प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन भनेको के हो भन्दै प्रश्न गरेका छन्।
मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘कतिपय कराउँदै गर्छन्, प्रतिगमन भयो भन्ने स्याल हुँइया मच्चाएर। कहाँ भयो प्रतिगमन? प्रतिगमन भनेको के हो? परिभाषै नबुझी प्रतिगमन भयो भन्ने? ख्याल ठट्टा हो प्रतिगमन भनेको? यतिसारो जनता अल्मल्याउने?’
प्रधानमन्त्री ओलीले कोही शासनमा पुग्यो भने क्रान्ति भइहाल्ने र कोही शासनमा पुग्न पाएन भने प्रतिगमन भइहाल्छ? भन्दै प्रश्न गरेका छन्।
उनले भने, ‘कोही शासनमा पुग्यो भने क्रान्ति भइहाल्ने, कोही शासनमा पुग्न पाएन भने प्रतिगमन भइहाल्छ? कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ? म प्रधानमन्त्री हुन पाउनुपर्छ भनेर कुद्ने अवैध बाटोबाट, त्यो भएन भने प्रतिगमन भयो?’
‘संविधान मास्यो, च्यात्यो, मिच्यो। गणतन्त्र खत्तम हुने भयो, लोकतन्त्र खत्तम हुने भो। संघियता त ध्वस्तै पार्ने आँट्यो जस्ता करो गर्ने’, प्रधानमन्त्री ओलीले भने, ‘यस्तो खालका कुराहरु व्यक्तिगत आकांक्षाका परिपूर्तिका लागि, आकांक्षा परिपूर्ती नहुँदा असन्तुष्टि व्यक्त गर्ने अभिव्यक्तिमात्र हो।’
उनले विकासको क्रम अगाडि बढाउनु पर्ने भन्दै सरकारको ध्यान यसैमा रहेको बताए।
‘देश आगाडि बढ्छ। तपाईं हामीले अगाडि बढाउनु पर्छ। विकासको क्रम अगाडि बढाउनु पर्छ', उनले भने, ‘सरकारको ध्यान यसैमा छ। विकासको क्रम अगाडि बढ्छ।’
प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भएको र पुनर्स्थापित संसदले काम अघि बढाउन नसकेको बताएका छन्।
‘संसद पुनर्स्थापना भयो। पुनर्स्थापित संसदले न काम अघि बढाउन सक्छ, न केही गर्न सक्छ,’ उनले भने, ‘संसद तानातानको थलो बनेको छ। संसदलाई बलिया हुँ भन्ने व्यक्तिका स्वार्थको तानातानको थलो बनाइनु हुँदैन। देशमा कसरी विकास गर्ने भनेर संसदले सोच्नु पर्छ।'