काठमाडौँको साख फर्काउँदै आधुनिक धरहरा

कमल प्रभात

काठमाडौँ

धरहरा चढेर काठमाडौं नियाल्ने नेपालीहरूको रहर ६ वर्षपछि शनिबार पुरा हुँदैछ।

ऐतिहासिक धरहराको पुनःनिर्माण कार्य सम्पन्न भएसँगै  प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्।

२०७२ सालमा आएको महाभूकम्पले करिब दुई सय वर्षको इतिहास बोकेको धरहरा ध्वस्त भएको थियो। सर्वप्रथम धरहराको निर्माण कार्य १८८२ सालमा सम्पन्न भएको थियो।

धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले गर्न लगाएका थिए। पहिलो पल्ट धरहरा निर्माण हुँदा ११ तला थियो। भीमसेनले यसको निर्माण महारानी त्रिपुरा सुन्दरीदेवीको सम्झनामा बनाउन लगाएका थिए।

भीमसेन थापाले आफ्नो कार्यकालमा यसलाई बनाउन लगाएको हुनाले धरहरालाई भीमसेन स्तम्भको नामले पनि चिन्न सकिन्छ।सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो।

१९९० सालमा आएको भूकम्पले पहिलो पल्ट धरहरा भत्किएको थियो। त्यतिबेला ११ तले धरहरा क्षतिग्रस्त हुँदा ९ तलमा झार्नु परेको थियो। तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाले धरहराको पुनःनिर्माण गराएका थिए।

यसपछि २०७२ मा पूर्ण रूपले क्षतिग्रस्त बनेको थियो। ६ वर्षअघि ९ तले धरहरा भत्किनुअघि यसभित्र २ सय १३ सिँढि थियो। बाहिर २५ सिँढि भएको धरहरामा १ सय ८८ सिडी उक्लिएपछि बार्दली आउँथ्यो भने यहीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलै देखिन्थ्यो।

धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिङ्ग थियो। टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिलेसमेत महत्त्वपूर्ण मानिन्थ्यो।

नवनिर्मित भूकम्पको परिचय नयाँ हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ। रमन कन्स्ट्रक्सनले ठेक्का पाएको नवनिर्मित धरहराको पुनःनिर्माणमा ३ अर्ब ४८ करोड बजेट बिनियोजन गरिएको थियो। हाल पुनःनिर्माणमा २ अर्ब १० करोड सकिएको प्राधिकरणले बताएको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार पहिलाको धरहराभन्दा नवनिर्मित धरहराको चौडाइ ठूलो छ। त्यसमा दुई लिफ्ट पनि समावेश गरिएको छ। साथै यसमा एउटा परम्परागत भर्याङ पनि रहेको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनले जनाएकाे छ।

४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा वरिपरि बगैँचा, संग्रहालय, रंगिन जलफोहरा, प्रदर्शनी हल, पार्किङ स्थल, पसललगायत रहने छन्। धरहरा बाहिरबाट झट्टहेर्दा ११ तला लागे पनि भित्र भने २२ तलाको हुनेछ। यसको उचाई ७२ मिटर तथा ४८ फिटको बेश हुनेछ।

धरहरा परिसरमा पार्किङसहित रेष्टुरान्ट, बगैँचा, पुस्तकालयलगायत सुविधा हुनेछन्। गोश्वारा हुलाक भएको स्थानमा पार्क बनाउनका लागि अहिले उक्त भवन  भत्काइसकिएको छ।

पार्कभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछ। धरहरामा पढ्न चाहने, ध्यानगर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ। बालबालिका तथा ज्येष्ठ नागरिक मैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भइरहेको छ।

पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन धरहराले पक्कै पनि महत्व राख्नेछ। धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनाका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ।

त्यहाँ ३ सय ५० गाडी र ६ हजार मोटर साइकल पार्किङ गर्न मिल्ने छन्। उद्घाटन हुन लागेको धरहराको पुरै काम मंसिरमा सकिने बताइएकाे छ। 

प्रकाशित मिति: : 2021-04-24 07:19:00

प्रतिकृया दिनुहोस्