ईश्वरी राई (इशु)
बुवा भारतीय आर्मीमा कार्यरत, आमा गृहणी। बिमला पराजुलीको जन्म भारतको बिहार, कटिहार शहरमा ४३ वर्षअघि भएको हो।
उनीमाथि तीन दिदी थिए। भाई त्यति नै संख्यामा। उबेला भारतीय आर्मीमा रहेका नेपालीको पनि छोरी पढाउने चलन थिएन। त्यसैले बिमलाले सुरुका दिन स्कुलको अनुहार हेर्न पाइनन्।
तर, भाइहरूको किताब लुकीलुकी पढेको देखेर बुवाले उनलाई ढिलै भएपनि स्कुल पठाए। उनी स्कुल जाँदा छिमेकीहरू आमालाई भन्ने गर्थे, ‘बेटी पढ्के क्या करेँगी। आखिर चुलाचौका हितो कर्ना हैं।’
यस्तो वातावरणका बीच बिमलाले भारतमा बसेर ८ कक्षासम्मको अध्ययन पुरा गरिन्। यसपछि उनलाई आमा–बुवाले धरानस्थित मामा घर पठाए। त्यही उनलाई बिहेको प्रस्ताव आयो। उनले १७ वर्षको उमेरमै आफूभन्दा १२ वर्ष जेठा धनकुटाका इन्द्रप्रसाद पराजुलीसँग बिहे गरिन्।
पढाईमा उनको चासो देखेर इन्द्रप्रसादले बिमलालाई १० कक्षासम्म पढाए। श्रीमान सप्तरी जिल्ला अदालतमा ‘सुब्बा’ पदमा जागिरे थिए। घर व्यवहार राम्रोसँग चलिरहेको थियो। मिजासिलो स्वभावका कारण बिमला छिट्टैनै घर समाजको प्यारी भइसकेकी थिइन।
तर दैवको लीला, उनी ३१ वर्षको हुँदा तीन सन्तान छोडेर श्रीमान परलोक लागे। यसले उनको जिवनप्रतिको बुझाई नै परिवर्तन भयो।
पहिले उनीसँग झुम्निे। केही प¥यो कि दौँडिदै आउने आफन्तहरू परपर हुन थाले। घर परिवारमा उनको महत्व घट्दै गयो। अझ समाजका लागि उनी हेलाको पात्र बनिन्।

एक दिन गाउँमा विवाहको उत्सव थियो। उनी पनि बिहेमा निम्त्याइएकी थिइन। विवाहको चहलपहल बढ्दै जाँदा उनी मण्डप नजिकै दनौरा ‘सेलरोटी’ पकाउँदै गरेको ठाउँमा पुगिन्।
त्यहाँ उनीमाथि ठूलो विभेद भयो। दनौरा पकाइरहेका महिलाहरूले उनलाई विधुवा भन्दै त्यहाँबाट बाहिर निस्किन आदेश दिए। कतिले विधुवाको अनुहार हेर्याे भने साइत बिग्रिन्छ भन्दै उनलाई लखेट्न खोजे।
यो दिन उनलाई मरेतुल्य भयो। रातभरी सुत्न सकिन्न। उनलाई पहिलो पल्ट श्रीमान नभएको महसुस भयो। यसपछि प्रण गरिन्, समाजमा एकल महिलासँग हुने विभेदविरूद्ध जुनसुकै मूल्य चुकाउनु परेपनि लड्ने।
‘यसपछि मैले एकल महिलालाई समाजले लगाउने आरोपबाट छुुटकारा दिलाउन ‘मानव अधिकारको लागि महिला, एकल महिला समूह’ को स्थापना गरे,’ विगत १२ वर्षदेखि सप्तरीमा एकल महिलाको हक अधिकारको वकालत गर्दै आइरहेकी बिमलाले बिएल नेपाली सेवासँग भनिन्।
वास्तवमा बिमलालाई बिहेमा भएको त्यही व्यवहारले परिवर्तन हुन कर लाग्यो। यसअघि उनी सबैलाई आफ्नो ठान्दै आइरहेकी थिइन। तर, चेतना भन्ने कुरा कति महत्वपूर्ण रहेछ, यसपछि थाहा पाइन्। ‘मलाई विवाहमा गरेको त्यस व्यवहारले साह्रै चित्त दुख्यो। त्यो दिन धेरै आँसु झारे, त्यति आँसु त श्रीमानको मृत्यु हुँदा पनि झरेको थिएन।’

सुरुका दिन उनलाई काम गर्न निकै गाह्रो पर्याे। सप्तरी जस्तो पुरुषसत्ताले अधिक गाँजेको ठाउँमा महिलालाई उनीहरूको हक अधिकारको विषयमा वकालत गर्नु चानचुने पक्कै थिएन। त्यही पनि उनी निरन्तर भिडिरहिन्। त्यतिबेला उनलाई अनिता देवकोटाले खुब सहयोग गरेकी थिइन।
ती दिन सम्झिदा अहिले पनि भावुक बन्ने बिमला भन्छिन्, ‘कसैले साथ दिन मानेनन्। अनिताले मात्र मेरो साथ दिनुभयोे।’
संस्थाको स्थापना गर्ने क्रममा उनको काममा भाँजो हाल्न समाजका अन्य गन्यमान्य मानिसहरू नआएका होइनन्। तर, उनले कसैको परवाह गरिनन्।
‘हामीले एकअर्कालाई रातो टिका लगाएर कामको सुरुवात गरेका थियौं। मलाई धेरैले श्रीमान बितेर पनि रातो टिका लगाउने भनेर गालीगलौज गर्थे,’ उनले भनिन्, ‘तर म मान्नेवाला कहाँ थिए। उनीहरूले जति नै हतोत्साही बनाउन खोजे पनि म डगिन्।’
उनले सुरुमा संस्था निर्माण गर्दा बस्नलाई गुन्द्री मात्र थियो। अहिले यसको शाखा ७७ जिल्लामा फैलिसकेको छ। निडरका साथ काम गर्ने क्रममा उनको भेट ‘लिली थापा’ सँग भएको थियो। जो काठमाडौंको ‘मानव अधिकारको लागि महिला, एकल महिला समूह’ कि संस्थापक हुन्। उनको हौसलाले बिमलालाई काम गर्ने उर्जा थपिएको थियो।

बिमलाले विस्तारै महिलाको समूह पनि बृद्धि गरिन्। उनीप्रति महिलाको विश्वास पनि बढ्दै गयो। सुरुका दिन उनको काम रोक्न राजनीतिक पार्टीका कार्यकर्ता पनि सक्रिय भए। ‘हामीे महिलाको मद्धत गर्न जान्थ्यौँ। तर पार्टीका मान्छेले हाम्रो बाटोमा खाल्डो खनेर अवरोध गथेँ’ उनी सम्झिन्छन्, ‘तर हामीले हार मानेनौँ। आफ्नो बाटो हिँड्न छाडेनौँ।’
सयौँ दुःखी महिलालाई समस्याबाट मुक्त गराउन सफल बिमला सप्तरीको ‘मानव अधिकारको लागि महिला, एकल महिला समूह’ कि संस्थापक हुन्।
दुःखी एकल महिलालाई समस्याबाट निकाल्न आफ्नो मात्र नभई, पूरै संस्थाको सहयोग रहने उनी बताउँछिन्। ‘म एक्लैले त्यो काम गरेको भए सम्भव हुँदैन थियो। तर मलाई संस्थाको साथ थियो। त्यसैले आज यो ठाउँमा छौँ’ उनले भनिन्।
अहिले ‘मानव अधिकारको लागि महिला, एकल महिला समूह’ मा ८० हजारभन्दा बढि सदस्य आवद्ध भइसकेका छन्।
संस्थाले अपहेलित महिलालाई न्याय दिलाउनका साथै विभिन्न पेशामा समेत लगाउने गरेको उनले बताइन्।
‘महिला भएर कसैको हेलामा बस्नु हुदैन, आफ्नो आवाज उठाउनु पर्छ’ दुःख सहेर बसेका महिलालाई उनी भन्छिन्, ‘नडराउनुहोस्। तपाईका लागि हाम्रो संस्था छ। आउनुहोस्। हामी न्याय दिलाउछौ, दुःख सहेर बस्नु हुँदैन। आफू बोलेन भने आफ्नो दुःख कहिल्यै हट्दैन।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया