बास्तोला शङ्कास्पद मृत्यु प्रकरण : छ जना पक्राउ, एक जनालाई अदालतमा पेस गर्नै बाँकी

फाइल तस्वीर
फाइल तस्वीर

मोरङ उर्लाबारीका एक युवाको हत्या आरोप लागेका छ जना पक्राउ परे पनि पाँच जनालाई मात्रै अदालतमा पेस गरिएको छ।

प्रहरीले पक्राउ गरेर पाँच जनालाई पेस गरे पनि एक जनालाई भने अदालतमा उपस्थित गराउन बाँकी छ।

उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा जोडिएका झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दिपेश पौडेल मात्रै अदालत उपस्थित गराउन बाँकी रहेका हुन्।

प्रवीणको हत्या गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालत मोरङमा यसअघि नै कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

तर उनी अहिले पनि झापा प्रहरीको नियन्त्रणमा छन्। मोरङ प्रहरीको नियन्त्रणमा नरहेका कारण दिपेशलाई अहिलेसम्म अदालतमा लैजान नपाइएको हो।

मोटरसाइकल चोरीको घटनामा उनीविरुद्ध झापाको दमकस्थित इलाका प्रहरी कार्यालयले अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको पाइएपछि दिपेशलाई फागुन १८ गते सप्तरीबाट पक्राउ गरेर दमक ल्याइएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीले बताए।



प्रवीण मृत्यु प्रकरणः मुख्य आरोपीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश

दाजुको हत्यारा पत्ता लगाउन अमेरिकादेखि आएकी युवतीले यस कारण समातिन् इन्स्पेक्टरको कठालो (भिडियाे)

चोरी मुद्दामा अनुसन्धान थाल्नुअघि उनले आफ्नो नाम सीमर श्रेष्ठ र घर सुनसरीको इटहरी बताएको कार्कीको भनाइ छ। प्रवीण मृत्यु प्रकरणमा प्रहरीले खोजी तीव्र पारेपछि उनी फरार बनेका थिए।

चोरी मुद्दा लागेपछि उनले प्रवीण मृत्यु प्रकरणबाट बच्न र त्यो मुद्दाको ‘फेस’ गर्नबाट उम्कनलाई चलख्याइँपूर्ण हिसाबले नाम र ठेगाना ढाँटेको पाइएको जानकारी डीएसपी कार्कीले दिए।

उनले चोरी मुद्दामा अनुसन्धान सकिनसाथ दिपेशलाई जिल्ला अदालत मोरङमा दर्ता भएको कर्तव्य ज्यान मुद्दाको बाँकी प्रक्रिया अघि बढाउन मोरङ प्रहरीको जिम्मा लगाइने बताए।

झापाबाट प्रहरीले बुझाएपछि मोरङ ल्याएर दिपेशलाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिने जानकारी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिए।

प्रहरीले बुझाएपछि बयान लिने र कानुन व्यवसायीबीच थुनछेक बहस भएर उनका सम्बन्धमा अदालतले आदेश दिने छ।

प्रवीण मृत्यु प्रकरणका मुख्य अभियुक्त झापाको दमक घर भई उर्लाबारी–६ मा बस्दै आएका ३२ वर्षीय राजेश रणपहेलीलाई मोरङ अदालतले गत मंगलबार नै पूर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ।

भागेर रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ फूलबारी चोकमा पुगेका अभियुक्त (प्रतिवादी) राजेशलाई अघिल्लो बिहीबार पक्राउ गरेर मोरङ ल्याइएको थियो।

प्रवीण मृत्यु प्रकरणमा छ जनाविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ। पाँच जना प्रतिवादीलाई यसअघि नै प्रहरीले पक्राउ गरेर अदालतमा बुझाइसकेको छ।

मुद्दामा राजेश र दिपेशसहित मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी, कानेपोखरी गाउँपालिका घर भई उर्लाबारी– ६ मा बस्दै आएका १९ वर्षीय सुदीप परियार, उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई प्रतिवादी बनाइएको छ।

प्रतिवादीमध्ये अदालतले राजेश, मेहरमान र सुदीपलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ। अदालतले धरौटीवापत मागेको तीन लाख रुपैयाँ बुझाएर कुमार र एक लाख रुपैयाँ बुझाएर रमेश छुटिसकेका छन्।

आफ्ना साथीहरु भाडामा बस्ने गरेको उर्लाबारी–६ स्थित रमेश गिरीको घरमा सुत्न गएका प्रवीणको शंकास्पद मृत्यु भएको अवस्थामा गत पुस ५ गते शव भेटिएको थियो।

परिवारका सदस्य र आफन्तले शव उर्लाबारीकै गोदावरी अस्पतालमा पाएका थिए। सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि पु-याएपछि प्रवीणको मृत्यु भएको दाबी घटनाका आरोपीहरुले गर्दै आएका थिए।

तर हत्या भएको दाबीसहित छ जनाविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरेर अनुसन्धान गरेको थियो।

प्रहरीका अनुसार प्रतिवादीमध्ये दर्जी, परियार र पौडेल गिरीको घरमा कोठा भाडामा लिएर डेरा बस्थे। बास्तोलालाई लिएर रणपहेली पुस ४ गते राति त्यहाँ पाहुना गएको प्रहरीको भनाइ छ।

कुमार राईले सञ्चालन गरेको शौरभ होटलमा खानपिन गरी साथीको कोठामा पुगेर सुतेकामध्ये बास्तोलाको भने शंकास्पद मृत्यु भएको हो।

प्रहरीले दुई पटक (माघ २ र फागुन २ गते) सम्म अनुसन्धान सकिएको भनेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाउँदा पनि सरकारी वकिल कार्यालयले घटनामा प्रमाणको भार अझै पु-याउन आवश्यक रहेको भन्दै थप अनुसन्धानका लागि निर्देशन दिएर अदालतमा मुद्दा दर्ता गरेन।

मुद्दा दर्ता नहुनुको कारण खोजी गर्ने क्रममा प्रहरीबाट लापरबाही र कमजोरी भएको पाइएको भन्दै मृतकका आफन्त र परिवारका सदस्यले सुरु गरेको आन्दोलन सामाजिक सञ्जालमा निक्कै भाइरल बनेको थियो।

अहिलेसम्म प्रहरीले सबै प्रतिवादीलाई नियन्त्रणमा लिइसकेको र घटना अनुसन्धानमा कुनै लापरबाही नभएको एसपी खड्काले बताए।

‘विकेक पु-याएर सुझबुझका साथ ज्ञान र सीपको प्रयोग गर्दै कानुनी आधार पहिल्याएर प्रहरीले घटनालाई एउटा निस्कर्षमा पु-याएको छ,’ उनले भने, ‘बास्तोला मृत्यु प्रकरण अनुसन्धानमा कुनै पनि कमजोरी नभएको कुरा अदालतको आदेशबाट पनि पुष्टि हुन्छ।’

प्रकाशित मिति: : 2021-03-12 16:49:00

प्रतिकृया दिनुहोस्