बेलायतबाट सम्पदा खोज–अनुसन्धान गर्न ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) टोली हालै नेपाल आएको छ। मार्च पहिलोसाता आइपुगेको टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको पुरातत्व विभागले जनाएको छ।
बेलायतबाट आठ जनाको भू–भौतिकी सर्वेक्षणको एक समूह नेपाल आई केही दिनदेखि कपिलवस्तुमा सर्वेक्षण गरिरहेको विभागका निर्देशक दामोदर गौतमले बताए।
उनका अनुसार नेपालका केही स्थानमा खोज, उत्खनन्का क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो। “पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्वे गर्न लागेका हौँ”, उनले भने।
टोलीले कपिलवस्तुको सर्वेक्षणपछि रुपन्देही, नवलपरासी, जनकपुर, ठोरी, काभ्रेपलाचोकको पाँचखाललगायत स्थानमा भेटिएका पुरातात्विक सम्पदाको सर्वेक्षण गर्ने विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार टोलीले पाँचखालमा मार्चअन्तिम अर्थात् चैतको तेस्रोसाता सर्वेक्षण गर्नेछ।
उक्त क्षेत्रमा करिब दुई बर्षअघि गरिएको खोज, उत्खनन्का क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्वे गर्ने जनाएको हो।
जियोफिजिकल सर्वे मेशिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सातमिटरसम्मको भौतिक अवस्था पत्ता लगाउने विभागका महानिर्देशक गौतमले बताए। उनका अनुसार सर्वेक्षण टोलीका लागि थप नेपाली जनशक्ति तथा आर्थिक व्यवस्थापनको तयारी विभागले गरेको हो। रासस