पर्साको विरगंज महानगरपालिका-१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट सशस्त्र प्रहरीले १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा विरगंज-२ छप्कैया बस्ने २१ वर्षिय राहुल कुमार तिवारी र बाराको प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षिय कौशलकुमार गुप्ता छन्।
शुक्रबार भारतबाट दुईवटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट खटिएको सुरक्षा फौजले जाँच गर्दा उनीहरूको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको सशस्त्रका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
नियन्त्रमा लिइएकामध्ये बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाईकलमा सवार राहुलको साथमा १३ लाख नेपाली रुपैयाँ र ना ४६ प ९७१० नम्बरको मोटरसाईकलमा सवार कौशलकुमारको साथमा ५ लाख नेपाली रुपैयाँ फेला परेको हो।
बरामद रुपैयाँमा १ हजार दरको १ हजार ८२ थान र पाँच दरको १ हजार ४ सय ३६ थान नोट रहेको छ। उनीहरूले उल्लेखित रुपैयाँ के प्रयोजनको लागि लिइएको हो भन्ने खुलिनसकेको डीएसपी थापाले बताए।
नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक अनुसन्धानको लागि विरगंज भन्सार कार्यालयमा बुझाइएको छ।