०७२ सालको भूकम्पले ध्वस्त बनेकाे धरहराकाे नवनिर्माणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
प्रधानमन्त्री ओलीले शनिबार बिहान नयाँ धरहराको उद्घाटन गरेका हुन्।
धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको अनावरणपछि प्रधानमन्त्री ओलीले ढोकाको रिबन काटेर नवनिर्मित धरहराको उद्घाटन गरेका थिए।
२०७२ सालमा आएको भूकम्पले करिब दुई सय वर्षको इतिहास बोकेको धरहरा ध्वस्त भएको थियो।
१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले सर्वप्रथम धरहराको निर्माण गर्नलगाएका थिए। पहिलो पल्ट धरहरा निर्माण हुँदा ११ तला थियो। भीमसेनले यसको निर्माण महारानी त्रिपुरा सुन्दरीदेवीको सम्झनामा बनाउन लगाएका थिए।
भीमसेन थापाले आफ्नो कार्यकालमा यसलाई बनाउन लगाएको हुनाले धरहरालाई भीमसेन स्तम्भको नामले पनि चिन्न सकिन्छ।
१९९० सालमा आएको भूकम्पले पहिलो पल्ट धरहरा भत्किएको थियो। त्यतिबेला ११ तले धरहरा क्षतिग्रस्त हुँदा ९ तलमा झार्नु परेको थियो। तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाले धरहराको पुनःनिर्माण गराएका थिए।
यसपछि २०७२ मा पूर्णरूपले क्षतिग्रस्त बनेको थियो। ९ तले धरहरा भत्किनुअघि यसभित्र २ सय १३ सिँढी थियो। बाहिर २५ सिँढी भएको धरहरामा १ सय ८८ सिँढी उक्लिएपछि बार्दली आउँथ्यो भने यहीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलै देखिन्थ्यो।
धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिङ्ग थियो। टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिलेसमेत महत्त्वपूर्ण मानिन्थ्यो।
रमन कन्स्ट्रक्सनले ठेक्का पाएको नवनिर्मित धरहराको पुनःनिर्माणमा ३ अर्ब ४८ करोड बजेट बिनियोजन गरिएको थियो। हाल पुनःनिर्माणमा २ अर्ब १० करोड सकिएको प्राधिकरणले बताएको छ।
४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा वरिपरी बगैँचा, संग्रहालय, रंगिन जलफोहरा, प्रदर्शनी हल, पार्किङ स्थल, पसललगायत रहने छन्। धरहरा बाहिरबाट झट्टहेर्दा ११ तला लागे पनि भित्र भने २२ तलाको हुनेछ। यसको उचाई ७२ मिटर तथा ४८ फिटको बेस हुनेछ।
धरहरा परिसरमा पार्किङसहित रेष्टुरान्ट, बगैँचा, पुस्तकालयलगायत सुविधाहुने छन्। गोश्वारा हुलाक भएको स्थानमा पार्क बनाउनका लागि अहिले उक्त भवन भत्काइसकिएको छ।
पार्कभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछ। धरहरामा पढ्न चाहने, ध्यानगर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ।
काठमाडौँको साख फर्काउँदै आधुनिक धरहरा