प्रधानमन्त्रीले एमाले केन्द्रीय कमिटीको बैठक बसेकै हो भन्नुभो, हामीले मानेनौँ: रघुजी पन्त

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा करिब दुई घण्टा छलफल गरेका माधवकुमार नेपाल पक्षका नेता रघुजी पन्तले बैठकबारे भने, ‘प्रधानमन्त्रीले भन्नुभो– फागुन २८ को एमालेको बैठकै हो, हामीले मानेनौँ।’

बैठकमा नेपाल पक्षले राखेको कुराबारे बिएल नेपाली सेवालाई पन्तले जानकारी दिए, ‘यो फागुन २८ गते केन्द्रीय कमिटीको जुन बैठक राख्नुभो, त्यो बैठकै होइन। हामी मान्दैनौँ। हामीलाई खबरै नगरी बैठक हुन्छ ? त्यसलाई स्वीकार्नै सकिँदैन भन्ने कुरा भो।’

अध्यक्ष ओलीको पहलमा भएको बैठकमा नेपाल पक्षले ‘फागुन २३ गतेको अदालतको फैसलापछि सबैलाई एमाले बनायो, त्यसैले ०७५ जेठको अवस्थामा सबै फर्कियौँ। त्यहाँबाट सुरु गरौँ’ भन्ने प्रस्ताव गरेको थियो।

नेपाल पक्षले फागुन २८ गते आफूहरुलाई खबरै नगरी प्रधानमन्त्री ओलीले राखेको केन्द्रीय कमिटीको बैठकबारे आपत्ति जनाएको पन्तले जानकारी दिए।

उक्त बैठकले प्रदेश इञ्चार्जको हेरफेर गरेको थियो, जसमा बागमती प्रदेशको इञ्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर साविक माओवादीकेन्द्रका नेता गृहमन्त्री रामबहादुर थापालाई दिएको थियो भने सुदूर पश्चिमको इञ्चार्जबाट भीम रावललाई बिदा गरी लेखराज भट्टलाई जिम्मेवारी दिएको थियो।

त्यस्तै प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई दिएको थियो। अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेको थियो।

उक्त बैठकले साविक माओवादीबाट आएका रामबहादुर थापा लगायत २३ जनालाई एमाले केन्द्रीय सदस्य बनाएको थियो। विघटित नेकपाका अध्यक्ष प्रचण्डसहित ४३५ जना केन्द्रीय सदस्यलाई एमालेमा आउने भए पार्टीमा आउन पाउने गरी विधानको  बाधाअड्काउ फुकाएको थियो।

‘त्यो बैठक नै हो भन्नुभो, हामीले मानेनौँ, आ–आफ्नो कुरा राख्यौँ’ पन्तले भने, ‘अब फेरि छलफल गरेर अघि बढ्ने कुरा भएको छ। निष्कर्षमा पुगौँला भन्ने भएन, छलफल चाहिँ गरौँ भन्ने भो।’



ओली–नेपाल समूहबीचकाे छलफल सकियाे

एमालेको ओली र नेपाल समूहका ११ नेताबीच धुम्बाराहीमा छलफल

प्रकाशित मिति: : 2021-03-15 14:36:00

प्रतिकृया दिनुहोस्