अहिले हाम्रा दलहरू मूलतः कार्यकर्तामा आधारित छन् । अझ कम्युनिष्ट पार्टीहरुको सन्दर्भमा भन्दा पेशेवर कार्यकर्तामा आधारितजस्ता भइसकेका छन् । एक खालका बलिया डाकाहरूको समूह बनाउने हो भने उसले सजिलै सरकार कब्जा गर्न सक्छ भन्ने हदसम्मको टिप्पणी पनि कसैकसैले गर्ने गर्छन् । १० हजार जति फोर्स भयो भने उसले सजिलै सत्ता कब्जा गर्न सक्छ भन्ने ढंगसम्मको आलोचना भइरहेको छ ।
यसको अर्थ के हो भने सबै खाले वैचारिकी, संस्थानहरू, राज्ययन्त्रहरू दलतन्त्रले कब्जा गर्न सक्ने अवस्थामा छ । यति खतरनाक भएको स्थितिमा कहीँ दलहरू नै अनावश्यक हुन थालेको हो ? त्यसको विकल्प खोज्नुपर्ने हो ? यति हदसम्मका प्रश्न उठ्न थालेका छन् ।
दोषपूर्ण दलतन्त्रमा रुपान्तरणका लागि उपायको रुपमा मलाई चाहिँ के लाग्छ भने डाक्टर महेश मास्केले उठाउनुभएको सोभियत वा कम्युनका कुरा हुन सक्छ । त्यो भनेको फेरि पनि समुदायतर्फ जाने कसरी भन्ने प्रश्न नै हो । समुदायमा पनि अझ आफैं निर्वाचित हुने स्वशासित खालको संरचना कसरी निर्माण गर्ने भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण हो ।
नेपालको सन्दर्भमा आउने हो भने तत्कालको लागि जवाफ के हुन सक्छ भने फेरि पनि अहिले हामीले सीमित रुपमा भोगिरहेको लोकतन्त्रलाई कसरी विस्तार गर्ने भन्ने प्रश्न नै हो । दलतन्त्रको ठाउँमा फेरि पनि लोकतन्त्रको विस्तार, लोकतन्त्रको पनि लोकतन्त्रीकरण भन्ने कुरा त्यत्तिकै महत्वपूर्णजस्तो लाग्छ ।
राज्यको सन्दर्भमा भन्ने हो भने राज्य पुनःसंरचना त्यसको मूल हिस्सा हो जस्तो लाग्छ । स्पष्ट रुपमा भन्ने हो भने हामीले राज्य पुनःसंरचनालाई त्यतिकै छोड्यौं र पुनःसंरचनाबाट आशा लिएर बसेका अधिकांश मान्छेमा यो लोकतन्त्र या गणतन्त्रप्रति कुनै खालको स्वामित्वभाव छैन । स्पष्ट रुपमा भन्ने हो असन्तुष्टि धेरै छन् र कयौं सन्दर्भमा त्यो दुर्भावकै रुपमा पनि पोखिन सक्छ । यो हिसाबले उनीहरूको स्वामित्व बढाउने गरी प्रतिनिधित्व, मुद्दाहरूको सम्बोधन तथा अपनत्वको कसरी बिस्तार गर्ने भन्ने कुरा राज्यको सन्दर्भमा सोच्नुपर्ने एउटा पक्ष हुन सक्छ ।