बुवाको पद्चिन्ह पछ्याउँदै कान्छो मुस्लिम मेयर हेमायु 

सात वर्षअघि उनी काठमाडौंको युनाइटेड कलेजमा अध्ययनरत थिए।

उनको सपना थियो, अर्थशास्त्रमा पिएचडी गर्ने। तर, उनको भाग्यलाई अर्के मञ्जुर थियो। घरमा भएको एउटा दुर्घटनाले उनको जीवनमा अर्के मोड आयो। 

अहिले उनको परिचय फेरिएको छ। कुनै बेला पढाई र बुवाको व्यापारमा सक्रिय उनी हुन्, नेपालको सबैभन्दा कान्छो मुस्लिम मेयर। 

हेमायु हक, ३१।

जतिबेला उनले प्रदेश नम्बर २ अन्तर्गत सिरहा खडक नगरपालिकाको चुनाव जिते, उनको उमेर २८ वर्ष मात्र थियो। २०७४ सालमा चुनावका लागि मत माग्न जाँदा धेरैले उनलाई दुधे बालकको संज्ञा दिएका थिए।



रसायनशास्त्रमा ‘मास्टर्स’ गरेका धीरेन्द्र यसरी बने सरसफाई अभियन्ता (भिडियो)



राजनीतिमा कुनै अनुभव नबटुलेका उनलाई चुनाव लडाउन नेपाली कांग्रेसले असमर्थता जनायो। तर, उनको शरीरमा बिद्रोही स्वभावका उनका बुवा सदरूल मिया हकको खुन बगेको थियो। त्यसैले उनले कांग्रेस पार्टी हापेर संघीय फोरमबाट चुनाव लडे। नतिजा, कांग्रेसको गढ मानिएको यो क्षेत्रमा कांग्रेस पार्टी चौथो स्थानमा खुम्चियो। हेमायु ३ हजार १ सय २८ मत बटुलेर मेयर बन्न सफल भए। 

२०७० सालमा सदरूलको हत्या भएको थियो। उनी यो क्षेत्रका निकै लोकप्रिय नेता थिए। पहिले नेपाली कांग्रेसमा आवद्ध सदरूललाई पनि २०६४ सालको संविधान सभा चुनावमा कांग्रेसले टिकट उपलब्ध गराउन मानेको थिएन। तर, उनले स्वतन्त्र उम्मेदवारको रूपमा सप्तरी क्षेत्र नम्बर-५ बाट १० हजार ६ सय ३ मत प्राप्त गर्दै चुनाव जितेर देखाइदिए।

५५ वर्षीय सदरूलको २३ जेठ २०७० मा बिसनचौकस्थित आफ्नै पेट्रोल पम्पको माथिल्लो तल्लामा सुतिरहेको अवस्थामा हत्या भएको थियो। 

यसपछि हेमायु पढाई छोडेर घर फर्किए। ‘मेरो राजनीतिमा आउने कुनै चाहना थिएन। तर परिस्थिति नै त्यस्तै बन्यो,’ हाल बुवाको पथ पछ्याइरहेका युवा मेयरले बिएल नेपाली सेवाको जिज्ञासामा भने, ‘परिवार कांग्रेस पृष्ठभूमि भएका कारण सुरुमा कांग्रेसबाट चुनाव लड्न खोजेको थिए। म नयाँ अनुहार थिए। त्यसैले उनीहरूले पत्याएनन्। तर, संघीय फोरमले पत्यायो।’



पहिलो डेउडा गायक



चुनाव जितेपछि उनलाई बुवाको बिडो कसरी थाम्ने भन्ने चिन्ता थियो। तर, विस्तारै उनी लोकप्रिय बन्दै गइरहेका छन्। पहिले बुवाको नामले उनी चिनिन्थे। तर, अहिले युवा तथा विकाश प्रेमी मेयरको रूपमा आफ्नो परिचय बनाउँदै गइरहेका छन्।

काठमाडौंमा भिन्न विचार राख्ने तथा सबै समूदायका युवाहरूसँग अध्ययन गरेको अनुभवका कारणले गर्दा होला, नगरपालिकामा काम गर्ने उनको मोडल सहज छ। उनी विपक्षी पार्टीको कुरा मज्जाले सुन्छन्। उनको एकमात्र एजेन्डा छ-सुरुमा टोलको विकाश, यसपछि नगरको विकाश र अन्त्यमा क्षेत्रको विकाश। 

उनले यसका लागि आफ्नो सहायकको रूपमा ३० वर्ष सरकारी जागिर खाएर अवकाश लिएका बरिष्ठ इन्जिनियरलाई नियुक्त गरेका छन्।  

उनी गाउँघरको दिगो विकाश चाहन्छन्। विगतमा सडक बनाउँदा माटो र गिट्टी छरेर त्यसमाथि पिच बनाउने चलन थियो। यसोगर्दा बर्षायाममा बाटो बगेर स्थानीय प्रतिनिधि जहिले आलोचित बन्थे। तर, उनले आफ्नो कार्यकालमा पुरानो परिपाटीलाई विस्थापित गर्दै सबै टोलको बाटो ढलान गर्ने निर्णय गरेका छन्। यो निकै प्रभावशाली बनेको छ। अझ् सडक स्तरोन्नतीका लागि उनले टोलभित्र पनि ६ मिटरको बाटोलाई अनिवार्य गराएका छन्। 



प्रचण्डको हात टेक्ने नराम्रो बानी



खडग नगरपालिकामा कूल ११ वटा वडा छ। उनले मेयर पदको सपथ लिँदैगर्दा कसम खाएका थिए- आफ्नो पाँच वर्षे कार्यकाल समाप्त हुँदा सबै टोलमा बाटो पुर्याउने।

‘मलाई स्थानीय प्रतिनिधि सबैको सहयोग र साथ छ। त्यसैले कुनै अवरोधको सामना गर्नुपरेको छैन,’ उनले भने, ‘सबैको लक्ष्य दिगो विकाश भएको कारण पनि सजिलो भएको छ।’

मेयर निर्वाचित भएको तीन वर्षको अवधिमा उनले सबै टोलमा बाटो पुर्याउने, खडग नगरपालिकालाई प्रदेश २ कै नमुना नगरपालिकाको रूपमा विकाश गर्ने, सबै वडामा स्वास्थ्य चौकी निर्माण गरिसक्ने, सबै वडामा उनीहरूको आफ्नै वडा कार्यालय निर्माण गर्ने, कृषि, शिक्षा तथा पर्यटनमा विशेष ध्यान दिएका छन्।

‘नगरपालिकाको नमुना भवन असार मसान्तभित्र समाप्त हुँदैछ। दुई वटा स्वास्थ्य चौकी तथा वडा भवनको काम पनि समाप्त हुनेछ। कम्तिमा १०–१५ वर्षसम्म बाटो टिकोस् भनेर टोलको भित्रिबाटो सबै ढलान गर्ने कार्य भइरहेको छ,’ उनले आफ्नो योजना सुनाए। 



नेपालमा द्वन्द्वको नाममा चलिरहेको मानव अधिकारको पसल



यसबाहेक पनि रिङरोडको अवधारणाअन्तर्गत कल्याणपुर–बनौलीसम्मको १० किलोमिटर बाटो तथा खर्जुवा-सिसवासम्मको अर्को बाटोको डिपिआर पनि तयार भएको छ। यस्तै, कमैया पोखरी, मुसनीया दह र पहाडतर्फ पर्ने राधाजी मन्दिरलाई पर्यटकीय दृष्टिकोणले विकाश गर्ने कामको पनि शुभारम्भ भएको उनी बताउँछन्। 

‘म सौख पुरा गर्न मेयर बनेको व्यक्ति होइन। जनताको सपना पुरा गर्ने उद्देश्यले मेयर बनेको हुँ,’ हेमायु भन्छन्।

उनलाई अहिले पनि बुवाले यो क्षेत्रका जनतालाई देखाएको सपना आफूले पुरा गर्नसक्छु कि सक्दिन भन्ने डर छ। त्यसैले उनी रात र दिन नभनी जनसेवामा भिडेका छन्। उनको लक्ष्य नै आफ्नो नगरपालिकालाई देशकै नमुना बनाउने हो।  

प्रकाशित मिति: : 2021-04-09 10:30:00

प्रतिकृया दिनुहोस्