गरिबमाथि महानगरको ज्यादती

गत २१ पुसमा सुकेधारामा तरकारी बेच्दै गर्दा मन्जु कुँवर क्षेत्रीको ठेलागाडा काठमाडौं महानगर प्रहरीले उठाएपछि रुँदै फिर्ता गर्न आग्रह गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । भिडियोबारे सामाजिक सन्जालमा थुप्रै टिप्पणी गरिए ।

काठमाडौं महानगरपालिकाले महानगर सुन्दर बनाउन, फुटपाथ पैदलयात्रीमैत्री बनाउन र अपांगमैत्री बनाउन भन्दै वर्षौँदेखि फुटपाथमा व्यवसाय गर्नेहरूको सामान दैनिकजसो उठाउँछ, जसमध्ये केही भिडियो भाइरल हुन्छन्, र सामाजिक सञ्जालबाटै हराउँछन् । तर कलंकी, कोटेश्वर, बागबजार, बानेश्वर, गौशाला, चक्रपथ, सुकेधारा, रत्नपार्कजस्ता सधैँ भिडभाड भइरहने क्षेत्रहरूमा फुटपाथ व्यवसायीहरूको सामान महानगर प्रहरीले दैनिकजसो जफत गर्छ, कुहिने, सड्ने र गल्ने सामान, अनधिकृत सवारी पार्किङ जरिवानासहित फिर्ता गर्छ, ठेलागाडा, कपडा, ग्यास सिलिन्डरजस्ता सामान लिलामी गर्छ । यसबारे कसैको ध्यान दिइएको पाइँदैन ।

कलंकी चोकमा साग बेच्दै आएकी मञ्जु खड्काले साग बेचेर दैनिक दुई सयदेखि तीन सय कमाउँछिन् भने कहिले साँबा मात्रै उठ्छ । दैनिक कालीमाटी तरकारी बजारबाट साग लिएर कलंकीमा बेच्दै आएकी खड्काको साग गत शुक्रबार महानगर प्रहरीले जफत ग¥यो, उनले त्यो दिन कालीमाटीबाट ३०० को साग लिएर गएकी थिइन्, नगर प्रहरीले उनीसँगै फुटपाथमा व्यवसाय गरिरहेका ठेलागाडा र सामानहरू उठाएपछि घर फर्किन् ।

महानगरले फुटपाथबाट सामान उठाएर कहाँ लान्छ भन्नेमा उनलाई जानकारी छैन । भन्छिन्, ‘सामान उठाएर सरकारी निकायमा जम्मा हुन्छ भन्ने थाहा छ, तर फिर्ता हुन्छ या हुन्न भन्ने केही थाहा छैन ।’ त्यो दिनदेखि नगर प्रहरी आएको थाहा पाएपछि सामान उठाएर भाग्छिन्, र प्रहरी गएपछि बेच्न बस्छिन्, उनको दैनिकी नगर प्रहरीले सामान उठाएर लाने हो कि भन्ने डरमै बितिरहेको छ । 

 

 

प्रकाशित मिति: : 2021-02-05 19:05:00

प्रतिकृया दिनुहोस्