सहज छैन गैँडा गणना

आगामी सोमबार (९ चैत)देखि चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना हुँदै छ । बर्दिया, शुक्लाफाँटालगायत देशभर नै चैतभित्रै गैँडा गणनाको तयारी छ । हरेक ५ वर्षको अन्तरालमा गैँडा गणना गरिँदै आएको छ । नेपाली प्राविधिकहरूले आफैँ गणना गर्न थालेको सन् १९९४ देखि हो । सामान्य रूपमा हेर्दा गैँडा गणना सहजै गर्न सकिन्छ भन्ने लाग्छ । 

गैँडा गणनामा घरपालुवा हात्ती, हात्ती परिचालकहरू, गणकहरू, हात्ती तथा गणकहरूलाई खाने बस्ने बन्दोवस्त मिलाउने समुह संलग्न रहेका हुन्छन् । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना सम्पन्न गर्न करिब २० देखि २५ दिन लाग्ने गरेको छ । गैँडा गणना निकुञ्ज क्षेत्रमा अग्लो घाँस भएको समयमा गर्न सकिँदैन । त्यसैले अग्ला खरघाँस सुकिसकेको र दलदल घटिसकेका वेला पारेर गैँडा गणना गरिन्छ ।

मुख्यतया, गैँडा गणना गर्दा प्रयोग गरिने भर्खरै तालिम लिएका बच्चा हात्तीहरू र जंगली भालेहात्ती, चर्को घाम, असिनापानी, हुरीबतास र नसुकेको दलदलले गर्दा समस्या ब्युँतिन्छन् र यसले गणनालाई प्रभाव पार्दछ । गणनामा प्रयोग गरिने हात्तीहरू दलदलमा फसेर गणना प्रभावित हुन सक्छ भने हुर्कौला हात्तीहरू हुरीबतास, असिनापानी, डढेलोसँग डराएर कामै छोडी माहुत र गणकलाई लिएर जंगलको अन्जान क्षेत्रतिर कुद्न सक्छन् । यस्तो घटनामा नवलपरासीको सेरी पोस्ट तलतिर केही हात्तीहरूबाट गैँडा गणना गर्दा जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णु लामाको समूह परेको थियो ।

जथाभावी जंगलमा हात्ती कुदेपछि गणकहरू रूख, लहरामा अल्झिएर वा ठोक्किएर हात्तीबाट खस्न सक्ने सम्भावना हुन्छ । गैँडा गणना ब्लकमा जमिनको धरातलअनुसार लामबद्ध तरिकाले हात्ती हिँडाउँदा कुनै हात्ती जंगल, झाडी र कुनै दलदल क्षेत्रमा पर्छन् भने कुनै हात्ती रूखपात नभएको ठाँउबाट मात्र हात्ती हिँडाउनुपर्ने हुन्छ । त्यस्ता गणकहरू चर्को घामको प्रभावले फेन्ट (बेहोस) हुन सक्छन् । डा.कमलप्रसाद गैरेका अनुसार सन २०११ को गैँडा गणनामा संलग्न विश्व वन्यजन्तु कोष, नेपालकी एक उच्च अधिकृतलाई यस्तै समस्या देखिएको थियो ।

जंगली भालेहात्ती गणक पोथी हात्तीहरूको गन्धमा आकर्षित भई पछिपछि लाग्न सक्छन् र गणना कार्य प्रभावित हुन्छ । त्यस्तै एकपटक डा. नरेन्द्रबाबु प्रधान, डा. शान्तराज ज्ञावलीसमेतको गणक समूह घट्गाईनजिकैको घोर जंगलमा जंगली भाले हात्तीसँगको जम्काभेटमा परेको थियो । सातवटा हात्ती, त्यसमा रहेका सातजना गणक र सातजना माहुतले मिलेर हा हा हु हु गरी आगोसमेत लगाउँदा पनि जंगलीहात्तीले पछ्याउन छाडेन । निकुञ्ज मुख्य कार्यालयमा कुनै हिसाबले सम्पर्क गरेपछि सुरक्षाटोली आएर फायर खोलेपछि मात्र जंगलीहात्ती भाग्यो । त्यसो नहुँदासम्म धेरैको मुटुको धड्कन बढिरहेको थियो । जंगलीहात्तीसँग जम्काभेट भएर के नै हुन्छ भन्ने जिज्ञासाको उत्तर त त्यसप्रकारको घटनामा परेपछि नै पाइएला ।

प्रकाशित मिति: : 2021-03-20 22:19:00

प्रतिकृया दिनुहोस्