आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ। तर सत्ता र प्रतिपक्ष दलहरूबीच ठोस सहमति नहुँदा बैठक चल्ने संकेत भने छैन। यद्यपि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने सहमति लगभग अन्तिम चरणमा पुगिसकेको बताएका छन्।
गत जेठ १५ गते बजेट पेश गर्न दिएपछि संसदमा प्रतिपक्षले निरन्तर अवरोध गर्दै आएका छन्। त्यसयता बैठक चल्न सकेको छैन। बजेट अधिवेशनको आज २८ औं बैठक बस्दैछ। आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको छलफलका लागि प्रस्ताव गर्नेलगायतका कार्यसूचीहरू छन्।
बिहीबार दिनभरि पनि सत्ता र प्रतिपक्षहरू श्रृङ्खलावद्ध बैठकमा थिए। ती बैठकहरूबाट लगभग सहमति नजिक पुगिएको प्रचण्डले बताएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छनबिन हुनुपर्ने र उनले राजीनामा दिनुपर्ने माग प्रतिपक्षको थियो। तर माओवादीले भने त्यो माग छोडिसकेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी पनि राजीनामाको मागबाट पछि हटेर अब छानबिन समिति बनाउनेमा सहमति खोजिरहेको छ।
प्रचण्डले भने भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भनि सत्तापक्षसँग लिखितरुपमा सहमति गरेको बताएका छन्।
सत्तापक्षले छानबिन गर्ने प्रतिवद्धता नदिई प्रतिपक्ष तयार हुने स्थिती नभएको भन्दै उनले लिखित सहमती तर्फ गएको बताएका हुन्।
‘हामी लिखित सहमती गर्ने ठाउँ तिर गयौ। सत्तापक्षका साथीहरूसँग छानबिन गर्ने प्रतिवद्धता नभइकन प्रतिपक्ष तयार हुने स्थिती छैन। जनमत जसरी गएको छ विषयको गम्भिरतासँगै संवेदनशीलता हेर्दा एउटा गृहमन्त्रीको कुरा मात्र हैन। यो विगतदेखि नै लगातार अध्यागमनको समस्या भईरहेको छ’ उनले भनेका छन्।