नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ।
नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो।
वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो। नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यसअघि नै सञ्चालनमा आइसकेका छन्। सेवालाई थप व्यवस्थित बनाउन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागिएको नगर प्रमुख चन्द्रकुमारी पुनले बताए।
नगरभित्र यसअघि छवटा वडामा स्वास्थ्य केन्द्रका लागि भवन रहेकाले भवन नभएका बाँकी ११ वटा वडामा भवन निर्माण गर्न लागिएको उनले बताए।
आधारभूत स्वास्थ्य सेवा सहजरूपमा नागरिकले पाउन सकुन् भनेर सबै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको र अहिले यसका लागि भवन निर्माण गर्न लागिएको नगरप्रमुख पुनले बताए। हरेक वडामा स्वास्थ्यकर्मी पुर्याउने सरकारको नीतिअनुसार अहिले नगरभित्रका सबै वडामा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरिएको उनाले बताए। रासस