'अहिलेको मौनता तुफान आउनुअघिको सन्नाटा हो'
म्यान्मारको सैनिक–शासनको ज्यादतिका कारण त्यहाँका बासिन्दा ज्यान जोगाउन छिमेकी देशहरु भारत र थाइल्याण्डमा शरण लिन बाध्य हुँदैगएका छन्। यसरी भारत पुग्ने बर्मेलीमध्ये धेरै नेपालीभाषीसमेत रहेका छन्।
पछिल्लो समय बर्मेलीहरूमा गाउँ छाड्ने क्रम बढ्दो छ। गाउँमा रहेका पनि त्राशैत्राशमा बाँचिरहेका छन्। कयौँ बर्मेलीहरु जंगलमा समेत बसेर जीवन गुजारिरहेको स्थानीयले जानकारी दिएका छन्।
सेनाले ‘कू’मार्फत् गत माघ १९ गतेसत्ता–हत्याएपछि त्यहाँ जनआन्दोलन जारी छ। दिनहुँ हुने प्रदर्शन रोक्न देशका अधिकांश शहरमा ‘सैन्य कानून’ लागू गरिएको छ।
प्रदर्शनमा सहभागी बर्मेलीले म्यान्मारमा सहजताका साथ बाँच्ने वातावरण नभएको बताउँछन्। उनीहरूको दृढ अठोट छ– जतिसुकै सैनिक दमन भए पनि, जति नै गोली ठोके पनि प्रजातन्त्र र स्वतन्त्रता ल्याएरै छाड्छौँ। एक दिन सेना जनतासँग झुक्नैपर्छ।
सैन्य त्राशले शरणका लागि भारत प्रवेश गर्नेहरू एकाएक थपिएको भारतीय सीमा क्षेत्रका एक बर्मेली–नेपालीले बिएल नेपाली सेवालाई जानकारी दिए। उनीहरू म्यान्मार सीमा पार गर्दै भारतको मणिपुर, मिजोरम हुँदै असमसम्म पुगेका छन्।
एक साताको अवधिमा झण्डै पाँच सय बर्मेलीहरूले भारतका विभिन्न ठाउँमा शरण लिएको टमूनगर निवासी बर्मेली–नेपाली साहित्यकार सुधाले बताइन्। उनले भनिन्, ‘सेनाको बर्बर दमनले मानिसमा त्राश पैदा गरेको छ। उहाँहरूमा डरबाहेक केही छैन। धेरै डराउनेहरू अहिले भारततिर लाग्नुभएको छ।’
खुला सीमाको फाइदा उठाउँदै आफन्त र कतिपय परिवारका सदस्यहरू भएको ठाउँमा शरण लिन गएका छन्। म्यान्मार–भारत सीमाक्षेत्रमा बसोबास गर्ने नेपालीभाषीहरू पारिवारिक रुपमा भारतका मणिपुर, मिजोरमदेखि असमसम्म फैलिएको साहित्यकार सुधाको भनाइ छ।
टमूनगर केही दिनदेखि सुनसान छ। बाटो–घाटोमा देखिने प्रायः ज्येष्ठ नागरिक र सैन्य परिषदका सदस्य मात्रै हुन्छन्।
युवा र विद्यार्थीहरू म्यान्मारमा सबैभन्दा असुरक्षित हुँदै गएका छन्। प्रजातन्त्र पुनःस्थापनको पछिल्लो आन्दोलनमा समेत उनै युवा–विद्यार्थीहरूको ठूलो भूमिका छ।
टमूनगरका युवा पनि घरभित्रै बसिरहेको सुधाले बताइन्। उनी आफैँ पनि त्यस क्षेत्रको प्रदर्शनमा विद्यार्थीहरूको नेतृत्व गर्दैआएकी छन्। उनले भनिन्, ‘स्वतन्त्रताको आन्दोलन केही दिन रोकिएको छ। अग्रजहरुकाे सर-सल्लाह नआएसम्म टमूमा आन्दोलन गर्दैनौँ। तपाईं यो बुझ्नुहोस् कि अहिलेको मौनता तुफान आउनुअघिको सन्नाटा हो।’