ब्राजिललाई उछिन्दै भारत कोरोनाको दोस्रो प्रभावित मुलुक बनेको छ। भारतमा एक सातादेखि लगातार कोरोना संक्रमितको संख्या एक लाखभन्दा माथि पुगेपछि यहाँको अवस्था तनावपूर्ण बन्दै गइरहेको छ।
भारतको बिभिन्न प्रान्तमा भइरहेको चुनावमा राजनीतिक सभा तथा समारोह निर्विवाद खुला रूपमा भइरहेको छ। पश्चिम बंगालको चुनावमा स्वयम प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाह म्याराथन र्याली गरिरहेका छन् भने आसामको अवस्था पनि यस्तै छ।
भारतमा दैनिकी १ लाख ५ हजारको हाराहारीमा कोरोना संक्रमित देखिएका छन्। विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस ग्याब्रेयेसेसले सोमबार एउटा विज्ञप्ती सार्वजनिक गर्दै चौथो सातादेखि मृतकको संख्या बढेको बताएका छन्। उनले जनवरी र फेब्रुअरीमा लगातार ६ साता कारोना संक्रमणको घटनामा कमि आएको तर अब अवस्था उल्टो भएको बताए।
‘एशिया र मध्यपूर्वको अवस्था दयनीय बन्दै गइरहेको छ। खोपपछि पनि यहाँ नयाँ संक्रमित देखिएका छन्,’ टेड्रोसले भने। उनले खोप लगाएका व्यक्तिलाई पनि मास्क लगाउन, सामाजिक दुरी कायम राख्न तथा सरसफाईमा ध्यान दिन आग्रह गरेका छन्।
सोमबार २४ घण्टाभित्र विश्वमा ६ लाख ३२ हजार कोरोनाको नयाँ संक्रमित फेला परेका छन्। यसमा ७ हजार ९ सय ९१ जनाको निधन भएको छ।
भारतमा हालसम्म १ करोड ३५ लाख मानिस कोरोना संक्रमित भइसकेका छन्। ब्राजिलमा १ करोड ३४ लाख मानिस संक्रमित भएका छन्। अमेरिकामा सर्वाधिक ३ करोड १९ लाख मानिस संक्रमित भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ। अमेरिकापछि भारत दोस्रो नम्बरमा उक्लिएको हो।
कोरोनाको दोस्रो भेरियन्ट फेला परेपछि भारतले ब्राजिललाई उछिनेको हो। भारतमा हालसम्म १ लाख ७० हजार मानिसको निधन भइसकेको छ। मर्नेको संख्या ब्राजिलमा अलि बढी छ। ब्राजिलमा ३ लाख ५३ हजार मानिसको निधन भइसकेको छ।