गण्डकी प्रदेश सरकारले सबैभन्दा अब्बल बन्ने लक्ष्यका साथ विकासका कामलाई तीव्रता दिएको छ।
तीन वर्षदेखि सञ्चालित कार्यक्रमले नमूना प्रदेश बन्ने लक्षण देखिएको योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्माले दाबि गरे। यसका लागि राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता, प्रदेश गौरवका आयोजनामा थप लगानी तथा वातावरण संरक्षणका अभियान चलाउने उनले बताए।
बागलुङ, पर्वत र म्याग्दीका कानून व्यवसायीसँगको छलफलमा उहाँले विकासको नमूना बनाएर देशकै नमूना बन्ने योजनामा सफलता मिल्दै गएको समेत दाबी गरे।
उनका अनुसार आगामी २०८७ सालसम्ममा गण्डकीले औसत आयु ८० वर्ष पुर्याउने, पाँच वर्षमुनिका बाल मृत्युदर २३ बाट ७ मा झार्ने, साक्षरतादर ९८ प्रतिशत पुर्याउने र बेरोजगारी घटाएर दुई प्रतिशतमा झार्ने अति महत्वकाङ्क्षी लक्ष्य राखिएको छ।
कूल गरिबी १८ प्रतिशत हुँदा गण्डकीमा १४ प्रतिशत मात्रै छ। विद्युत्को पहुँच शत्प्रतिशत जनतामा पु¥याउने र कृषिको उत्पादकत्व प्रतिहेक्टर पाँच टन पु¥याउने लगायतको लक्ष्य राखिएको छ।
प्रदेशले आठवटा विकासका मेरुदण्ड बनाएको उनले बताए। तीमध्ये मुग्लिङ-दमौली, पोखरा-कुश्मा, बागलुङ-बुर्तिवाङ, कोरला-जोमसोम, बेनी-पाखेरा, भीमाद-दुम्कीवास हुँदै त्रिवेणी विकास लक्ष्य छ। रासस