बहिनी भएको कारण उनी सानैदेखि अलि जिद्दी थिइन। त्यसैले घर र समाजको वेवास्ता गर्दै ट्रेनिङमा निस्किइन।
उनलाई फुटबलको पहिलो ज्ञान विक्रम धिमालले दिएका हुन्। ट्रेनिङमा जानुअघि उनी बुवा इन्द्रबहादुरलाई खेतीपातीमा सघाउँथिन्। तर, दाजुहरू कमाउन वैदेशिक रोजगारीमा हिँडेपछि उनलाई ट्रेनिङ गर्न गाह्रो पर्याे। त्यही पनि उनी घरमा सबैलाई चक्मा दिएर अभ्यासका लागि फुटबल मैदानमा पुगिसक्थिन्।
ट्रेनिङको समय बढ्दै जाँदा उनको घर छिर्ने समय पनि ढिलो हुन थाल्यो। यो कुराबाट रिसाएका बुवाले एकदिन मर्नेगरी भकुरे।
‘फुटबल खेलेको कारण मैले थुप्रै कुटाई खाएको छु। तर पनि घरबाट भागेर फुटबल खेल्न छोडिन। मेरो दिमागमा जतिबेला पनि बल घुम्थ्यो,’ उनी भन्छिन्।
२०६९ सालमा पहिलो पटक ‘कोकाकोला कप’ मा प्रतिस्पर्धा गर्दा उनको स्कुल उपविजेता बन्यो। यसले उनमा आत्मविश्वास मात्र बढाएन, फुटबलमा लाग्न थप प्रोत्साहित गर्याे।
खेलप्रति अनुदार परिवारले उनलाई कहिल्यै साथ दिएन। यो कुराको उनलाई आजीवन दुःख रहनेछ। आमा धनकुमारी भन्ने गर्थिन्-‘छोरी मान्छे भएर बाहिर धेरै हिँड्नु हुँदैन, फुटबल खेल्न छोडिदेउ।’
उनको खेल जीवनलाई लिएर घरमा दिनहुँ किचलो हुन्थ्यो। दाजुहरू भन्ने गर्थे-‘तलाई कति मेडल चाहिन्छ, त्यो किनेर दिन्छौं। खेल्न बन्द गरिदे।’
ती दिन आज सम्झिदा उनी भन्छिन्, ‘परिवारले फुटबल छोड्भन्दा मैले बरू मलाई मार, फुटबल छोड्न सक्दिन भन्थे।’ परिवारले फुटबल खेल्न उनलाई जति प्रतिबन्ध लगाउँथे, उनको यो खेलतर्फ उति नै मोह बढेर जान्थ्यो। त्यसैले धेरैपछि परिवारले पनि किचकिच गर्न छोड्यो।
फुटबलमा करिब एक दशक बिताउने क्रममा उनलाई अनुभव भयो, महिला खेलाडीका लागि नेपालमा खेल्न वास्तवमै चुनौतिपूर्ण रहेछ। न परिवार सहयोग छ, न राज्यको नीति नियम नै। ‘हामी महिलालाई रजस्वला हुँदा गाह्रो पर्छ। तर पनि खेल्न मैदानमा उत्रिन्छौं। टे«निङ पनि गर्छो,’ उनले भनिन्, ‘खेल भनेको एक किसिमको युद्ध हो। यहाँ कुनै क्षमा हुँदैन।’
उनी राज्यको नीति नियम महिला मैत्री बन्नसकेको खण्डमा महिला खेलाडीले अन्तर्राष्ट्रिय खेलकुदमा कमाल गर्ने बताउँछिन्। अझ् फुटबलमा त पुरुषभन्दा पहिले महिलाले विश्व कप खेल्ने उनको ठोकुवा छ। ‘वास्तवमा सम्बन्धित निकायले चासो दिएको खण्डमा महिलाहरू धेरै अगाडी जानसक्छन्,’ उनी भन्छिन्।
उनको अबको लक्ष्य छ, एन्फा रेफ्रीबाट फिफाको ब्याच लगाउने। यसका लागि उनी नियमित मिहिनेत गरिरहेकी छिन्।
फूर्तिलो स्वभावकी जमुना हालै काठमाडौंमा आयोजना भएको ‘स्पिन्ज एक्टिभ गर्ल २०२१’ को उपाधिबाट पनि सम्मानित भइन्।
पर्तिस्पर्धामा ३ सय ८० महिलाले भाग लिएका थिए। इनामबापत उनले यो स्पर्धामा एक लाख रुपैयाँ जितेकी थिइन।
उनी भन्छिन्, ‘यस्ता पुरस्कारले काम गर्न थप उर्जा दिन्छ।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया