नेप्सेमा गिरावट जारी, कारोवार पनि बढेन

नेप्सेमा गिरावट जारी, कारोवार पनि बढेन साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार झन् तल झरेको छ।

नेप्से सूचक ५१.२३ अंकले घटेर २४०७.२५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १०.१० अंकले घटेर ४३२.१३ विन्दुमा झरेको हो।

नेप्से परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ तर कारोबार रकममा भने सामान्य बृद्धि देखिएको छ।

सूचक र कारोबार रकम दुवै घटेपछि लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा बसेका हुन्। नेप्से माथिल्लो विन्दुमा पुगेका बेला नाफा बुक गरेकाहरु आक्रामक हिसाबले बजार प्रवेश गर्न बाँकी नै रहेकाले बजारले अझै सुधारको बाटो समाउन नसकेको अनुमान गरिएको छ।

आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

अघिल्लो दिन बुधबार ४ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आइतबार कारोबार रकम झण्डै ५ अर्ब पुगेको छ। २११ वटा कम्पनीको ९९ लाख ३ हजार ४०४ कित्ता शेयर ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन हाइड्रोपावर कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दा उक्त उपसमूहको सूचक २.३२ प्रतिशतले बढेको छ भने चन्द्रागिरि हिल्सको शेयरमूल्य बढ्दा होटल एण्ड टुरिजम उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ।

आइतबार कारोबारमा आएका कम्पनीहरुमध्ये पाँच कम्पानीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। चन्द्रागिरि हिल्स, अपर तामाकोसी, पञ्चकन्यामाई हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र रैराङ हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो।

हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै ९.८६ प्रतिशतले घटेको छ भने नेपाल हाइड्रो डेभलपर्सको ७.९५ प्रतिशत, नेपाल दुरसञ्चार कम्पनीको ६.५६ प्रतिशत, शिखर इन्स्योरेन्सको ६.५५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ६.०८ प्रतिशतले घटेको छ।

सबैभन्दा धेरै अपर तामाकोसीको ४४ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको २७ करोड ५६ लाख, नविल बैंकको २० करोड ६६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ६७ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको १६ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2021-03-14 15:38:00

प्रतिकृया दिनुहोस्