नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज धनबहादुर बिकलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
मोरङका उद्योगी–व्यवसायीसँग चन्दा मागेर हैरान लगाउँदै आएका बिकलाई बुढीगंगा–४ बाट पक्राउ गरिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार उनलाई चन्दा माग्ने क्रमम बुधबार नियन्त्रणमा लिइएको थियो ।
विशेष सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा हतियारसहित विभिन्न सामानहरुसमेत बरामद भएको थियो ।
उनलाई प्रहरीले मोरङ मिक्लाजुङ १ बर्खेमा हत्या गरिएको शिक्षक राजेन्द्र श्रेष्ठको कर्तव्य गरि मारेको कसूरमा समेत अनुसन्धान गर्ने भएको छ । मंसिर २३ गते शिक्षक श्रेष्ठको हत्या भएको थियो ।
प्रहरीले उनको साथबाट अटोमेटिक पेस्तोल, गोली र विभिन्न नम्बर भएको सिमकार्ड, मोवाइल र को २४ प ४००५ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।