भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुला भ्रष्टाचार भइरहेको छ: प्रभु साह

File Photo
File Photo

आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने उद्देश्यले वीरगञ्जमा भ्रष्टाचारको विरुद्धमा खबरदारी सभा गर्न लागेको बताएका छन्। 

सरकारका मान्छेहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप उनले लगाए। भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुला भ्रष्टाचार भइरहेको अध्यक्ष साहले आरोप लगाए।

आजपा पर्सा जिल्ला कमिटीको आज (सोमबार) वीरगञ्जमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले वीरगञ्जलाई आर्थिक राजधानीका साथै भ्रष्टाचारविरुद्ध हुने खबरदारी सभाका कारण शासकबर्ग त्रसित भएको बताए।

हालै भ्रष्टाचारविरुद्ध मधेसमा जागरण अभियान गरेको आजपाले वीरगञ्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्न लागेको हो। साथै वीरगञ्जलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग समेत आजपाले गरेको छ।   

‘मुलुकमा भ्रष्टाचार बढ्दै गइरहेको छ तर सरकार मूकर्दशक बनेको छ। सरकारकै संरक्षणमा भ्रष्टाचार बढ्दै गइरहेको छ। हरेक काण्डमा सरकारका मान्छेहरु संलग्न रहेका छन्। मुलुक लुटिरहेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरुकै संलग्नतामा हरेक क्षेत्रमा भ्रष्टाचार बढ्दै गइरहेको छ। भ्रष्टाचारविरुद्ध आवाज उठाउने उद्देश्यले हामीले खबरदारी सभा गर्न लागेका छौँ।’

वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गराउँन र भ्रष्टाचारविरुद्ध जागरण गर्ने उद्देश्यले पुस २७ गते वीरगञ्जमा हुने खबरदारी सभालाई आजपा अध्यक्ष साहका साथै शीर्ष नेताहरूले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बैठकलाई सम्बोधन गर्दै साहले संघीय संरचना आउनुभन्दा अघि वीरगञ्जलाई राजधानी बनाउँने भनिए पनि वीरगञ्जसंग धोका भएको बताए।

प्रदेशको राजधानी वीरगञ्जलाई बनाउन भनिए पनि षड्यन्त्र गरिएको बताउँदै उनले वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्नमा पनि षड्यन्त्र भईरहेको आरोप लगाए।

‘काठमाडौँ प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर वीरगञ्ज आर्थिक राजधानी किन नहुने? हामीले वीरगञ्जलाई जसरी पनि आर्थिक राजधानी घोषणा गराएरै छाड्ने छौँ,’ उनले भने, ‘यदि वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गरिएन भने हामी चुप लागेर बस्दैनौँ। अहिले खबरदारी सभा गरिरहेका छ, सरकारले हाम्रो माग सम्बोधनमा ढिलाई गरे योभन्दा कडा आन्दोलन गर्न हामी बाध्य हुन्छौँ।’

साथै उनले सरकारले हरेक बस्तु र क्षेत्रमा मनोमानी कर लगाएर मुलुकलाई धरासायी बनाउँदै गरिरहेको आरोप लगाए।

भ्रष्टाचारविरुद्ध जागरण गर्ने, सरकारको मनोमानी कर आतंकको अन्त्य र वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गराउँन दबाब दिने उद्देश्यले वीरगञ्जमा खबरदारी सभा गर्न लागेको आजपाले जनाएको छ।

आजपाले भ्रष्टाचार, सरकारको मनोमानी कर आतंक, वैदेशिक रोजगारमा भइरहेको ठगी, भन्सार कानुनमा रहेको लुटकारी व्यवस्था एवं दलाल दलतन्त्रविरुद्ध आवाज उठाउँदै आएको छ।

प्रकाशित मिति: : 2025-01-10 18:15:00

प्रतिकृया दिनुहोस्