लाप्राक नमूना बस्ती लगभग तयार, बैशाख १२ मा हस्तान्तरण हुने

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक नमूना बस्ती परियोजनाका संयोजक सोनाम लामासंग गएको एक टोलीले २४ र २५ मार्च २०२१ का दिन लाप्राक नमूना बस्तीमा भएका निर्माण सम्बन्धी कामहरुको अवलोकन गरेको छ।

परियोजनामा भएका कार्यहरुको प्रगती बारे परियोजनामा कार्यरत कर्मचारीहरु, लाभग्राहीहरु र सरोकारवालाहरुसँग भेट गरी जानकारी लिइयो।

लाप्राक नमूना वस्तीमा बाँकी रहेका कामहरु यही चैत्रको अन्तिममा सकिएर सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने छ। सबै घरहरुको छाना एकरुपको रहने भएको छ।

तसर्थ उक्त वस्तीको हस्तान्तरण यही आउने २०७८ बैशाख १२ गते हुने तय भएको छ। यसका लागि आवश्यक कार्यहरु भइरहेको बारे संघका उपाध्यक्ष सोनाम लामाले जानकारी दिए।

साथै उक्त टोलीले वस्ती निर्माण गर्नमा सहयोग गर्नु हुने गैरआवासीय नेपालीहरु र विभिन्न संघसंस्थाहरुको नाम र सहयोग रकमसहितको शिलापत्र राख्ने स्थान अवलोकन गरी उक्त शिलापत्र राख्ने स्थानको निर्धारण गर्ने काम समेत वडा तथा गाउँपालिकाको सहमतिमा तय गरिएको छ।

यसै गरी उक्त टोलीले लाप्राक गाउंपालिकाका अध्यक्ष, वडाका अध्यक्ष र अन्य सरकोकारवालाहरु संग भेट गरी बस्तीका निर्माण कार्यबारे र बस्ती हस्तान्तरण पछि स्थानीयले गर्नुपर्ने काम बारेमा समेत छलफल गरेको थियो।

यस भ्रमण टोलीमा जर्मनीका आईसिसि सदस्य टंक लम्साल र सचिवालयका कार्यकारी निर्देशकको सहभागिता थियो।

प्रकाशित मिति: : 2021-03-26 14:56:00

प्रतिकृया दिनुहोस्