आध्यात्मिक र वातावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालीगण्डकी नदी मानवीय दोहनका कारण सङ्कटमा पर्दै जान थालेको छ।
हिन्दूधर्मावलम्बीले भगवान् विष्णुको अंश मानेर पुज्ने शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीमा लामो समयदेखि अवैधरुपमा दोहन हुँदै आए पनि सम्बन्धित निकाय भने मौन छन्।
अवैधरुपमा नदीको उत्खनन गरी नदीजन्य वस्तुको चोरी निकासी हुने क्रम बढ्दै गएपछि कालीगण्डकीबाट बहुमूल्य शिला शालिग्राम लोप हुँदै गएको छ भने कालीगण्डकीको अस्तित्वसमेत सङ्कटमा परेको छ।
नदीजन्य पदार्थको अवैध उत्खननले कालीगण्डकी सभ्यतामै समस्या र सङ्कट पर्न थालेको र बहुमूल्य शिला शालिग्रामसमेत लोप हुँदै गएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष पं भीमनाथ पौडेलले बताए।
प्रदेश सरकारले नदीजन्य वस्तु निकाल्नका लागि मापदण्ड बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन। व्यवसायीले आफू खुशी ढुङ्गा, गिट्टी बालुवा निकाली रहेका छन्।
हेभी इक्वीपमेन्ट (डोजर, स्काभेटर) प्रयोग गरेर नदीमा वर्षौंदेखि रहेका ठूला ढुङ्गा निकाल्दा नदीले धार परिवर्तन गरी नदी किनारका बस्तीमा जोखिम बढेको छ। यसले गर्दा सबैभन्दा बढी असर म्याग्दीको सदरमुकाम बेनी र कालीगण्डकी करिडोरअन्तर्गतको बेनी जोमसोम सडकलाई परेको छ। रासस