सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७७’ पारित भएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले बैठकमा उक्त विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेश गरेकी थिइन्।
यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य पूर्णा जोशी, महेशदत्त जोशी र श्यामलाल राना थारुले भाग लिएका थिए।
प्रदेशसभाको सामाजिक विकास समितिमा विधेयकमाथि दफावार छलफल गरिएको थियो। बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले ‘दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ टेबुल गरे।
निर्वाचन आयोगको पत्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मुद्दामा सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलगअलग पार्टी भएको भन्ने व्यहोराको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएको प्रदेशसभाका सचिव रामसिंह धामीले जानकारी दिए। रासस